प्रस, वीरगंज, २१ भदौ/
करोडौं रुपैयाँ लिएर भागेका सहकारीहरूलाई स्थानीय सरकार तथा प्रहरीले संरक्षण दिइरहेको आरोप पीडितहरूले लगाएका छन् ।
एक वर्षभित्रमा करोडौं रुपैयाँ लिएर वीरगंजबाट तीनवटा सहकारी संस्था फरार भएपनि ती सहकारीका सञ्चालकहरूलाई कसरी, कसले कारबाही गर्ने विषयमा अहिले फरकफरक मत देखा परेका छन् ।
बचतकर्ताहरूका करोडौं रुपैयाँ लिएर भाग्ने सहकारी सञ्चालकहरू खुलेआम घुमिरहे पनि प्रहरी वा सरोकारवाल निकायले बेवास्ता गरिरहेको आरोप लागेको छ । भाग्ने सहकारीका सञ्चालकहरूलाई स्थानीय गुण्डाहरूले संरक्षण दिइरहेका छन् । भागेका सहकारी संस्थाका कार्यालयहरूमा कार्यालय खुल्ने अवधिभरि टोले गुण्डाहरू बस्ने र पीडित बचतकर्ताहरू आफ्नो रकम लिन कार्यालयमा आए थर्काएर भगाउने गरेका पीडितहरूको आरोप छ ।
सानोपाइला बचत तथा ऋण सहकारीले एक अरबभन्दा बढी, दैनिक बचत तथा ऋण सहकारीले १५ करोडभन्दा बढी, यादगार बचत तथा ऋण सहकारीले छ करोडभन्दा बढी बचतकर्ताहरूको रकम लिई फरार भएका उजूरी जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेका छन् । यसअघि लिङ्करोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी संस्थाले आठ करोडभन्दा बढी रकम लिई फरार भएको थियो । चारवटा सहकारीमा पाँच हजारभन्दा बढी बचतकर्ताको रकम बचत गरेको प्रहरीको भनाइ छ ।
प्राइम सहकारी केही वर्षअघि भागेको तर अहिलेसम्म कुनै बचतकर्ताको रकम फिर्ता गरिएको छैन । मुद्दा दर्ता छ, बचतकर्ताहरू यताउता दौडधूप गरी दिन बिताइरहेका छन् । त्यसैगरी, सानोपाइलालाई वीरगंज महानगरले सङ्कटग्रस्त घोषणा गर्ने प्रक्रिया अगाडि बढाएको छ । यादगार सहकारीमाथि मुद्दा दर्ता भइसकेको छ । अध्यक्ष राहुल सिंह फरार छन, कोषाध्यक्ष बलराम साह जिल्ला प्रशासन कार्यालयमा दैनिक जाने र आफ्नै घरमा बस्ने गरेको पाइएको छ ।
सङ्घीयतापछि सहकारीहरूको रेखदेख, दर्ता प्रक्रिया, अनुगमन गर्ने अधिकारी स्थानीय तहको जिम्मामा छ । यसअघि डिभिजन सहकारी कार्यालयले हेर्दै आएको थियो ।
पर्सामा लगभग दुई हजारभन्दा बढी सहकारी संस्था दर्ता छन् ।