धर्मेन्द्र चौरसिया, पोखरिया, २८ भदौ/
पर्सा जिल्लाका स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षमा विजयी केही महिलाहरूका पति र ससुराहरूले कार्यसम्पादन गर्दै आएका पाइएको छ ।
पोखरिया नगरपालिकाकी उपप्रमुख रूवि ठाकुर नाम मात्रको उपप्रमुख हुन् । उनको काम पति दीपक ठाकुर र ससुरा विन्ध्याञ्चल ठाकुरले गर्दै आएका छन् । उपप्रमुख न्यायिक समितिको संयोजक हुन्छन् । उनीहरूले तोकिएको मापदण्ड अनुसार मुद्दाहरू हेर्ने र निर्णय गर्ने अधिकार हुन्छ ।
न्यायिक समितिमा तीनजना कर्मचारी र एकजना कानून व्यवसायीको व्यवस्था गरिएको छ । उपप्रमुख ठाकुरले हेर्ने मुद्दाको भित्रीरूपमा फैसला पति दीपक अथवा ससुरा विन्ध्याञ्चल ठाकुरले गर्दै आएका छन् ।
नगरपालिकाका विभिन्न वडाहरूमा हुने न्यायिक समितिका बैठकहरूमा पनि पति र ससुरा उपस्थित हुने गरेका छन् । ससुरा विन्ध्याञ्चल ठाकुर एमाले पोखरियाका नगरअध्यक्ष पनि हुन् । उपप्रमुखले गर्ने बजेट निर्माणका कार्यहरूमा पनि उनकोभन्दा पति र ससुराको विशेष दखल हुने गरेको छ । कुनै पनि कागजपत्रमा पति वा ससुराले इशारा नगरेसम्म उनले हस्ताक्षर नै गर्दिनन् ।
बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुषमा कुशवाहाले पनि पति विक्की कुशवाहा र ससुरा प्रमोद कुशवाहाको इशारामा काम गर्दै आएकी छन् । न्यायिक समिति, ठेक्कापट्टालगायत कार्यालय प्रयोजनका सबै काम पति र ससुराको निगरानीमा हुने गरेको छ ।
यही पाराबाट छिपहरमाई गापाकी उपाध्यक्ष लीलावती देवीले काम गर्दै आएकी छन् । उनका पति किशोरीप्रसाद कानूको इशारामा उपाध्यक्ष लीलावतीले काम गर्छिन् । पतिले भने अनुसार न्यायिक समितिमा निर्णय गर्ने, कागजपत्रमा हस्ताक्षर गर्ने जस्ता उनको दैनिक कार्यमा पतिको प्रत्यक्ष संलग्नता रहने गरेको छ । गापा उपाध्यक्षको हैसियतले आउने विभिन्न सङ्घसंस्थाहरूका कार्यक्रममा पनि पतिको सहभागिता हुने गरेको छ ।
धोबिनी गापाकी उपाध्यक्ष मञ्जुदेवी पटेलको काम पनि अघोषितरूपमा उनका पति श्याम पटेलले हेर्दै आएका छन् । उपाध्यक्ष्F पटेलले गर्ने कामकारबाहीमा उनका पतिको प्रत्यक्ष संलग्नता हुने गरेको छ र पतिको सङ्केत नपाएसम्म उनले कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्दिनन् ।
कालिकामाई गापाकी उपाध्यक्ष राजपति देवीको पनि सबै कार्य उनका पति राधाकृष्ण चौरसियाले र पकाहामैनपुरकी उपाध्यक्ष सर्फुन नेशाको कामकारबाही उनका पति नसुल्लाह मियाँले हेर्दै आएका छन् भने जगरनाथपुर गापाकी उपाध्यक्ष बबिता सिंहका कामहरू पनि उनका पति सुरेन्द्र सिंहले हेर्दै आएका छन् । पतिको इशारा नपाएसम्म राजपति, सर्फुन नेशा र बबिता सिंहले कुनै पनि काम आफूखुशी गर्दैनन् ।
विन्ध्यवासिनी गापाकी उपाध्यक्ष ज्योति चौरसियाको कामकारबाहीमा उनका ससुरा लक्षमण चौरसियाको प्रत्यक्ष हस्तक्षेप रहँदै आएको छ । सभासमारोहमा ज्योति आफैं पुग्ने, भाषण ठोक्ने गरे पनि ठेक्कापट्टा, न्यायिक समितिका निर्णयहरूमा भने ससुराको दबाब सहनुपर्ने बाध्यता अहिले पनि कायमै छ ।
यसमध्ये केही गापा उपाध्यक्षका पतिहरूले पत्नीको मोबाइल पनि आफैंले उठाउने गरेका छन् । उपाध्यक्षलाई कल गरेर आफ्नो पीरमर्का सुनाउने, काम गराउनेहरूले पहिले पतिहरूलाई सविस्तार कुरा सुनाएपछि मात्र गापा उपाध्यक्षहरूले त्यो काम गर्ने कि नगर्ने भनेर निधो गर्छन् ।
वीरगंज महानगरमा उपप्रमुख पुरुष छन् बाँकी १३ वटा पालिकामा महिला उपाध्यक्ष छन् । महिलामध्ये पर्सागढी नपाकी उपप्रमुख पूजा चौधरी अनि पटेर्वासुगौली, जीराभवानी, सखुवाप्रसौनी, ठोरी गापाका उपाध्यक्षहरू क्रमशः ममता महतो, रेखा चौधरी र गोकुलीकुमारी रेग्मीले भने आफ्नो दायित्वका कामहरू आफैंले गर्दै आएका छन् । यसअघिका गापा उपाध्यक्षहरूको अवस्था पनि लगभग यस्तै थियो ।