- बैधनाथ श्रमजीवी
सामान्यतया पुस्तकलाई ज्ञानको भण्डार भनिन्छ र पुस्तकालयलाई विद्याको सागर भनिन्छ । पुस्तकालयलाई जति व्यवस्थितरूपमा प्रयोग गर्न सकियो, त्यति नै विद्या आर्जन गर्न मदत पुग्छ । अफ्रिकाको राष्ट्रपति नेल्सन मन्डेलाले भनेका थिए– “कुनै पनि व्यक्ति, समाज वा देशलाई बिगार्नु/बर्बाद गर्नु छ भने त्यहाँ धर्म लगिदिने तर कुनै पनि व्यक्ति, समाज वा देशलाई समृद्ध/विकास गर्नु छ भने त्यहाँ शिक्षा लगिदिने ।”
आजको आधुनिक युगमा हाम्रो नेपाल जस्तो विकासमा पछाडि परेको देशमा शिक्षा नीति विकासमैत्री हुनुको साटो दलाल पूँजीवादी व्यवस्थाको लागि जनशक्ति तयार गर्ने मालको रूपमा भएको हुनाले हाम्रो महत्वपूर्ण शैक्षिक जनशक्ति अरूको विकास निर्माणका कार्यहरूमा खर्च भइरहेको अवस्था सर्वविदितै छ ।
कुनै पनि शिक्षाको लागि पुस्तक र पुस्तकालयलाई विद्यार्थीपछिको महत्वपूर्ण तत्वको रूपमा लिइन्छ । वास्तवमा पुस्लतकालयको महत्वलाई निम्न प्रकार ले बुझ्न सकिन्छ–
१. ज्ञान भण्डार तथा प्रयोगशाला
पुस्तकालयलाई हामी शैक्षिक अध्ययनको प्रयोगशालाका रूपमा लिन सक्छौं । जहाँ उपलब्ध हुने पुस्तक, पत्रपत्रिका, श्रव्यदृश्य आदि सूचनाको भण्डारमार्फत आफ्नो ज्ञान र सीपको क्षेत्रलाई बढाउन तथा खोज अनुसन्धान गर्न सकिन्छ । साथै आफ्नो ज्ञान, धारणा, दृष्टिकोणको परीक्षण र त्यसलाई परिमार्जन गर्ने उपयुक्त थलोको रूपमा पनि यसलाई प्रयोग गर्न सकिने भएकाले ज्ञान आर्जनको प्रयोगशालाका रूपमा पुस्तकालयको महत्व रहेको छ । पुस्तकालयमा विभिन्न विधाका पुस्तक, सूचना आदिको सङ्कलन र व्यवस्थापन हुने भएकाले यो ज्ञानको भण्डार हो । जहाँबाट आफ्नो रुचि र आवश्यकता अनुसार जति पनि ज्ञान र सीप आर्जन गर्न सकिने भएकाले यसको औधी महत्व छ । शोधकर्ता एवं अन्वेषकहरूका लागि पुस्तकालय उपयुक्त र भरपर्दो विकल्प हो, जहाँ उपलब्ध हुने पुस्तक भण्डार, इन्टरनेट तथा भर्चुअल पुस्तकालयको माध्यमबाट इच्छुक व्यक्तिहरूले आफ्नो शोध र खोजलाई पूर्णता दिन सक्छन् ।
२. कम व्यय भार
सबै विद्यार्थी तथा प्रयोगकर्तासँग पुस्तक तथा पत्रपत्रिकामा लगानी गर्ने आर्थिक स्रोत सीमित हुन्छ । जस्तैः सबै पत्रपत्रिकाको ग्राहक बन्न गा¥हो हुन्छ, तर पुस्तकालयमा जाने हो भने ती सबै पत्रपत्रिकाहरू निश्शुल्क पढ्न पाइन्छ । त्यस्तै, सबै पुस्तक खरीद गरी अध्ययन गर्न पनि गा¥हो हुन्छ, जसको व्ययभार पनि बढी हुन्छ ।
यस्तो अवस्थामा पुस्तकालयको प्रयोग गर्ने हो भने, न्यून खर्चमा आफ्नो रुचि र आवश्यकता अनुसारका पुस्तक, पत्रपत्रिका, लेख, रचना आदि हेर्न र अध्ययन गर्न सकिन्छ । साथै, शोध तथा खोजकर्ताहरूलाई आवश्यक पर्ने सन्दर्भ–सामग्रीहरू आफैं किन्न ठूलो धनराशि चाहिन्छ । तर पुस्तकालयले उनीहरूको व्ययभार कम गर्न मदत गर्छ ।
३. व्यवस्थापन र वातावरण
पुस्तकालयहरूमा ऐतिहासिक र समय सान्दर्भिक पुस्तक, पत्रपत्रिकालाई वैज्ञानिक पद्धति अनुसार उचितरूपमा व्यवस्थापन गरिएको हुन्छ । जसले गर्दा प्रयोग गर्न सरल र सहज हुन्छ । त्यसका साथै पुस्तकालयभित्रको वातावरण पनि सफा र शान्त हुने भएकाले एकाग्र भएर अध्ययन र खोज गर्न सकिन्छ । उपलब्ध हुने पुस्तक, इन्टरनेट सुविधा, शान्त वातावरण आदिले मनोरञ्जन लिने र विश्राम गर्ने अवसर प्रदान गर्छ, जसले गर्दा उबाउको अवस्था आउँदैन ।
४. सामाजिक र सांस्कृतिक वातावरण
पुस्तकालयका प्रयोगकर्ता विभिन्न उमेर समूह, समुदाय, धर्म आदिबाट आएका हुन्छन् । साथै पुस्तकालय सार्वजनिक हुने भएकाले एकै समयमा धेरैले सहभागिता जनाउन सक्ने हुनाले एकापसमा अन्तरसम्बन्ध विकास गर्न र सामाजिक वातावरण तयार गर्न मदत पुग्छ ।
त्यसैगरी, विभिन्न जाति, समुदाय र धर्मका मानिसहरूबीच अन्तरसम्बन्ध विकास भई सांस्कृतिक आदानप्रदान पनि हुन्छ । जसले गर्दा पुस्तकालय सामाजिक तथा सांस्कृतिक वातावरण निर्माणसमेत गर्ने एउटा थलो बनेको हुन्छ । यसबाट पुस्तकमा लेखिएका वा नलेखिएका विभिन्न विषयमा अनुभव र अनुभूतिका आधारमा ज्ञान आर्जन गर्न सकिन्छ ।
५. समयको सदुपयोग
बालबालिका, किशोरकिशोरी, युवा, वयस्क, वृद्धवृद्धा आदिले आफ्नो फुर्सदको समयको उचित सदुपयोग गर्ने स्थल र माध्यमका रूपमा पुस्तकालयलाई प्रयोग गर्न सक्छन् । जसले नयाँ–नयाँ उपयोगी कुरा सिक्न र आफूले सिकेका कुरा अरूलाई सिकाउने र बाँड्ने वातावरण निर्माण गर्छ ।
विद्यार्थी, शिक्षक, शोध तथा खोजकर्तालाई एकै स्थानमा विभिन्न विषय र विधाका पुस्तक तथा सन्दर्भ–सामग्रीहरू पुस्तकालयले उपलब्ध गराउने भएकाले उनीहरूको समयमा पनि बचत हुन्छ । तसर्थ समयको सदुपयोग गर्ने उचित स्थानको रूपमा पुस्तकालयलाई लिइन्छ ।
६. कम्प्युटर तथा विद्युुतीय सामग्रीको उपलब्धता
पुस्तकालयमा उपलब्ध हुने कम्प्युटर तथा अन्य विद्युुतीय सामग्रीका कारण कम समयमा नै बढीभन्दा बढी सेवा सरल तरीकाले प्राप्त गर्न सक्ने भएकाले पुस्तकालयको महŒव अझ बढेको पाइन्छ । एकै स्थानबाट विश्वलाई नियाल्न र विश्वव्यापी बहस र सन्दर्भको बारेमा जान सकिने भएकोले पनि पुस्तकालय बहुउपयोगी बन्दै गइरहेको छ ।
नेपालमा २०६५ भदौ १५ गतेबाट पुस्तकालय दिवस मनाउन थालिएको हो । विधिवत्रूपमा यो दिवस मनाउन शुरू भएको १४ वर्ष पूरा भएको छ । हामीले हिजो १५औं पुस्तकालय दिवस मनायौं ।
नेपालमा १४ वर्षअघिबाट पुस्तकालय दिवस मनाउन शुरू गरिए पनि पुस्तकालयको सुरुआत भने करिब १४५ वर्ष पहिलेबाट भएको मानिन्छ । तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको शासनकालमा पुस्तकालयको सुरुआत भएको इतिहास छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका समयमा आफूले पराजित गरेका राज्यहरूका महत्वपूर्ण दस्तावेजहरूलाई सङ्कलन गरेर राख्ने गर्थे । पछि उनका नाति गीर्वाणयुद्धले तिनै ऐतिहासिक दस्तावेजहरूलाई पुस्तकालयका रूपमा सङ्ग्रहित गरेर संरक्षण गरे ।
कुनै पनि समाजमा व्यक्ति सुसूचित र जिम्मेवार नागरिक बनाइराख्न पुस्तकको ज्ञानको महत्व निकै ठूलो हुन्छ । त्यसैले प्राचीनकालदेखि नै पुस्तकको महत्वबोध भएर नै ज्ञानका कुरा र विभिन्न सूचना सामग्री लेखेर–छापेर पुस्तकका रूपमा सङ्ग्रहित गरी राख्न थालिएको हो । त्यस्तै खालका सङ्ग्रहहरू नै पछि गएर पुस्तकालयका रूपमा उदय भएको कुरा इतिहासकारहरूले बताउने गरेका छन् । यसले पुस्तकालयमा रहेका पुस्तक र पुस्तकमा रहेका ज्ञानको महत्व र महिमा हाम्रा पुर्खाहरूले उहिल्यैदेखि नै बुझिआएका थिए भन्ने कुरा प्रस्ट हुन्छ ।
नेपालको संविधान–२०७२ को भाग–४, धारा–५१, उपधारा–ज (४)मा नागरिकहरूको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्रका रूपमा पुस्तकालयको स्थापना एवं प्रवद्र्धन गर्ने कुरा उल्लेख गरेको छ । त्यसअनुरूप पुस्तकालयको विकासका लागि सरकारले २०६४ सालमैं पुस्तकालय तथा सूचना सेवा नीति पारित गरेको थियो । त्यही नीतिका आधारमा सरकारी र गैरसरकारी संस्थाको संयुक्त पहलमा सबै शिक्षण संस्था, विद्यालय, गाउँपालिका र नगरपालिकामा सार्वजनिक पुस्तकालय स्थापना र सञ्चालन गर्ने अवधारणा राखेको थियो । तर सो अवधारणा अनुसारको काम भने अद्यापि हुन सकेको छैन ।
समग्रमा नेपालमा पुस्तकालयको क्षेत्रमा जति विकास हुनुपर्ने हो, त्यति हुन सकेको छैन । शैक्षिक संस्थाबाहेकका पुस्तकालय जीर्ण हुँदै गएका छन् । समयसापेक्ष माग अनुसारका पुस्तक नहुँदा पुस्तकालयमा पाठकको सङ्ख्या निकै न्यून हुँदै गएका छन् । मूलतः अहिले सूचना र प्रविधिको क्षेत्रमा भएका÷भइरहेका चमात्कारिक विकासका कारण परम्परागत पुस्तकालयहरू सङ्कटमा पर्दै गएका छन् । हाल नेपालमा निम्नानुसारका पुस्तकालय छन्
१. शैक्षिक पुस्तकालय
विद्यालय वा शैक्षिक प्रतिष्ठानमा हुने पुस्तकालयलाई शैक्षिक पुस्तकालय भनिन्छ । यस्ता पुस्तकालयमा विशेषगरी विद्यालयका पाठ्यसामग्री राखिएका हुन्छन् । शैक्षिक पुस्तकालय पनि तीन प्रकारका हुन्छन्–
१) विद्यालय पुस्तकालय, २) महाविद्यालय पुस्तकालय र ३) विश्वविद्यालय पुस्तकालय । यी पुस्तकालयले आआफ्नो क्षेत्रका सम्बन्धित पुस्तकहरू राखेका हुन्छन् ।
नेपालमा शैक्षिक पुस्तकालयको इतिहास केलाउँदा नेपालकै ठूलो पुस्तकालयको रूपमा परिचित त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको बारेमा चर्चा गर्नु आवश्यक हुन्छ । १२ सय पुस्तकबाट विसं २०१६ मा स्थापना भएको यो पुस्तकालयमा हाल चार लाखभन्दा बढी पुस्तक छन् । विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारी र शिक्षामा रुचि राख्ने सबैलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ समयकोे माग अनुसार त्रिविले केन्द्रीय पुस्तकालयलाई डिजिटलाइजेशनसमेत गरेको छ । सूचना र प्रविधिमा भएका विकाससँगै त्रिविले केन्द्रीय पुस्तकालय सञ्चालनलगायत आङ्गिक क्याम्पसमा समेत ईपुस्तकालय सञ्चालनमा ल्याएको छ ।
२. सामुदायिक पुस्तकालय
नागरिकस्तरबाट वा सामुदायिक सङ्घसंस्थाद्वारा स्थापना गरिएको पुस्तकालयलाई सामुदायिक पुस्तकालय भनिन्छ । यस्ता पुस्तकालय सञ्चालन गर्न सम्बन्धित निकायले नै स्रोत जुटाएको हुन्छ । सामुदायिक पुस्तकालयमा जोसुकैले सदस्यता लिएर वा नलिई पनि सूची अनुसारका पुस्तक वा पत्रपत्रिका पढ्न सक्छन् । नेपालमा एक हजारको हाराहारीमा सामुदायिक पुस्तकालय रहेका विभिन्न तथ्याङ्कहरूले देखाएका छन् ।
स्रोत र साधनको अभावमा सामुदायिक पुस्तकालयको अवस्था जीर्ण बन्दै गएको छ । नेपालमा विश्वेश्वरप्रसाद कोइराला र मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला मात्र सामुदायिक पुस्तकालयका लागि बजेट छुट्याएको चर्चा हुने गरेको छ । नेपालका सामुदायिक पुस्तकालयहरू केही पुस्तकप्रेमी र अध्ययनमा रुचि राख्ने व्यक्तिका पहलमा खुलेका छन् ।
केही पुस्तकालयहरू दान, चन्दा वा देउसी–भैलोबाट रकम सङ्कलन गरी सञ्चालनमा आएका छन् । केही सामुदायिक पुस्तकालयहरू कुनै व्यक्ति–विशेषको स्मृतिमा उनका आफन्तद्वारा पनि सञ्चालनमा आएका छन् । सामुदायिक पुस्तकालयहरूको साझा समस्या भनेको स्थापनाकालमा पुस्तकालय खोल्ने बेलामा जति उत्साह, समर्पण र लगनशीलता थियो, कालान्तरमा त्यो ह्रास भएर गएपछि धेरै पुस्तकालय नाममा मात्र सीमित भएका छन् ।
३. ई–पुस्तकालय
यस्ता किसिमका पुस्तकालयमा पुस्तक, पत्रपत्रिकालगायत कुनै पनि किसिमका परम्परागत कागजी सामग्री हुँदैनन् । त्यहाँ इन्टरनेटजडित थुप्रै कम्प्युटर र तिनका माध्यमबाट प्राप्त हुने डिजिटल अध्ययन सामग्री मात्र हुन्छन् । पुस्तकालयका सदस्यहरू आएर तिनै कम्प्युटरबाट पुस्तकालयको ई–रिसोर्सेस डाटाबेसमा भण्डारण गरी राखिएका ई–बुक्स, ई–जर्नल, ई–म्यागेजिन, ई–न्यूजपेपर आदि अध्ययन गर्न सक्छन् ।
पहिलो बूकलेस पब्लिक लाइब्रेरीको स्थापना सन् २०१३ मा अमेरिकामा भएको थियो, जसमा विद्यार्थी, ज्येष्ठ नागरिक र बालबालिकाका लागि समेत पाठ्यसामग्री राखिएका थिए । विशेषगरी त्यस्ता पुस्तकालय शैक्षिक संस्थाहरूमा स्थापना गर्ने गरिएको पाइन्छ ।
त्रिभुवन विश्वविद्यालयले पनि पछिल्लोपटक आङ्गिक क्याम्पसहरूमा ई–पुस्तकालयको स्थापनामा बढी जोड दिएको पाइन्छ । त्रिविका विभिन्न क्याम्पसमा यस्ता पुस्तकालय सञ्चालनमा आइरहेका छन् । यस्ता पुस्तकालयमा असङ्ख्य पुस्तकहरू राख्ने ठूलो ठाउँको आवश्यकता पर्दैन । पुस्तकालय व्यवस्थापन र सञ्चालन गर्न धेरै कर्मचारीको आवश्यकतासमेत पर्दैन ।
पुस्तकालयको उपयोग
पुस्तकालय एक बहुउपयोगी ज्ञान केन्द्र वा भण्डार भएपनि यसलाई मुख्यरूपमा निम्नानुसार उपयोग गर्न सकिन्छ–
पुस्तकालयमा उपलब्ध हुने पुस्तक, कम्प्युटर तथा अन्य विद्युुतीय स्रोतमार्फत आधुनिक सूचनाप्रविधिको क्षेत्रमा आफ्नो ज्ञानको पहुँच बढाउन सकिन्छ ।
पुस्तकालयमा उपलब्ध हुने विभिन्न पुस्तक, पत्रपत्रिका, श्रव्यदृश्य आदि स्रोत सामग्रीको अध्ययन अवलोकन गरी आफ्नो रुचि अनुसार ज्ञान र सीपको परिधिलाई बढाउन सकिन्छ ।
पुस्तकालयमा उपलब्ध स्रोत सामग्रीको प्रयोग गरेर विद्यार्थीले विद्यालय र कलेजबाहेकको फुर्सदको समयलाई सदुपयोग गर्न सक्छन् ।
पुस्तकालयमा उपलब्ध साधन र स्रोतको माध्यमबाट आफ्नो कला, सीप र क्षमता अभिवृद्धि गर्न सकिन्छ ।
पुस्तकालयलाई अध्ययनशील साथीहरू भेट्ने र अध्ययन गर्ने समुचित स्थलको रूपमा प्रयोग पनि गर्न सकिन्छ ।
विभिन्न समयमा पुस्तकालयका प्रयोगकर्ताहरूबीच आफूले अध्ययन गरेका पुस्तक, लेख, रचना आदि बारेमा छलफल गर्ने थलोको रूपमा पनि पुस्तकालयलाई प्रयोग गर्न सकिन्छ ।
ऐतिहासिक पुस्तक, लेख, रचना आदिको अभिलेख र संरक्षणका लागि पनि पुस्तकालयको उपयोग गर्न सकिन्छ ।
परीक्षा तयारीका लागि पनि पुस्तकालयको उपयोग गर्न सकिन्छ ।
यसरी पुस्तकालयलाई खोज, अध्ययन र स्रोतको रूपमा बहुउपयोग गर्न सकिन्छ । यसको उपयोगिताको व्याख्या गरेर कहिल्यै सकिन्न । तसर्थ सदाचार र ज्ञान आर्जन गर्न आफ्नो समुदाय, विद्यालय र कलेजमा रहेका पुस्तकालयको सदुपयोग गर्न आवश्यक छ ।
पुस्तकालयको गौरवपूर्ण इतिहाससँगै हाल आएर समयले परिवर्तन पनि ल्याएको छ । सूचना प्रविधिको क्षेत्रमा दैनन्दिन भइरहेका कल्पनातीत विकासले पुस्तक र पुस्तकालयको अस्तित्व हराउँदै जाने चर्चा चल्न थालिसकेको आजको समय–सन्दर्भमा पनि विभिन्न स्थानमा (शैक्षिक तथा सामुदायिक स्तरमा) पुस्तकालय स्थापना र सञ्चालन भइ नै रहेका छन् । पुस्तकालयलाई पूर्ण भौतिकरूपमा मात्र सञ्चालन नगरेर समयसापेक्षरूपमा सूचना प्रविधिलाई पनि प्रयोग गरी भौतिक र भर्चुअलरूपमा प्रयोग योग्य बनाउनाले नै पुस्तकालयको प्रयोग घटेको छैन, विस्तार भइरहेको छ ।
अतः भएका पुस्तकालयहरूलाई व्यवस्थित गर्नका लागि सम्बद्ध पक्षको ध्यान जान जरुरी भएको छ । जसबाट पठन संस्कृतिको थप विकास हुँदै जाओस् । वैज्ञानिक शिक्षा र स्वदेशमैं रोजगार पाउने नीति राज्यले मुख्य मुद्दाको रूपमा अगाडि सार्नुपर्छ । पठनपाठनको जिम्मेवारी सकिएपछि विद्यार्थीहरूलाई रोजगारको व्यवस्था स्वदेशमा नै गर्नुपर्छ अनि मात्रै शिक्षाबाट आफ्नो देश र समाजको विकास समृद्धि सम्भव हुनेछ । होइन भने शैक्षिक जनशक्तिको हातहातमा राहदानी थमाएर कहिले पनि देश समृद्ध र विकसित हुनेछैन भन्ने कुरा सरोकारवालाहरूले बुझ्न निकै ढिलो भइसकेको छ ।