प्रस, वीरगंज, २६ भदौ/
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगंजले सेवा विस्तार गरेपछि बिरामीको चाप बढेको छ । उपचार पद्धतिमा सबैभन्दा पुरानो आयुर्वेदको छुट्टै इतिहास छ ।
वीरगंजस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अहिले जनशक्ति कम भएपनि कर्मचारीको इच्छाशक्तिले सेवा विस्तार गरी सेवा दिन थालेपछि बिरामीको चाप बढ्न थालेको छ ।
यसभन्दा अघि सो चिकित्सालयमा बिरामीहरू निकै कम आउने गर्थे र कर्मचारीहरू दिनभरि घुमेर दिन बिताउने गर्थे तर अहिले त्यहाँ बिरामीको चाप बढेपछि कर्मचारीहरूलाई भ्याइनभ्याइ भएको छ ।
प्रदेश सरकार मातहत रहेको आयुर्वेद चिकित्सालयमा अहिले पक्ष्Fघातका थुप्रै बिरामीको उपचार गरी निको भएर घर फर्काइएको अस्पतालका एकजना कर्मचारीले बताए ।
अग्निकर्मद्वारा बवासिर, भगन्दर मलद्वारको उपचार शुरू भएको र विनाझन्झट सस्तो उपचार गरेर निको भएपछि बिरामीहरूको सङ्ख्या बढेको कार्यालय प्रमुख डा शिवनारायणप्रसाद गुप्ताले जानकारी दिए ।
सो चिकित्सालयमा एउटा आधुनिक ल्याब सञ्चालनमा रहेको तथा बजारभन्दा १० गुना कम दररेटमा सेवा दिइरहेको डा गुप्ताले बताए । मधेस प्रदेश सरकारले दररेट तोकेपछि सबै पालिकामा पनि ल्याब सञ्चालनमा रहेको डा गुप्ताले बताए ।
आयुर्वेद चिकित्सालयमा अग्निकर्म, सिराबोध, जलौकावचरण, विधिकर्म, सूची विधि, कपीग, पञ्चकर्म अन्तर्गतका पूर्वकर्म, क्षारसूत्र, क्षारकर्म पद्धतिबाट उपचार भइरहेको डा गुप्ताले बताए ।
विभिन्न ठाउँबाट उपचार गराएर निको नभएका बिरामीहरूको यहाँ विभिन्न उपचार पद्धतिबाट उपचार गरी निको हुने गरेको डा गुप्ताले दाबी गरे । अहिले दैनिक ५०–६० जना ओपिडीमा आउने गरेका, ३/४ वटा शल्यक्रिया हुने तथा पक्षघातका १० देखि १५ जनाको थेरापी तथा दुखाइका रोगीहरू आउने गरेका डा गुप्ताको भनाइ छ ।