प्रस, परवानीपुर, १७ भदौ/

पर्सामा दुई सातादेखि बेपत्ता भएका दुई युवती फेला परेका छन् । उनीहरू शुक्रवार अबेर राति घर आएका परिवारजनले बताएका छन् ।

नातामा दिदी–बहिनी पर्ने आशा चौधरी (२२) र शोभा चौधरी (२१) घर फर्केका शोभाकी आमा आशा देवीले बताइन् ।

जीराभवानी गापा–२ की आशा र सोही पालिका वडा नं ३ काठमाडौं टोलकी शोभा भदौ १ गते बिहान ६ बजेदेखि बेपत्ता भएका थिए ।

जिल्ला समन्वय समिति, पर्सा अगाडि रहेको एक डेरीपसलमा काम गर्न जाँदैछौं भनी निस्केका दुवैजना घरपरिवारलाई जानकारी नदिएर काशी विश्वनाथ भगवान्को दर्शन गर्न भारतको उत्तर प्रदेशस्थित वाराणसी गएको बताएका छन् ।

घरपरिवारलाई जानकारी गराएर जाँदा जान नपाइने भएकोले घरमा चिठी छोडेर गएको शोभाले बताइन् । “मैले आफ्नो कोठामा किताबमा चिठी लेखेर छोडेको थिएँ, तर बहिनी वा परिवारका सदस्य कसैले हेर्नुभएन,” उनले भनिन्, “थाहा दिएर गइयो भने जान पाइँदैन भनेर बुबाआमालाई भनिएन, अब यस्तो गलती गर्दैनौं ।” उनीहरू गायब भएको र जीराभवानीमा युवतीको टाउको काटिएको अवस्थामा शव बरामद हुनुले पनि हामीहरूले निकै तनाव खेप्नुपरेको आशा चौधरीकी आमा तुरादेवीले बताइन् ।

शोभा र आशालाई खोज्न परिवारजन देवघरसमेत गएर भगवान्लाई प्रार्थना गरेको पटेर्वासुगौलीका माओवादीका नेता मदन चौधरीले बताए । दुवैमा घनिष्ट प्रेम छ भन्ने प्रश्नमा आशा र शोभाले आफूहरू समलिङ्गी सम्बन्धमा नरहेको तर धेरै नजीकको सम्बन्ध भएर घरपरिवारले यस्तो आशङ्का गरेको भन्दै प्रस्ट परेका थिए । उनीहरूले घरपरिवारकै मन्जुरीमा विवाह गरी घरजम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here