काठमाडौं, १७ भदौ/रासस

आइसिसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले आइतवार भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जीत निकालेको छ ।

मलेशियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको हो ।

यससँगै छ अङ्क जोडेको नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले पहिलो खेलमा मलेशियालाई पाँच रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

भुटानले प्रस्तुत गरेको ४० रनको सामान्य लक्ष्य नेपालले १३ दशमलव दुई ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

भुटानका लागि अञ्जुली घलेले तीन, छिरिङ जाङ्मोले दुई तथा सोनम छोदेन र अञ्जु गुरुङले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिड्ढो निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ३९ रनको योगफल बनाएको थियो ।

भुटानका लागि कप्तान डिचेन वाङ्गमोले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पूजा महतोले तीन विकेट लिइन् भने कविता कुँवर, खुशी डङ्गोल र रूविना क्षेत्रीले समान एक/एक विकेट झारे लिए । नेपालले अब सोमवार कतारसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here