- विश्वराज अधिकारी
खानाको संरक्षण र चीसो व्यवस्था
अमेरिकालाई संरक्षण गर्ने देश (Refrigeration Nation) पनि भन्ने गरिन्छ । खानेकुरा चीसो पार्न र ताजा राख्न अमेरिकामा चीसो व्यवस्थापन अत्यधिक प्रयोग हुन्छ । खानालाई चीसो राखेर लामो समय त्यसको संरक्षण गरिन्छ । यस्तो गरेर कुनै एक समयमा उत्पादन भएको वस्तु, खाद्य सामग्री, फलफूल, तरकारी आदि लामो समयसम्म खाने गरिन्छ । खानालाई चीसो राखेर, लामो अवधिसम्म त्यसको मौलिक गुण संरक्षण गरेर, इच्छा गरेको वा खोजिएको बेला खान सकिने पार्न अमेरिकामा घरघरमा ठूलो सङ्ख्यामा रेफ्रिजरेटर (च्भाचष्नभचबतयच) प्रयोग हुन्छ । पसलहरूमा प्रयोग हुन्छ । साथै सरकारी एवं गैरसरकारी कार्यालयहरूमा पनि प्रयोग हुन्छ ।
सन् १९१३ मा अमेरिकामा फ्रेड डब्ल्यू ओल्फले पहिलोपटक बिजुलीबाट सञ्चालित घरमा राख्ने रेफ्रिजरेटरको आविष्कार गरेका थिए । तर सन् १९१८ मा विलियम सी डुरान्टले घरमा प्रयोग हुने रेफ्रिजरेटर बजारमा ल्याएपछि अमेरिकामा रेफ्रिजरेटरको बृहत् परिमाणमा उत्पादन आरम्भ भएको थियो । घरघरमा राखिन थालिएको थियो ।
अमेरिकामा हरेक आवासीय घरमा वा भनौं प्रत्येक परिवारले आफ्नो भान्सा कोठामा रेफ्रिजरेटर अनिवार्य राखेका हुन्छन् । अमेरिकी जीवन अनुसार रेफ्रिजरेटर भान्सा कोठाको एउटा अंश हो, चुल्हो वा खाना पकाउने भाँडाहरू भएझैं । यो कारणले गर्दा प्रत्येक वर्ष अमेरिकी शहर वा बस्तीहरूमा ठूलो परिमाणमा रेफ्रिजरेटर खरीद–बिक्री हुन्छ । अमेरिकामा प्रत्येक वर्ष लगभग ८० लाख रेफ्रिजरेटर बिक्री हुन्छन् । अमेरिकामा अन्दाजी १२ करोड थान रेफ्रिजरेटर प्रयोगमा रहेको पाइन्छ । संसारभरि प्रत्येक वर्ष लगभग २२ करोड थान रेफ्रिजरेटर बिक्री हुन्छ ।
अमेरिकामा रेफ्रिजरेटर विलासी वस्तु अन्तर्गत पर्दैन । यो अत्यावश्यक वस्तु अन्तर्गत पर्छ । खाना संरक्षण गर्न र त्यसलाई चीसो पार्न प्रत्येक परिवारले अनिवार्यरूपमा रेफ्रिजरेटर राखेका हुन्छन् । तरकारी, फलफूल, खाद्य सामग्री, काँचो वा पाकेको खानेकुरा, माछा, मासु, औषधि आदि राख्न रेफ्रिजरेटरको प्रयोग अत्यधिक हुन्छ ।
अति चीसो अवस्थामा राख्न वा फ्रोजेन गर्न (Refrigerator) पनि अमेरिकामा रेफ्रिजरेटरको अति प्रयोग हुन्छ । विशेषगरी पाकेका खानेकुराहरू जस्तै मासु, पिज्जा, पास्ता, सुप आदि फ्रोजेन गरेर राख्न रेफ्रिजरेटर निकै प्रयोग हुन्छ । रामतोरिया, सिमी, काउली, ब्रोकाउली, भन्टा, आलु, फर्सीजस्ता काँचो तरकारी पनि फ्रोजेन गरेर राखिन्छ । पाकेका फलफूल आदि पनि फ्रोजेन गरेर राखिन्छ । सुकेको मासु, सुकेको फलफूल राख्न पनि रेफ्रिजरेटरको निकै प्रयोग हुन्छ ।
अमेरिकी जीवनशैलीको कुरा गर्दा रेफ्रिजरेटरको कुरा त हुन्छ नै, साथै आइस (बरफ)को पनि कुरा हुन्छ । अमेरिकीहरू चिया, कफी, पेय पदार्थ(कोक, पेप्सी, डापेपर), जुस आदिमा बरफ मिसाएर त खान्छन् नै, पानी पिउँदा पनि त्यस पानीमा बरफ मिसाएर पिउने गर्छन् । अल्पसङ्ख्यकले मात्र पानीमा बरफ मिसाएर पिउँदैनन् । यो कारणले गर्दा पनि ‘अमेरिकी संस्कृति चीसो संस्कृति’ भन्ने चलन छ ।
अमेरिकामा चीसो किन मन पराइन्छ ?
अमेरिकामा चीसो मन पराउनुको वैज्ञानिक कारण छ । चीसो वातावरणमा रोगहरू सजिलै फैलिंदैन र रोग नियन्त्रण गर्न पनि सजिलो हुन्छ । यसैगरी, कुनै पनि कुरालाई चीसो तापक्रममा राख्दा त्यसको मौलिक गुण संरक्षण गर्न सकिन्छ ।
व्यवहारमा देखिए अनुसार गरम स्थानमा जति छिटो रोग फैलिने गर्छ, चीसो स्थानमा त्यति फैलिंदैन । चीसो पहाडी स्थानमा बस्नेहरू निकै स्वस्थ रहनुको कारण पनि यो हो भन्नेहरू पनि धेरै छन् ।
उपरोक्त कारणहरूले गर्दा अमेरिकीहरू चीसो वा रेफ्रिजेरेटर व्यवस्था निकै मन पराउँछन् ।