प्रस, वीरगंज, २७ भदौ/

बिर्ता, वीरगंज–४ स्थित बाल सुधारगृह बुधवार पनि आधा दिनसम्म तनावग्रस्त रह्यो । हिजो रातिदेखि शुरू भएको विवादमा सुधारगृहमा रहेका बालकैदीहरूले प्रहरीमाथि अन्धाधुन्ध ढुङ्गामुढा गरेर रातभरि तनाव दिएका थिए ।

उनीहरूले सुधारगृहसँगैको डा शैलेश ठाकुरको क्लिनिक पनि कब्जामा लिएर दुवैतर्फबाट प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । राति ११ः३० बजे सुधारगृहभित्र झडपमा घाइते भएका ११ जना बालकैदी र तीनजना प्रहरीलाई बाहिर निकालिएको थियो । उनीहरूलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ ।

रातभरि ढुङ्गामुढा गरेका सुधारगृहका बालकैदीहरूले बुधवार बिहान १० बजेदेखि पुनः ढुङ्गामुढा शुरू गरेका थिए । दिउँसो २ बजेसम्म प्रहरीविरुद्ध ढुङ्गामुढा गरी दिउँसो ३ बजे उनीहरू वार्तामा बसेका थिए । सुधारगृहअगाडिको सडकमा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह र नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीसँग बालकैदीहरूले वार्ता गरेका थिए ।

आजको वार्तापछि बाल सुधारगृह, भक्तपुरबाट आएका १८ जनामध्ये १४ जनालाई अन्यत्र सारिएको छ । तीमध्ये १० जना अस्पतालमा भर्ना रहेका र चारजनालाई अन्यत्र सारिएपछि अहिले अवस्था सामान्य बनेको छ । बालकैदीहरूले राखेका मागहरूमध्ये केही केन्द्रस्तरीय रहेकाले सो सम्बन्धमा आफूले पहल गर्न सक्ने र स्थानीय मागहरूलाई भने आफूले सम्बोधन गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । बालकैदीहरूले भक्तपुर बाल सुधारगृहबाट भदौ ८ गते वीरगंज ल्याइएका १८ जना कैदीलाई फर्काउनुपर्ने, नाइके परिवर्तन गर्नुपर्ने, शौचालयको व्यवस्था, जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद सजाय मिनहा पाएर रिहा भएका वीरगंज–२४ का गुड्डु यादवलाई कारबाई हुनुपर्ने माग गरेका थिए । उनीहरूले पूर्वनाइके यादवले बन्दी सुधारगृहमा रहेका बालकहरूलाई चरम यातना दिने गरेको र उनीहरूसँग यौन दुव्र्यवहार पनि गर्ने गरेको आरोप लगाएका थिए ।

हत्या आरोपमा सजाय भोगेका यादव जेठ १५ गते रिहा भएका थिए । रिहा हुनुअघि बाल सुधारगृहमा रौतहटका एकजना बालकैदीको मृत्यु भएको घटना सार्वजनिक गरिए पनि सो घटना मृत्यु नभएर हत्या भएको सुधारगृहका बालकैदीहरूले आरोप लगाए । उनीहरूले प्रहरीको मिलेमतोमा यादवले हत्या गरेको तर कालगतिले मृत्युको भएको भन्दै घटनाको ढाकछोप गरिएको बालकैदीहरूको आरोप छ ।

यसैगरी, बाल सुधारगृहमा क्षमताभन्दा बढी बालकहरू राखिएका भन्दै उनीहरूले क्षमता अनुसार बालकैदीहरू राख्न माग गरेका छन् । हाल सुधारगृहमा भदौ ८ गते आएका १८ जनासहित १४९ जना बालकैदीहरू छन् । यसअघि अनाथ बालबालिकाहरू रहने बाल सुधार केन्द्रमा केवल २७ जना बालबालिका मात्र राखिएको थियो । बाल सुधार केन्द्रबाट बाल सुधारगृहमा परिणत भएपछि अहिले क्षमताभन्दा बढी बालकैदीहरू राखिएका र उनीहरूलाई दैनिकरूपमा दिइने खाजा, खाना पनि कमसल रहेको बालकैदीहरूले आरोप लगाएका थिए ।

वार्ताको क्रममा उनीहरूले गुड्डु यादवलाई कारबाई गर्नुपर्ने र भदौ ८ गते भक्तपुरबाट आएका १८ जना बालकैदीलाई फिर्ता गर्नुपर्ने तथा यो कार्य नभएसम्म आन्दोलन स्थगित नहुने बताएका थिए । 

बालकैदीहरूले भदौ ८ गते भक्तपुरबाट १८ जना बालकैदी आएपछि बाल सुधारगृह, वीरगंजमा विवाद चर्किएको र यसबारेमा स्थानीय प्रहरी प्रशासनलाई अवगत गराइए पनि उनीहरूले गम्भीरतापूर्वक नलिएकाले मङ्गलवार रातिदेखि घटना उग्र भएको भन्दै यो घटनाको जवाफदेही प्रहरी प्रशासन हुनुपर्ने जिकिर गरेका थिए । समयमा समस्याको समाधान नहुँदा यसको नैतिक जिम्मेवारी उनीहरूले लिनुपर्ने बालकैदीहरूले बताए ।

बाल सुधारगृहमा हिजो रातिदेखि विवाद बढेर ढुङ्गामुढा, अश्रुग्याँस चलेका कारण स्थानीय बासिन्दाहरू रातभरि तनावमा रहे । अहिले सो ठाउँमा ठूलो सङ्ख्यामा परिचालित सुरक्षाकर्मीहरूलाई हटाइएको छ र अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here