प्रस, परवानीपुर, २६ भदौ/
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले राज्यले महिलालाई ३३ प्रतिशत अधिकार दिनुको सट्टा ५१ प्रतिशत अधिकार दिनुपर्ने बताएकी छन् ।
रास्वपा जीतपुरसिमरा उपमहानगरपालिका नगरसमितिले सिमरामा सोमवार राति आयोजना गरेको तीज मिलन समारोहमा उनले २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपालाई नेपाली जनताले पत्याएकोले अहिले पार्टी संसद्मा रहेको बताइन् । आगामी २०८४ को चुनावमा रास्वपालाई जनताले पहिलो नम्बरको पार्टी बनाएपछि महिलाको लागि ५१ प्रतिशत हकअधिकार विभिन्न संवैधानिक निकायमा दिलाउने उनले बताइन् ।
रास्वपाकी अर्की सांसद निशा डाँगीले मधेस प्रदेशमा छोरीबेटीलाई घरभित्र राख्ने परम्परालाई अबको शिक्षित महिलाले प्रतिवाद गर्दै राजनीतिमा मधेसी महिलाहरूको सहभागिता बढ्नुपर्नेमा जोड दिइन् । मधेसको विकास र समुन्नतिमा पनि मधेसी दिदीबहिनीहरू राजनीतिमा आएर नेतृत्व गर्नुपर्ने सुझाव दिइन् ।
सोही पार्टीकी अर्की सांसद विन्ध्यवासिनी कंसाकारले बारा–२ को उपनिर्वाचनमा आफू बारा आएको र सो बेला राजनीतिक कार्यक्रममा महिलाहरूको सहभागिता न्यून देखिएकाले महिलाहरूको हकअधिकारको लागि रास्वपामा आउन उनले अपील गरिन् ।
रास्वपा जीतपुरसिमरा नगर कार्यसमितिका सभापति सुरेशराज केसीको सभापतित्व र नेता अमृत बस्यालको सहजीकरणमा भएको कार्यक्रममा रास्वपा मधेस प्रदेशकी उपसभापति राधिका न्यौपाने कलवार, ममता शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पर्सा, बाराका रास्वपाका नेता, कार्यकर्ताहरूको सहभागिता थियो ।