• विश्वराज अधिकारी

शौचालय र पिउने पानी निश्शुल्क

संसारभरिमा एउटा भनाइ अति प्रचलित छ । त्यो के भने–‘अमेरिकामा शौचालय प्रयोग गर्न र पिउने पानीका लागि शुल्क भुक्तान गर्नुपर्दैन । कुनै स्थानमा राखिएको शौचालय प्रयोग गर्न वा पानी पिउन पैसा तिर्नुपर्दैन । सरकारी वा निजी स्तरमा राखिएका शौचालयहरू प्रयोग गर्दा पनि प्रयोगकर्ताले कुनै किसिमको शुल्क भुक्तान गर्नुपर्दैन । अमेरिका शुल्कमुक्त शौचालय भएको राष्ट्र हो ।

अनि अर्काे पनि रोचक कुरा छ । अमेरिकमा शौचालयलाई ‘रस्टरूम’ भन्ने गरिन्छ । पानी पिउने स्थानलाई ‘फाउन्टेन’ भन्ने गरिन्छ ।

अमेरिकामा प्रायः सबै निजी पसल वा भण्डारहरूले अनिवार्यरूपमा शौचालयको व्यवस्था गरेका हुन्छन् । र कुनै ग्राहक वा बाह्य व्यक्तिलाई पनि निश्शुल्क शौचालय प्रयोग गर्न दिन्छन् । यसैगरी पार्क, सार्वजनिक स्थल, सरकारी कार्यालय, गैरसरकारी कार्यालय आदिमा पनि शौचालय राखिएको हुन्छ । कुनै व्यक्ति ग्राहक नरहेको स्थितिमा पनि उसले कुनै पसलमा रहेको शौचालय प्रयोग गर्न पाउँछ । सो पसलले ‘शौचालय प्रयोग गर्न दिन्न’ भन्न पाउँदैन । यो एक सामाजिक नियमजस्तो हो, सामाजिक संस्कार हो । शौचालयमा पनि अनिवार्यरूपमा ‘ट्वाइलेट पेपर’ र हात धुनका लागि साबुन र साथै हात पुछ्ने कागज वा हात सुकाउने बिजुली–मेशीन राखिएको हुन्छ । यसैगरी ऐना पनि हुन्छ ।

केही शौचालयहरूमा सामान्य औषधी पनि राखिएको हुन्छ । प्रायः दर्दनाशक औषधी राखिएको हुन्छ । त्यो औषधी तोकिएको मूल्य तिरेर स्वचालित मशीनबाट प्राप्त गर्न सकिन्छ ।

महिला र पुरुषको लागि अलग अलग शौचालयको व्यवस्था गरिएको हुन्छ । दुवै किसिमको शौचलयमा शिशुहरूको लागि ‘डाएपर’ फेर्ने ठाउँ छुट्याइएको वा भनौं व्यवस्था गरिएको हुन्छ ।

प्रायः शौचालयहरूमा एउटा सूची राखिएको हुन्छ । त्यो सूचीले कुन व्यक्तिले हप्तामा कतिपटक त्यो शौचालय सफा गरेको छ भन्ने जानकारी दिन्छ ।

खासगरी शौचालयको नजीक वा केही पर प्रयोगकर्ताहरूको लागि ‘फाउन्टेन’ राखिएको हुन्छ । त्यो फाउन्टेनको नजीकमा रहेको स्वीच थिचेपछि झर्नाबाट पानी आएझैं पानी माथिबाट बाहिर आउँछ । र प्रयोगकर्ताले आउँदै गरेको त्यो पानी नजीक मुख लगेर पानी खान्छ । पसल, भण्डार, कार्यालय, सार्वजनिक स्थल, कलेज, स्कूल, सरकारी कार्यालयहरूले त्यसरी उपलब्ध गराएको पानी प्रयोगकर्ता (पानी पिउने व्यक्ति) ले प्रयोग गर्दा, प्रयोगकर्ताबाट कुनै पनि किसिमको शुल्क लिंदैन । पिउने पानी सेवाग्राही, भ्रणमकर्ता, पाहुना आदिलाई निश्शुल्क उपलब्ध गराउनुपर्छ भन्ने अमेरिकी मान्यता रहेको पाइन्छ । यो एउटा सामाजिक संस्कृति हो ।

पानी पिउने सम्बन्धमा अमेरिकीहरूको एउटा फरक बानी भने उल्लेख गर्नैपर्छ । अमेरिकीहरू तिर्खा लागेपछि मात्र पानी खानुपर्छ भन्ने कुरामा विश्वास गर्दैनन् । छिनछिनमा तर थोरै थोरै पानी खाइ नै रहनुपर्छ भन्ने सोच राख्छन् । यस्तो सोचले गर्दा अमेरिकीहरू थोरैथोरै पानी एक खास समयको फरकमा खाइ नै रहन्छन् ।

अमेरिकी स्वास्थ्य चेतना अनुसार छिनछिनमा पानी खानुको उद्देश्य आफ्नो शरीरमा राम्रो तरलता कायम राख्नु हो । त्यसकारण शरीरमा तरलताको कमी (dehydrated) हुन नदिन थोरैथोरै पानी खाइ नै रहन्छन् ।

अमेरिकामा पिउने पानीको बोतल व्यक्तिहरूले घरमा बस्दा पनि, बाहिर जाँदा पनि, बोक्नु सामान्य कुरा हो । अर्थात् प्रत्येक व्यक्तिले पानीको बोतल भिर्ने गरेको हुन्छ । र एकएक घुड्को पानी बेलाबेलामा पिएको हुन्छ ।

र अन्त्यमा, एउटा विशेष कुरा प्रस्तुत छ । अमेरिकीहरू पानी खाँदा, पानीमा आइस (बरफ) लगभग अनिवार्य मिसाउने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here