प्रस, वीरगज, १४ भदौ/

यादगार बचत तथा ऋण सहकारी संस्था रानीघाटले बचतकर्ताहरूको लाखौं रूपैयाँ लिएर बेपत्ता भएको सात महीना बितेको छ तर यो बीचमा प्रहरी प्रशासनले बचतकर्ताहरूको रकम फिर्ता गर्न सकेको छैन भने उल्टो सहकारीका सञ्चालकहरूले दिएको मिटरब्याजी सम्बन्धी कसूरमा निजहरूको पक्षमा वकालत गर्दै आएका देखिएको छ । यादगार बचत तथा ऋण सहकारी संस्था रानीघाटका सञ्चालक सदस्यहरू बलराम साह, दिलीपकुमार साह र राहुल बैठाले जिल्ला प्रशासन कार्यालय, पर्सामा पकहामैनपुर गापा–२ मणिपुर निवासी सुनील पाण्डेविरूद्ध मिटरब्याजीमा मुद्दा दायर गरेका र उनीहरूको मुद्दामा सुनवाइ भइरहेको जिप्रका, पर्साका सूचना अधिकारी सप्रजिअ भीमकान्त पौडेलले बताए ।

पकहामैनपुर–२ मणिपुर निवासी सुनील पाण्डेविरूद्ध यादगार सहकारी सञ्चालक सदस्य बलराम साह, दिलीपकुमार साह, राहुल बैठाले उजूरी गरेका जिल्ला प्रशासान कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनले मिटरब्याजमा योजनाबद्ध तरीकाबाट उजूरी गरिएको र सो विषयमा छलफल चलिरहेको बताए । यादगार सहकारीको नाममा ४० लाख र पटकपटक गरी सहकारीका कोषाध्यक्ष बलिराम साह र कर्मचारी दिलीप साह तथा राहुल बैठाले गरी एक करोड तीन लाख २०७९ सालमा सापटी लिएको पाण्डे बताउँछन् ।

सोही रकमबापत सहकारीले ९७ लाख, दिलीपले ३१ लाख र राहुलले १५ लाखको चेक पाण्डेलाई दिएका थिए । ती चेकहरू बैंकबाट ब्यालेन्स नभएपछि पाण्डेले उनीहरूविरूद्ध चेक अनादरमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको बताउँछन् । पाण्डे दुग्धदेश्वर सहकारीका अध्यक्ष पनि हुन् । यसबीचमा मिटरब्याजीको मुद्दा शुरू भएपछि पाण्डेविरूद्ध उनीहरूले मिटरब्याजीमा मुद्दा दायर गरेको हुन् र यही विषयमा अहिले प्रशासनमा छलफल जारी रहेको बताइन्छ । यादगार सहकारीका सञ्चालक सदस्यहरूले मिटरब्याजीमा पाण्डेविरूद्ध मुद्दा दायर गरेकामा प्रशासनले छलफल गराइरहेको छ भने तिनै सञ्चालक सदस्यहरूले सात सय सेवाग्राहीको दश करोड बढी रकम फिर्ता नगरेको सन्दर्भमा भने प्रशासन मौन छ ।

यादगार सहकारी सात महीनादेखि बन्द छ, सञ्चालकहरूमा अध्यक्ष राहुल सिंह, उपाध्यक्ष अर्र्जुन पटेल, कोषाध्यक्ष बलिराम साह, सचिव सोनु साह, सदस्यमा राजु गुप्ता, बलराम यादव, शान्ति चौधरीलगायत छन् । उनीहरू बचतकर्ताहरूदेखि भाग्दै हिंडेका छन् भने अहिले कार्यालयको बोर्डसमेत हटाइएको छ । बचतकर्ताहरू भने आफ्नो रकमका लागि दैनिक जिल्ला प्रहरी कार्यलय, पर्सा र वीरगंज महानगरपालिका कार्यालयमा धाइरहेका छन् ।

सो सहकारीको मुद्दतीमा रू २० लाख जम्मा गरेका वीरगंज–१५ भिस्वा निवासी शत्रुघ्न कुशवाहाले आफ्नो मुद्दतीको रकम लेखापाल शान्ति चौधरीको कम्प्युटर आइडीबाट निकालिएको पाएको बताए । सहकारीका कर्मचारीले नै लेखापाल चौधरीको कम्प्युटर आइडीबाट निकालेको जानकारी गराएको बताए । चौधरी सहकारीका अध्यक्ष राहुल सिंहकी पत्नी हुन् । अहिले दुवैजना बेपत्ता छन् । सोही सहकारीमा मुद्दतीमा रू १४ लाख जम्मा गरेका कृष्ण साह पनि दैनिक रकमका लागि धाइरहेका तर कहींकतैबाट पाउने आशा नदेख्दा निराश भएको बताउँछन् । वीरगंज, मुर्ली निवासी समसाद अहमद अन्सारीले यादगार सहकारीसँग पाँच वर्षदेखि कारोबार गर्दै आएका र अहिले दुई लाख ६८ हजार बचत लिन बाँकी रहेको बताएका छन् । सहकारीमा अध्यक्ष सिंह र लेखापाल उनकी पत्नीको इशारामा आर्थिक कारोबार हुने गरेको थियो । अहिले केही बचतकर्ताहरूलाई अध्यक्षको इशारामा डर, धाक, धम्की दिने काम भइरहेको बुझिन आएको छ । प्रहरीले बचतकर्ताहरूलाई धम्क्याउने कार्य भएको भनी उजूरी परेको र यसबारेमा छुट्टै मुद्दा चलाउने तयारी भइरहेको बताए । पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले ठगिएकाहरूले दिएका उजूरीका आधारमा ठगीसम्बन्धी मुद्दा दायर गर्ने पर्याप्त प्रमाण नरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here