त्रिपोली, २८ भदौ/एएफपी
लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार तीन सय पुगेको छ । १०औं हजार बेपत्ता भएका छन् भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरवारविहीन भएका आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले जनाएको छ । ९० हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शव मात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ ।
गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुईवटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिंदैन ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त लिबियाको अन्तरिम सरकारले पाँच हजार तीन सयजनाले ज्यान गुमाएको बताए पनि पूर्वी क्षेत्रको सरकारका अधिकारीले आठ हजारभन्दा बढीको मृत्यु भएको बताएका छन् । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार १९० जनाको अन्त्येष्टि गरिएको छ । भत्किएका सडक, ध्वस्त सञ्चार सञ्जाल, वर्षाैंको गृहयुद्ध र जलवायु परिवर्तनका प्रभावहरूले लिबियालाई विश्वको सबैभन्दा सकसपूर्ण मानवीय सङ्कट भएको देश बनाएको छ । लिबियाका लागि अन्तर्राष्ट्रिय उद्धार समितिका देशीय निर्देशक एली अबाउओनले डेर्ना पूरै जलमग्न भएको बताएका छन् । सरकारी अधिकारीहरूले डेर्नाको पश्चिम र बेनगाजीको पूर्वमा रहेको तटीय शहर टोक्राकोे बाँध पनि भत्किन सक्ने चेतावनी दिंदै तटीय क्षेत्र र आसपासका बासिन्दाहरूलाई तत्काल ती स्थानबाट सुरक्षित ठाउँमा सर्न आग्रह गरेका बताएका छन् ।
निर्देशक अबाउओनका अनुसार मानवीय सहयोग मन्द गतिमा प्राप्त हुन थालेको छ । मानवीय सहायतासँगै डेर्नालाई तत्काल जनशक्ति आवश्यक परेको छ । धेरै देशले पहिले नै फिल्ड अस्पताल र अन्य सहायता सामग्री पठाइसकेका छन् । खोज र उद्धारलाई अझ तीव्र गतिमा सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै अब जीवित मानिस फेला पार्न कठिन हुने उनी बताउँछन् । उनले अन्तर्राष्ट्रिय सहायता निकाय र विदेशी सरकारलाई गत साताको मोरक्को भूकम्पपछि सहायता परिचालन भएको गतिमा लिबियालाई सहयोग आवश्यक भएको उनले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले लिबियालाई सहयोग गर्ने घोषणा गरेका छन् भने विश्वका अन्य नेताहरूले पनि सहयोगको वाचा गरेका छन् । लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् । रासस