• डा शिवशङ्कर यादव

गत भदौ १ गते मैले लक्ष्मनवा पार्कमा ज्येष्ठ नागरिकमा शारीरिक र मानसिक अवस्थाबारे एउटा अन्तक्र्रिया गरेको थिएँ । विषय यति विशाल थियो कि त्यसमा सम्पूर्ण जेरेन्टोलोजी नै समाहित हुन्छ । त्यस अन्तक्र्रियाप्रति म आफैं सन्तुष्ट हुन सकिनँ । एकजना ज्येष्ठ साथी बजारमा भेटिए । उनले मलाई चिनेपछि भने– डाक्टर साहब १ हामीलाई लिखित दिनुस् कि बुढ्यौली लागेपछि के गर्नुपर्छ र के गर्नुहुँदैन ? बोलेको कुरा त सबै बिर्सिइन्छ । मैले भनें त्यसका लागि त प्रतीकका सम्पादकसँग भनेर पम्पलेट छाप्न लगाए राम्रो हुनेछ । मैले सोचें प्रतीकमा नै किन नछाप्ने कि जसजस ज्येष्ठ नागरिकको हातमा प्रतीक पुग्छ, उनले लाभ उठाउन सकून् !

वृद्धावस्थाको शारीरिक र मानसिक स्थितिलाई वर्णन गर्न एउटा सत्रमा सम्भव नै छैन, किनभने वृद्धावस्था सबै प्रकारका रोगहरूको घर हो र यस कारण त्यसमा सम्पूर्ण रोगको टुप्पोदेखि फेदसम्मको कुरा आउँछ । सार सङ्क्षेप प्रस्तुत छ–

केश ः शरीरको सबैभन्दा टुप्पोमा पाउने अङ्ग हो, शिरको केश । केश हत्केला र पैतालाबाहेक सबै ठाउँको छालामा पाइन्छ । केश बुढेसकालमा सेतो हुँदै जान्छ र अन्तमा पूरै सेतो हुन्छ । पिट्युटरी ग्रन्थिले मेलानिन नामक पिग्मेन्ट निकाल्छ, जस कारण जवानीमा केश कालो हुन्छ । पिट्युटरी ग्रन्थि बुढेसकालमा पिग्मेन्ट निकाल्न असमर्थ हुन्छ, जस कारण कपाल सेतो हुन्छ । यसले नोक्सान केही हुँदैन । यो चिन्ताको कारण बन्दैन ।

छाला ः कपालपछि छालाको पालो आउँछ । छाला शरीरको सबैभन्दा भारी अङ्ग हो, जसमा असङ्ख्य रोम र रोमकुप हुन्छन्, जसबाट छालाको भित्री परतमा अवस्थित असङ्ख्य स्वेदग्रन्थिबाट पसिना र छालाको प्रतिइन्चमा ६००० को सङ्ख्यामा भएका सिवेसियस ग्रन्थिबाट तैलीय पदार्थ निस्किरहन्छ, जुन छालाको स्वास्थ्यको लागि आवश्यक हुन्छ । स्वेदग्रन्थिमा एउटा मात्र प्रकार करीब चार मिलियनको सङ्ख्यामा हुन्छ, जसले पसिना निकालेर शरीरको तापक्रमलाई नियमन गर्छ तथा तैलीय पदार्थले छालाको चमक कायम राख्छ । छालाले नै कवच बनेर सङ्क्रमणलाई शरीरभित्र जान दिंदैन, नत्र मानिस एक छिन पनि बFँच्न सक्दैन । छालामा अर्बौं ब्याक्टेरिया र भाइरस टाँसिएका हुन्छन्, जुन नुहाएपछि सफा हुन्छ । तर एक प्रकारको लाभदायक ब्याक्टेरिया पनि छालामा यसरी टाँसिएको हुन्छ, जुन साबुन लगाएर नुहाउँदा पनि जाँदैन । त्यसको काम छालासँगै हाम्रो शरीरलाई पनि सुरक्षित राख्ने हो । बुढेसकालमा छालाको मांसपेशी र हाडसँगको पकड खुकुलो हुन्छ । यसरी खुकुलो भएको छाला खुम्चिन्छ, जसलाई चाउरी परेको भनिन्छ । कहीं पनि छाला खुकुलो भएपछि खुम्चिने उसको प्रकृति नै हुन्छ । यसको पनि सेतो कपालजस्तै कुनै खराबी छैन । मात्र के भने यसले मानिसको रङ्ग, रूप र आकार बदलिन्छ । यो पनि बुढ्यौलीको सूचक हो र यसले पनि कुनै हानि हुँदैन, व्यक्तित्वको चमक हराउने मात्र काम गर्छ ।

हाड ः शरीरमा छाला पछि नम्बर आउँछ हाडको । मांसपेशीमुनि हाड हुन्छ । हाडले नै शरीरको फ्रेमवर्क बनाउँछ । शरीरमा लामो, सानो र चेप्टो गरी २०६ वटा हाड हुन्छन् । हाड कडा क्याल्शियम र ओस्टियोसाइटको घनिष्ठरूपमा बनेको हुन्छ । बुढ्यौलीमा हाडको यो सघनता कम हुँदै जान्छ, जसलाई ओस्टियोपोरोसिस भनिन्छ, जस कारण हाड चाँडै भाँचिन्छ । त्यस कारण भनिन्छ कि बुढ्यौलीमा हाड बचाउनुस् किनभने बुढ्यौलीमा हाड जोडिने प्रक्रिया मन्द हुन्छ र चिताको साथै जान्छ । यसरी भाँचिनेमा नाडीको हाड र तिघ्राको हाड बढी हुन्छ । दुई वा दुईभन्दा बढी हाड मिलेको ठाउँलाई जोर्नी भनिन्छ । यसमा घुँडा र ढाडको हाड सबैभन्दा महŒवपूर्ण हुन्छ किनभने शरीरका सारा भार यिनैले वहन गर्छन् । यी एक क्याप्सुुलले ढाकिएका हुन्छन् र दुई हाडबीच घर्षण नहोस् भनेर त्यसमा द्रव भरिएको हुन्छ । बुढ्यौलीमा यो क्याप्सुल पनि पातलो हुन्छ र द्रव पनि कम हुँदै जान्छ । नतीजा दुई हाडबीच घर्षण हुँदा घुँडा दुख्ने रोग हुन्छ र बुढ्यौलीमा यसबाट कोही जोगिन सक्दैन । क्याप्सुलमा खिया लागेपछि कमर पनि दुख्छ । कमरको हाडमा ओस्टियोपोरोसिस हुँदा बुढेसकालमा कुप्रिएर हिंड्ने बाध्यता आइपर्छ, जसलाई काइफोसी र स्कोलियोसी भनिन्छ । यसको उपचार योग र फिजियोथेरापी हो ।

मस्तिष्क ः  टाउकोको हाडभित्र गिदी हुन्छ, जसलाई मस्तिष्क भनिन्छ । मस्तिष्कमा अलगअलग काम गर्नका लागि अलगअलग भाग हुन्छन् । मस्तिष्क वास्तवमा ट्रिलियन (दश खर्ब)भन्दा बढी स्नायुको जाल हो, जसको सेल मोबाइलको प्वाइन्टजस्तो हुन्छ । केटाकेटीमा यी सेल विकसित हुने प्रक्रियामा हुन्छ । जसरी एउटा कोपिला फुल्ने प्रक्रियामा हुन्छ । त्यसको क्रियाशीलता मनमोहक र उत्साहजनक हुन्छ । तर बुढ्यौली एक ओइलाउने फूलजस्तै हुन्छ, जसमा स्नायु सेल बन्ने प्रक्रियामा होइन, अपितु नष्ट हुने प्रक्रियामा हुन्छ । त्यसैले तिनका क्रियाकलाप निरुत्साहित गर्ने खालका हुन्छन् । त्यसैले बूढो भएपछि मान्छे बच्चाजस्तो हुन्छ भन्ने भनाइ सही होइन । कुनै बच्चामा हालिसिनेशन हुँदैन, न इल्युजन नै । तर बुढ्यौलीमा मान्छे नभएको दृश्य देख्छ र नभएको आवाज सुन्छ । जसलाई हालिसिनेशन भनिन्छ । यस अतिरिक्त चीज केही अर्कै हुन्छ तर बुढ्यौलीमा मान्छे त्यसलाई अर्कै चीज देख्छ । हामीले डोरीलाई डोरी नै हेर्छौं तर स्नायु डिजेनेरेशन भएको मान्छेले साँप देख्छ । साँपको भ्रम हामीलाई पनि हुन्छ तर हाम्रो मस्तिष्कले तुरुन्त सच्याउँछ । स्नायु डिजेनेरेशन भएकोले सच्याउन असमर्थ हुन्छ । स्नायु डिजेनेरेशनलाई डिमेन्सिया भनिन्छ, जसमा ७० प्रतिशत केस अल्जाइमरको हुन्छ । प्रसिद्ध नेपाली लेखिका वानीरा गिरीसम्म यस बिमारीबाट पीडित थिइन् । यो असाध्य दुःखदायी र मर्मान्तक हुन्छ । मान्छेलाई पीडा हुन्छ तर भन्न सक्दैन । खानु, पिउनु, आफन्त सबै बिर्सन्छ । दिसापिसाब ओछ्यानमा भएको थाहा हुँदैन । यस्ता मानिस जिउँदै मरेतुल्य हुन्छ । भजन, कीर्तन र योग ध्यान मात्र यसको उपचार हो । पश्चिमाहरूमा यो बढी पाइन्छ तर आजभोलि यो हाम्रो देशमा पनि बढ्दै छ, जसको कारण समाज भौतिकवादी हुँदै जानु हो ।

आँखा ः ‘पाके केश जन्म के साथी ज्योति गयी नैनन ते, ममता तु न गयी मेरे मन ते ।’ तुलसी दासको यो मर्मान्तक भजनले बुढेसकालको पीडा व्यक्त गरेको छ । जन्मका साथ आएको केश पाक्यो, आँखाको ज्योति गयो तर ममता अर्थात् आँखाको आँसु ज्यूँका त्यूँ छ । आँसु आँखाबाट निरन्तर निस्किरहने द्रव हो, रुँदापछि मात्र देखिन्छ । एकजना व्यक्तिले दिनहुँ १० औंस र एक वर्षमा ३० गैलन आँसु निकाल्छ, जुन आँखाको स्वास्थ्यको लागि नभई नहुने कुरा हो । आँखाले नै जगत देख्छ । बुढ्यौलीमा आँखाको शक्ति कमजोर त हुन्छ नै, जुन चश्मा लगाएपछि ठीक हुन्छ । आँखाको नानीमा एउटा लेन्स हुन्छ । बुढ्यौलीमा यो लेन्स पनि सेतो हुन्छ र काम गर्न छोड्छ । यसलाई काटारेक्ट अथवा मोतीबिन्दु भनिन्छ । यो बुढ्यौलीमा हुन्छ, हुन्छ । फरक केवल यो छ कि कसैमा छिटो र कसैमा ढिलो हुन्छ । यसलाई फालिदिइन्छ र त्यस ठाउँमा कृत्रिम लेन्स लगाइन्छ । यसको अलावा ग्लुकोमा अथवा फुली भनेको एउटा रोग हो, जुन बुढ्यौलीमा धेरै पाइन्छ । यसमा पनि ताछेर निकालिने शल्यक्रिया हुन्छ ।

नाक ः नाकद्वारा सुँघ्ने र सास लिने काम हुन्छ । सास त मरेपछि मात्र बन्द हुन्छ र यसमा कमै बिमारी देखिन्छ तर डिमेन्सियामा विकृत गन्ध पनि आउन सक्छ । घ्राणशक्तिले बितेको घटनाको सम्झना दिलाउँछ किनभने गन्धको केन्द्रबाट स्नायु, सम्झनाको केन्द्रसम्म जान्छ ।

मुख ः मुखमा दाँत र जिभ्रो हुन्छ । दाँतले हामी चपाउँछौं र बोल्न मदत लिन्छौं । दाँतको दुई सेट हुन्छ । दूधको दाँत र स्थायी दाँत । छ महीनादेखि छ वर्षसम्म सबैको दूधको दाँत आउँछ र १२ वर्षसम्म झरेर स्थायी दाँत आउन शुरू हुन्छ । दाँतको सङ्ख्या तलमाथि १६/१६ मिलाएर ३२ हुन्छ । बुढेसकालमा स्थायी दाँत पनि झर्छ र फेरि आउँदैन । वैज्ञानिकहरू तेस्रोपटक पनि दाँत ल्याउने प्रयासमा छन् । जिभ्रो बोल्ने र स्वाद लिने मुख्य अङ्ग हो । भनिन्छ कि आँखा शरीरको ऐना हो भने जिभ्रो मिटर हो । कुनै पनि बिमारी आँखामा देखिन्छ र जिभ्रोले नापिन्छ । जसले पानपराग खान्छ, बुढ्यौलीमा उसलाई जिभ्रोको क्यान्सर हुन सक्छ, जसरी सुशील कोइरालालाई भएको थियो । दाँत र जिभ्रोको सफाइ दिनहुँ गर्नैपर्छ, अन्यथा यसमा मात्र होइन । शरीरभरि कतिपय बिमारी उत्पन्न हुन सक्छन् ।

घाँटी ः घाँटीमा स्वरयन्त्र हुन्छ, जसले आवाज निकाल्छ । प्रकृतिको अद्भुत बनावटमध्ये स्वरयन्त्र पनि एक हो, किनभने दुनियाँमा कसैको पनि आवाज अर्कोसँग मिल्दैन । यो आवाज बुढ्यौलीमा बदलिन्छ, जसलाई सबैले महसूस गर्न सक्छन् । बूढोको आवाज जवानजस्तो प्रखर हुँदैन । रुद्रघण्टी वास्तवमा थायरायड ग्रन्थि हो, जसले थायरोक्सिन र ट्रायोआयडोथायरोनिन नामक हार्मोन पैदा गर्छ । यी हार्मोनले मेटाबोलिजम गरेर शक्ति प्रदान गर्छ । जब यो बढी हुन्छ, मान्छे दुब्लाउँदै जान्छ र जब कम हुन्छ, आवश्यकताभन्दा बढी मोटो हुँदै जान्छ, जसले यौनमा कमी र बाँझपन पनि हुन्छ । तर यो बुढ्यौलीमा मात्र हुने रोग होइन ।

पाठकवृन्द, बुढ्यौलीमा एउटा कुराबाट सचेत हुनुपर्छ, त्यो हो क्यान्सर । बुढ्यौलीमा कोषको वृद्धि क्यान्सर प्रवृत्तितिर हुन्छ । कुनै पनि कोषमा लगातार इरिटेशनले क्यान्सर पैदा गर्छ, जुन शरीरको कुनै पनि अङ्गमा हुन सक्छ । पानपरागले जिभ्रो र अमाशयमा इरिटेशन हुन्छ र जिभ्रो तथा अमाशयको क्यान्सर हुन्छ । खैनीले ओठको इरिटेशन हुन्छ र ओठको क्यान्सर हुन्छ । चुरोटले फोक्सोको इरिटेशन हुन्छ र फोक्सोको क्यान्सर हुन्छ । त्यस्तै, इरिटेशनका विभिन्न माध्यम हुन्छन् र कहीं पनि यसले समात्न सक्छ । महिलामा पाठेघर र स्तनको क्यान्सर मुख्य हो । त्यसैले ओठ, जिभ्रो वा कहीं पनि घाउ भयो भने बुढ्यौलीमा विशेष सजग भएर तुरुन्त जाँच गराउनुपर्छ । सुन्तलामा बोक्रा हुन्छ, जसभित्र सुन्तलाको वृद्धि हुन्छ । स्वस्थ कोषिकाको वृद्धि यसै किसिमले हुन्छ । फूलकाउलीमा बोक्रा हुँदैन । अस्वस्थ अथवा क्यान्सर कोषिकाको वृद्धि यस्तै हुन्छ । जसरी फूलकाउलीलाई पानीमा धोयो भने सानासाना टुक्रा पानीमा टुटेर तैरिन्छ । त्यस्तै, क्यान्सर कोषका सानासाना टुक्रा रगतमा तैरिएर शरीरका सबै अङ्गमा पुग्छन्, जसलाई मेटास्टेसिस भनिन्छ र यसरी पुगेको ठाउँमा पनि क्यान्सर हुन्छ, जसलाई सेकेन्डरी क्यान्सर भनिन्छ । क्यान्सर सरुवा रोग त होइन तर पनि क्यान्सरको शल्यक्रिया गरेपछि सर्जनले अवश्य नुहाउने गर्छ । यस्तो भय पैदा गर्न सक्ने रोग हो क्यान्सर । क्यान्सरको कुनै उपचार छैन । चुरोट आदिका अम्मलीले चुरोट छोडे पनि क्यान्सर मान्दैन । १० वर्षसम्म जीवन लम्ब्याउन सकियो भने त्यही हो क्यान्सरको उपचार । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here