• सञ्जय साह मित्र

आजको युगलाई विज्ञान र प्रविधिको युग भनिन्छ । विज्ञानले हरेक दिन नयाँ चमत्कारहरू गरिरहेको छ । चमत्कारले सर्वसाधारणलाई एकातिर सजिलो बनाएको छ भने अर्कोतिर अनेक रहस्यहरू साधारण ज्ञानमा परिणत भइसकेका छन् । कतिपय ज्ञान अझै पनि रहस्य नै रहेका छन् । ज्ञानको खोज निरन्तर भइरहेको छ । विज्ञानले दिनरात अनेक उपाय गरेर नवीन तथ्यको खोजी गरिरहेको छ । पुरातन तथ्यलाई नवीनताको आँखाले हेरिरहेको छ । जाँचिरहेको छ र विज्ञानले पुनः परीक्षण गरी कतिपय सत्यलाई दोहोर्याएको छ । कतिपय सत्यलाई नयाँ रंग, रूप र उचाइ पनि दिएको छ । सत्यमा नवीनता र नवीनतामा सत्यता स्थापित गर्दै विज्ञानले असम्भवलाई सम्भव गरिरहेको छ, अकल्पनीयलाई स्वाभाविक गरिरहेको छ र सर्वसाधारणका लागि कतिपय अज्ञात तथ्यसित साक्षात्कार गरिरहेको छ ।

कस्ता कस्ता असम्भवलाई सम्भव तुल्याइरहेको विज्ञान र प्रविधिले इतिहासको तथ्यलाई पनि सत्यताको कसीमा जाँचिरहेको छ । इतिहासको कुनै घटनालाई पनि विभिन्न मापनमा नापेर हो, होइन तथा हो भने कतिसम्म हो तथा कतिसम्म कल्पना मिसाइएको छ भन्नेतिर विज्ञानको ध्यान गइरहेको छ । यदि कुनै तथ्य रहेछ भने त्यो तथ्य वा साक्ष्य कहिलेको हो भन्ने कुरालाई प्रमाणित गरिरहेको छ विभिन्न आधारहरूमा । विज्ञानले तथ्यलाई सत्य मानिहाल्दैन, आफ्नै कसीमा नापेर कतिको सत्य तथ्य हो भन्ने आधार पनि दिन्छ । इतिहासको क्षेत्रमा प्रयोग र प्रचलनमा रहने विभिन्न पुरातत्व तथा पुरातात्वि सम्पदाको ऐतिहासिकताको पनि परीक्षण गरेर वास्तविकता सार्वजनिक गर्न सफल भइसकेको छ ।

अहिले चन्द्रमामा नजीकको छिमेकी पुग्दा विश्व विज्ञानमा एउटा नयाँ आशा पलाएको छ । चन्द्रमाबारे नयाँ ज्ञान तथा तथ्यहरू पृथ्वीवासीले पाउने विश्वास भएको छ । अहिलेसम्म चन्द्रमाको जुन भागमा अमेरिका, रूस र चीनजस्ता देशहरू पुग्ने प्रयास नै गरिरहेका थिए, त्यहाँ भारत पुग्न सफल हुनु आफैंमा उपलब्धि मानिएको अन्तरिक्षको परिवेशमा चन्द्रमाको दुर्लभ क्षेत्रमा पुग्नु विशिष्ट उपलब्धि मानिएको छ । अनि जुन जुन उद्देश्य लिएर भारतले चन्द्रयान पठाएको थियो, ती उद्देश्य पूरा हुँदा झन् विज्ञान, अनुसन्धान तथा खोजको क्षेत्रमा सुनमाथि सुगन्ध साबित हुने विश्वास रहेको छ । कोरोनाको सफल खोप निकाल्न सकेर विज्ञानले स्वास्थ्य विज्ञानको क्षेत्रमा गरेको चमत्कारको जति प्रशंसा गरे पनि कम हुन्छ । वास्तवमा वैज्ञानिकहरूले दुनियाँलाई अझ सुन्दर बनाउन गरिरहेको प्रयासले नै संसारलाई अगाडि बढाइरहेको छ भन्दा फरक पर्दैन ।

आजभोलि अर्को खोजको विषयमा चर्चा चल्न थालेको छ । अब जिनको पनि मार्गको क्षेत्रमा अनुसन्धान भइरहेको छ रे । जिनको मार्ग कस्तो छ भन्ने विषयमा नयाँ अनुसन्धान भइरहेको चर्चा चल्न थालेको छ । यदि यस अनुसन्धानमा सफलता प्राप्त भयो भने मानिसको जिनबारे धेरै तथ्य सार्वजनिक हुने देखिएको छ । मानिस कहाँबाट, कसरी आएको हो ? कुन जाति कहाँको मूल बासिन्दा हो, कुन जातिमा कुन जातिको रक्तको मिश्रण भएको छ भन्ने धेरै कुराहरू विभिन्न आधारमा आइरहेका छन् तर यिनीहरूबारे ऐतिहासिक तथ्यबाहेक अन्य कुनै आधार फेला पर्न सकेको छैन । वैज्ञानिक प्रमाण आउन बाँकी छ अझै । र, अब यही भनिन थालिएको छ कि अब जिनमार्गको विषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानको नतीजा यदि छिट्टै आयो भने छिट्टै नै जिनमार्गबारे दुनियाँलाई थाहा हुनेछ । अहिले भइरहेका विभिन्न अडकलबाजी वा भन्ने गरिएका सत्यहरूबारे धेरै नयाँ कुरा प्रकाशमा आउने विश्वास गरिएको छ । वास्तवमा यो आवश्यक छ वा छैन भन्ने विषयमा पनि बहस चलिरहेको छ र यही बहसको बीचमा यो अनुसन्धान पनि अगाडि बढिरहेको बताइएको छ ।

पुरानो आर्यावर्त वा अहिले दक्षिण एशिया भनिएको मूल क्षेत्रमा बसोवास गरिरहेका जातिहरूको उत्पत्तिस्थल के हो भन्नेबारे विवादहरू रहेका छन् । यस विषयमा दुई किसिमका विचार वा तर्कहरू मूलरूपमा प्रचलनमा रहेका छन् । एक मत यो रहेको छ कि हडप्पा र मोहनजोदारो हुँदै एउटा समूह यस क्षेत्रमा बसोवास गर्न आएको हो । यो समूहले नै यस क्षेत्रमा मानव बसोवास बसाएको हो । अर्को तर्क वा विचार यो रहेको छ कि त्यताबाट मानवको समूह आउनुभन्दा पहिले यस क्षेत्रमा नै आदिवासी बसोवास गरिरहेका थिए । आर्यहरू बाहिरबाट आएका हुन् भने अनार्यहरू यही धरतीमा पहिलेदेखि नै बसोवास गरिरहेका थिए । कोही हिमालयतिरबाट आएका छन् भने कोही समुद्रतिरबाट । कोही पुराना बासिन्दा र नयाँ आएका बासिन्दाबीच संयोगले बनेको नयाँ जाति हो । कतिपय नयाँ जातिले पुरानो जातिलाई आफ्नो पुरानो थातथलोबाट धपाएको इतिहास पाइन्छ वा कतिपयले आफू नै पुरानो बासिन्दा रहेको पनि बताउने गरेका छन् । वास्तविकता त यसलाई पनि मानिएको छ कि तथ्य एउटा हुने तर लेख्नेले वा बलशालीले तथ्यलाई आफू अनुकूल विश्लेषण गर्ने अथवा तथ्य एउटा हुँदाहुँदै बलको भरमा विश्लेषण गरेर अरूलाई त्यही मान्न बाध्य पारेको पनि हुन सक्छ । यो असम्भव पनि छैन कि जमानामा लेख्नेले जे लेखिदिए, पछिका विद्वान्हरूले त्यसैको विश्लेषण गर्न थाले, त्यसैलाई सत्य मान्न थाले । यो कुरो त सोह्रै आना सत्य छ कि आफू अनुकूल लेख्ने वा लेखाउने काम भने धेरै पहिलेदेखि चल्दै आएको छ । सुकरातको जमानामा पनि सत्यलाई स्वीकार गर्ने साहस धेरैमा हुँदैनथ्यो । वर्तमानमा पनि यसलाई पूर्ण असत्य मान्न सकिंदैन कि सोह्रै आना सत्य विश्लेषण गर्नेहरू छन् । फेरि विश्लेषणको आधार सापेक्ष हुने गर्दछ । विश्लेषण पनि निरपेक्ष हुन सक्दैन । यसरी पहिलेका विश्लेषणहरूलाई अहिले पुनः विश्लेषण गर्दा पनि एकरूपता पाइएको छैन ।

हाम्रो समाजमा धार्मिक आस्था तथा धार्मिक ग्रन्थहरूले पनि मानवको उत्पत्ति तथा तिनको फैलावटबारे आफ्नै किसिमले विचारहरू दिइएका छन् । विभिन्न धर्ममा मानवको उत्पत्ति र विस्तारका विषयमा आएका विचारहरूमा एकरूपता नभएको अवस्था छ । आज पनि धार्मिक ग्रन्थका यस्ता कुरामाथि धेरै मानिसको श्रद्धा, सम्मान र विश्वास रहेको छ । धार्मिक ग्रन्थको विचारमाथि कसैले प्रहार गर्नुहुँदैन । धार्मिक आस्था र श्रद्धामा चोट पुर्याउने काम गर्नुहुँदैन भन्ने कुरामा लगभग आम सहमति रहेको छ । धर्म तथा धार्मिक ग्रन्थहरूमा विविधता भएझैं र विभिन्न उपत्यका, समुद्रको दूरी आदि हेरेर सबै मानिस एकै किसिमको नरहेको वर्तमानले मानिसको उत्पत्तिको कथा पनि फरक हुन सक्ने अनुमानहरू रहेका छन् । यी अनुमान वा तर्कहरू कति अविश्वसनीय वा कति सत्य छन् भन्ने कुराहरू पनि केवल तर्कमा रहेका छन् ।

अब जिनमार्गबारे अनुसन्धानको कुरो आइरहेको र आगामी एक डेढ दशकमा यस अनुसन्धानले पूर्णता पाउने विश्वास गरिएको वर्तमानले यदि प्रामाणिक सत्य रूप ग्रहण गर्दछ भने निश्चय नै अनेक किसिमका मिथकहरूमाथि विराम लाग्ने छ । अहिले जसरी कसैको जिन परीक्षण हुन्छ, डिएनए परीक्षण हुन्छ । जिन तथा डिएनए परीक्षणलाई यही जिनमार्ग अनुसन्धानको फराकिलो राजमार्गको रूपमा रहेको मानिंदैछ । डिएनए तथा जिनको परीक्षणप्रति प्रायः सबैले विश्वास गरेका छन् । विज्ञानको यस देनले धेरै समस्यालाई समाधान गरेको छ । अझै पनि केही जटिलताहरू रहेका छन् र सामाजिक समस्याहरू रहेका छन् । यस अनुसन्धानले यस्ता केही जटिलता तथा सामाजिक समस्या समाधान गर्ने कुरामा विश्वास लिइएको छ । जिनमार्गबारे धेरैको जिज्ञासा कालान्तरमा समाधान हुँदै जाला भन्ने विश्वास पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here