• बैधनाथ श्रमजीवी

अवकाश भनेपछि बोलीचालीमा कामकाजबाट छुटकारा पाएको बुझिन्छ । तर विद्यमान दलाल पूँजीवादी व्यवस्थाले गर्दा समाजभित्र यति बेला बढ्दो बेरोजगारी, आकाशिंदो महँगी, अनेकौं प्रकारका सामाजिक, सांस्कृतिक तथा आर्थिक विभेदले मानिसको मनोविज्ञान अझै केही वर्ष काम गर्न पाएको भए राम्रो हुने थियोजस्तो सोच अवकाश हुने बेला प्रायः सबैको मनमा आउने गरेको देखिन्छ । हाम्रो समाजमा प्रायः मानिसमा बिरामी परेर सुत्नबाहेक बढीभन्दा बढी काम गर्ने इच्छा हुने गर्छ । यस्तो सोच हुनुको प्रमुख दुईवटा कारण छन् । पहिलो –गरीबीबाट प्रताडित अवस्था र दोस्रो धन कुबेर बन्ने लालसा  ।

त्यसैले काममा सक्रिय जीवन बिताउनेहरूको लागि तथा आफूलाई  सदा  सक्रिय राख्नेहरूलाई अवकाश शब्द त्यति प्रिय नलाग्न सक्छ । तर चाहेर वा नचाहेर जीवनको उत्तरार्धमा कामबाट अवकाश लिनुपर्ने हुन्छ । यस्तो प्रायः मानिसको जीवनमा अनिवार्य छ । यसको अपवाद कोही छैन ।

अवकाश लिनु निष्क्रिय हुनु होइन । कामबाट अवकाश लिनु भनेको दैनिक आजीविका कमाउने दायित्वबाट छुटकारा लिनु हो । कामबाट अवकाश लिए पनि मानिसले आफूलाई कुनै न कुनै रूपमा सक्रिय राख्नुपर्छ । सक्रिय हुनु भनेको शरीर मात्र होइन, मनलाई पनि सक्रिय राख्नु हो । मानिसले आफूलाई सक्रिय राख्यो भने मात्रै मन खुशी हुन्छ । अनि मात्रै स्वस्थ, खुशी र सुखी जीवन जिउन सकिन्छ ।

अवकाश पछिको जीवनमा खुशी रहनको लागि जीवन सक्रिय रहेकै बखत सोच्नुपर्छ । नेपालको परिप्रेक्ष्यमा त अवकाश लिने भनेको जागीर खानेको लागि मात्रै हो । अरूले शरीरले धानेसम्म काम गर्ने हो । सबैलाई कामबाट वा राज्यबाट पेन्सन प्राप्त हुन्छ भन्ने छैन ।  पेन्सन प्राप्त भए पनि त्यो आफ्नो र परिवारको जीवन धान्न पर्याप्त हुन्छ भन्ने पनि छैन ।  बुढेसकाल धान्न राज्यबाट सुविधा प्राप्त हुन्छ भन्ने पनि छैन । राज्यबाट सुविधा प्राप्त हुने मुलुकमा पनि त्यस्तो सुविधाले जीवन धान्न पुग्छ भन्ने छैन । त्यसैले अवकाशपछिको जीवनबारे पूर्व तयारी गरिएन भने जीवन धान्न मुश्किल हुन्छ ।

अवकाशपछि आर्थिकरूपमा सबल हुन वा जीवन धान्न पर्याप्त सामल जगेर्ना गर्नेबारे सोच्नु जरूरी छ ।  तसर्थ काममा सक्रिय रहेकै बेला आफ्नो आम्दानीको एउटा निश्चित अंश राम्रो प्रतिफल आउने कुनै ठाउँमा लगानी गर्ने, निश्चित रकम भविष्यको लागि जम्मा गर्ने वा अरू कुनै उपायले भविष्य सुरक्षित पार्न सबैले सोच्नुपर्ने हुन्छ ।

नेपाली संस्कारमा बुढेसकालको जीवन धान्न सन्तानमाथि आश्रित हुने गरिन्छ । तर यो चलन बिस्तारै परिवर्तन हुँदै गरेको पाइन्छ । यतिबेला ८० लाख भन्दा बढी युवा वैदेशिक रोजगारमा छन् । तिनका बूढा बाबुआमालाई हेर्ने कोही छैन । छोराछोरी घरमैं हुँदा पनि बाबुआमालाई नहेर्ने, हिंसा गर्ने तथा वृद्धाश्रममा छाडिदिनेजस्ता घटना घरघरमा देखिन्छ । त्यसकारण पनि बाँचुन्जेल/ हातखुट्टा चलुन्जेल काम गर्नु सबैको बाध्यता बनेको छ ।

हाम्रो देशमा सन्तानले बाबुआमालाई बुढेसकालमा पाल्नुपर्छ भन्ने कानूनी दायित्व छ तर यो कानूनीभन्दा नैतिक दायित्वको कुरा हो । संस्कारको कुरा हो । आमाबुवाको सम्मान गर्ने, हेरचाह गर्ने र दुःख परेको बेला साथ दिने सबैको कर्तव्य हो । दायित्वबोध हुनेले जहाँ बसे पनि, जे गरे पनि, आमाबुवाप्रतिको कर्तव्य पूरा गर्छन् । तर संस्कार नै पूँजीमुखी भएपछि छोराछोरीलाई बाबुआमाभन्दा पैसा अर्थात् सम्पत्ति प्यारो हुँदो रहेछ ।

त्यसैले अवकाशपछि आफूलाई कसरी व्यस्त र खुशी राख्ने भन्नेबारे मानिसको आआफ्नो धारणा हुन सक्छ । अवकाश पछिको जीवन आफ्नो जीवन हो । न  कामको चिन्ता, न केटाकेटीलाई हुर्काउने धौधौ, न कुनै जिम्मेवारीको चिन्ता । तर यस्तो सोच एकदमै कम व्यक्तिमा देखिन्छ । बरु यसविपरीत प्रायः मानिसहरू अवकाशपछि नातिनातिनाको पीरले आफूलाई दुःखित बनाएको पाइन्छ । वास्तवमा प्रत्येक व्यक्तिले जे गर्दा आफ्नो मन खुशी हुन्छ वा सन्तुष्टि मिल्छ त्यही गर्नुपर्छ । कसैलाई घुमफिर गर्न मन लाग्छ, कोही समाजसेवामा आफूलाई सन्तुष्ट पाउँछ । कोही कामको व्यस्तताले आफूलाई मन परेको कामजस्तै ः पेंटिङ, नाचगान, लेखपढ वा खेतीपाती गर्ने रहर मेट्न पाएको हुँदैन । तत्तत् काम गरेर आफूलाई खुशी राख्न सक्छन् । जुनसुकै काम गरे पनि मन सन्तुष्ट हुने काम गर्नुपर्छ ।

नेपाली समाजमा अवकाश लिने वा अवकाशपछिको जीवन कसरी सुखमय बिताउने भन्ने सोच र चिन्तनको कमी छ । विशेषगरी नेपाली राजनीतिज्ञहरूले सक्रिय राजनीतिबाट अवकाश लिएको कुरा बिरलै सुन्न पाइन्छ । त्यसका तीन पक्ष छन् । पहिलो राजनीति नशा हो ।  जसलाई नशा लाग्छ उसलाई त्यसबाट छुटकारा दिलाउन निकै मुश्किल पर्छ ।

दोस्रो राजनीति भनेको सोख हो । राजनीति कुनै कारकापमा गरिन्न । राजनीतिमा कुनै लोभ र लाभको कुरा गर्नुहुँदैन । यो निस्स्वार्थ देश र जनताको लागि गरिने काम हो । त्यसैले जो सोखले वा निस्स्वार्थ भावले कुनै काम गर्छ उसले अवकाश लिने कुरै हुँदैन भन्ने तर्क पनि हुन सक्छ । तर यो कुरा केवल कल्पनामा मात्रै सीमित छ । हाम्रो वर्तमान राजनीतिक व्यवस्थामा यो सम्भव नै छैन । तेस्रो राजनीति र शक्ति सम्बन्धित छ । राजनीतिज्ञहरू राजनीतिलाई नै शक्तिको स्रोत मान्छन् र आफूलाई शक्तिको वरिपरि राख्न चाहन्छन् । त्यसैले पनि नेपाली राजनीतिज्ञहरू अवकाश लिने कुरा सोच्न र राजनीतिबाट अवकाश लिन चाहना गर्दैनन् । मरुन्जेल जुकाझैं कुर्सीमा टाँसिइरहन्छन् । यस्ताले के अवकाश लेलान् १

जे भए पनि शारीरिक र मानसिक हिसाबले मानिसको काम गर्ने एउटा सीमा  हुन्छ । कसैको सीमा पचास वर्ष होला, भने कसैले साठी वा पैसठ्ठी । यो नितान्त व्यक्तिगत सोच र क्षमताको कुरा हो । अर्थात् अवकाश पाएपछि पनि आर्थिक उत्पादनमा लाग्ने वा नलाग्ने त्यो नितान्त व्यक्तिगत कुरा हो र हुनु पनि पर्छ ।

माथि उल्लिखित कुरा त सिद्धान्तका कुरा वा तर्कवितर्क भए । अब आफ्नै कुरा गरूँ । म पनि सक्रिय शिक्षणको कामबाट तीन वर्षपहिले अवकाश पाएको छु । तर हालसम्म कुनै पनि प्रकारको आर्थिक उत्पादनसँग जोडिएको छैन, न त्यस्तो कुनै काममा जोडिने योजना नै छ । यसको अर्थ मेरो अवकाशपछिको जीवन निष्क्रिय छ भन्ने होइन, म अहिलेसम्म सक्रिय जीवन बाँचिरहेको छु । अवकाशपछिको आफ्नो जीवन सामूहिक उत्पादनद्वारा समुदायको जीवनस्तर उच्च बनाउने/आत्मनिर्भर समुदाय बनाउने काममा लगाइरहेको छु । अर्को शब्दमा भन्ने हो भने समाजवादी अर्थतन्त्र निर्माण गरेर वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि बाचुन्जेल सक्रिय रहने योजना लिएर अगाडि बढिरहेको छु ।

हामी सबैलाई थाहा छ, मानिसका इच्छा र आकाङ्क्षा असीमित छन् । आफ्नो इच्छा र आकाङ्क्षाको सीमा तोक्ने आफैंले हो । आफ्नो जीवन जिउने र भोग्ने आफैंले हो । के गर्दा खुशी र सन्तुष्टि मिल्छ, त्यो तय गर्ने र त्यही अनुरूप जीवन पद्धति विकास गर्ने आफैंले  हो । तर के कुरा पक्का छ भने निजी जीवन बाँच्नेहरूभन्दा सामूहिक जीवन बाँच्नेहरू तुलनात्मकरूपले बढी खुशी हुने गर्दछन् ।

अवकाश लिनु भनेको वर्तमान पेशा वा कामबाट स्वतन्त्र हुनु हो, फुर्सदिलो हुनु वा निष्क्रिय हुनु होइन । मेरो विचारमा कामबाट अवकाश लिनु नयाँ गन्तव्यको शुरूआत गर्नु हो । आत्मसन्तुष्ट हुने कुरा गर्नु हो । यो पनि जीवन जिउने एक कला हो । कामबाट अवकाश लिनु भनेको आफूभित्र आफूलाई खोज्ने, पाउने र रमाउने मौका पनि हो ।  हामी सबैलाई थाहा भएकै कुरा हो, हाम्रो सबै दुःखको कारण निजी सम्पत्ति हो । त्यसैले हामी जबसम्म निजीबाट सामुदायिकतातर्फ अगाडि बढ्दैनौं तबसम्म हाम्रो निजी दुःख दिन दुई गुणा रात चौगुना दरले बढिरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here