ओमप्रकाश चौधरी, सेढवा, १६ भदौ/

देशमा जारी आर्थिक मन्दीले युवाहरूको रोजगार सङ्कटमा परेको छ ।

देशका विभिन्न ठूला शहरमा कार्यरत पर्साका युवाहरू रोजगारबाट विस्थापित भई गाउँ फर्किन थालेका छन् ।

जिल्लाका ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर गाउँपालिका, पर्सागढी नगरपालिकालगायतका युवाहरू गाउँ फर्किरहेका पटेर्वासुगौली गाउँपालिका घर भई काठमाडौंमा बसोबास गरिरहेका  विजय चौधरीले बताए । कोभिड महामारीपछि देशमा आर्थिक समस्या बढ्दै गएपछि काठमाडौं, भरतपुर, पोखरा, बुटवल, हेटौंडा, विराटनगर, झापालगायतका शहरबाट युवाहरू विस्थापित हुने क्रम बढेको चौधरीले बताए ।

काठमाडौंमा स्टील तथा फलामको स्ट्रक्चर निर्माण कार्यमा संलग्न जीराभवानी गाउँपालिका–२ सेढवा निवासी शङ्कर चौधरीले काम नपाएर गाउँ फर्केको बताए ।

आम नागरिकसँग आर्थिक अभाव रहेको र बैंकले पनि ऋण लगानी नगर्दा निजीस्तरमा विकास निर्माणका कार्य एकदमै न्यून भएकाले बाध्य भई गाउँ फर्केको चौधरीले बताए । काम नभएर त्यहाँबाट फर्के पनि बालबच्चा अध्ययनका लागि त्यहीं राख्नुपरेको चौधरीले बताए ।

त्यस्तै, जीराभवानी गाउँपालिकाकै शाहदेव महतो परिवारसहित पोखराबाट विस्थापित भई गाउँ फर्केका छन । उनी पोखरामा विगत १० वर्षदेखि टेक्सी चलाउँथे । उनले केही बचत रकम र केही ऋण काढेर टेक्सी खरीद गरेको बताए । तर टेक्सी नचलेकोले ब्याजसमेत तिर्न सक्ने अवस्था नरहेपछि टेक्सी बिक्री गर्नुपरेको र ऋण चुक्ता गरी गाउँ फर्केको बताए । अब गाउँमैं खेतीपाती गरी  जीविका चलाउने उनले बताए । ग्रामीण भेगका प्रत्येक गाउँमा युवाहरू विस्थापित भएर फर्केका छन् । केही युवाहरू ती शहरहरूमा टिके पनि कारोबार भने एकदमै न्यून भएको बताउँछन् । जेनतेन गरी टिक्नुपरेको र मुश्किलले गुजारा चलाउनुपरेको दुःखेसो पोखेका छन् ।

गाउँ फर्केका युवाहरूको दैनिक ज्यालादारी, खेती, तरकारीको व्यापार, ससाना कारखाना भएपनि कारोबार भने नभएको दुःखेसो थियो ।

ग्रामीण भेगका युवाहरू यी शहरहरूमा  मोटरसाइकल  ग्यारेजमा, घर निर्माणका ठेकेदार, स्टील तथा गेट ग्रीलका ठेक्का, टेक्सी चालक, विभिन्न सामग्रीका पसल थाप्नेलगायतका व्यवसायमा संलग्न थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here