प्रस, परवानीपुर, १५ भदौ/
बारा, परवानीपुर गाउँपालिका–५ स्थित एलएस न्यूरो अस्पतालमा तोडफोड भएको छ । उपचारको क्रममा एक युवकको मृत्यु भएको चार दिनपछि शनिवार ती युवकका आफन्तजनले अस्पतालमा पुगेर वार्ता चलिरहेको अवस्थामा ढुङ्गामुढा गर्दा अस्पतालको सीसा, सिसिटिभी क्यामरा, ल्याब तथा फार्मेसी वार्डमा समेत तोडफोड भएको छ । तोडफोड घटनामा संलग्नमध्ये पाँचजनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । बारा, विश्रामपुर–५, नकटुवा बस्ने वर्ष २२ का रवि साहको गत मङ्गलवार बिहान ४ बजे मृत्यु भएको थियो ।
एलएस न्यूरो अस्पतालबाट थप उपचारको लागि नेशनल मेडिकल कलेजमा लैजाँदा साहको मृत्यु बाटोमैं भइसकेको कलेजका चिकित्सकले घोषणा गरेका थिए । गत भदौ ११ गते सोमवारका दिन कलैयाबाट नौतन आउने क्रममा मोतीसरनजीकै पाइप उद्योगअगाडि मृतक साहले चलाएको तीव्र गतिको मोटरसाइकल दुर्घटनाग्रस्त भएको थियो ।
सो दुर्घटनामा परेर उनको दाहिने हात एवं दाहिने छातीमा गम्भीर चोट लागेको थियो । साथै, रक्तश्राव पनि अत्यधिक भएपछि उनलाई राति पौने ११ बजे उपचारको लागि भर्ना गरिएको थियो । त्यसपछि चिकित्सकहरूले उपचार शुरू गरे ।
रगत परीक्षणमा हेमोग्लोबिन चार दशमलव दुई मात्रै रहेको ड्यूटीमा खटिएका एलएस न्यूरो अस्पतालका मेडिकल अफिसर डा सञ्जय आलमले बताए । गम्भीर घाइते साहको बिपी थिएन, पल्स मात्रै थियो, सो अवस्थामा परिवारजनले रगत ल्याउन करीब डेढ घण्टा ढिला गरे पनि अस्पतालका चिकित्सकले बचाउने हरेक कोशिश गरेको डा आलमले बताए ।
परिवारजनकै अनुमतिमा शल्यक्रिया गरी उनको स्वास्थ्य अवस्था स्थिर भएपछि करीब पौने ३ बजे नेशनल मेडिकल कलेजमा रेफर गरिएको उनले जानकारी गराए । त्यहाँ लैजाने क्रममा साहको मृत्यु भयो, दाहसंस्कार भयो, आज घटनाको चार दिनपछि बिदाको दिन अस्पतालमा दर्जनौं व्यक्ति आएर अस्पतालमा तोडफोड गर्नु दुःखद भएको अस्पतालका प्रशासन प्रमुख नन्देश सिंहले बताए । “वार्ता चलिरहेको अवस्थामा अचानक तोडफोड गरे, डा श्यामबाबू पटेलको गाडीमैं आक्रमण गरिएको र उनीहरूले गाडीको पिछा पनि गरेका थिए, उनी ज्यान जोगाएर भागे,” उनले भने, “यो घटनामा हामी कानूनी कारबाहीमा जान्छौं ।”
मृतक साहका फुपाजु पर्ने बारा महागढीमाई–५ का सुनील साहले अस्पतालको चरम लापरवाहीले भदा साहको मृत्यु भएको बताउँदै एलएसका चिकित्सकले शुरूमैं नेशनल मेडिकल कलेजमा रेफर गर्नुपर्ने बताए । मृतक साह अस्पताल भर्ना हुँदा ठीक थिए, केही समयपछि स्वास्थ्य अवस्था बिग्रन थालेपछि आफूहरूले मेडिकल कलेज लगेको र त्यहाँ चिकित्सकले बाटैमा मृत्यु भइसकेको बताएको उनले भने । परिवारजन दाहसंस्कारमा व्यस्त भएको र शुक्रवार उनको उपचारको विषयमा जानकारी लिन आउँदा शनिवार बस्ने भनिएकोले आफूहरू आज आएको उनले बताए ।
अस्पतालको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय, बाराले थप सुरक्षाकर्मी परिचालन गरेको छ भने सशस्त्र प्रहरी पनि सुरक्षार्थ खटाइएको छ ।