नेपालका पशुपालन कृषकहरू लम्पी स्किन रोगको महामारीबाट पीडित छन् । लम्पी स्किन गाई र भैंसीमा लाग्ने भाइरल रोग हो । छालामा मसिना फोकाहरू देखिने यस भाइरस अन्तर्राष्ट्रियस्तरमा नै फैलिएको हो । यस रोगले दूध उत्पादनमा कमी, छालामा क्षति, वस्तु व्यापारमा प्रतिबन्ध, गर्भपतन, बाँझोपन, उपचार, चौपायाको मृत्युलगायतका कारणले पशुपालन क्षेत्रमा ठूलो आर्थिक क्षति पुर्याएको छ । यो रोग पहिलोपटक सन् १९२९ मा जाम्बियामा पहिचान भएको थियो । यसको उत्पत्ति मध्य अफ्रिकाबाट मध्यपूर्व, युरोप र एशियामा सन् २०१३ देखि तीव्र गतिमा फैलिएको हो । हाम्रो छिमेकी मुलुक भारतले पहिलोपटक सन् २०१९ मा उडिसा राज्यमा फेला परेको प्रमाणित गरेको थियो । नेपालको अलावा बङ्गलादेश, चीन, भुटान, म्यानमा, श्रीलङ्का, पाकिस्तानमा पनि गाईभैंसीमा लम्पी स्किन प्रकोप देखिएको छ । यो रोग अहिले विश्वका अधिकांश मुलुकमा छ ।

हाम्रो मुलुकका ७७ मध्ये ७६ वटा जिल्लामा लम्पी स्किन महामारी फैलिसकेको छ । उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि आक्रामक कदम चाल्न नेपाल पशु चिकित्सा परिषद्ले नेपाल सरकारलाई पटकपटक आग्रह गरेको थियो । यही रफ्तारमा रोग फैलने हो भने हाम्रो मुलुकका करीब २५ लाख २६ हजार पशु सङ्क्रमित हुनेछन् । यसबाट अनुमानित एक लाख गाईभैंसी मर्नेछन् । यसबाट झन्डै एक खर्ब २६ अर्ब रूपैयाँ बराबरको आर्थिक क्षति हुने देखिएको छ । यति ठूलो क्षति रकम नेपालको चालू आवको कुल बजेटको ७.२ प्रतिशत हो । हाम्रो मुलुकमा अहिले ३० हजारभन्दा बढी गाईभैंसीको मृत्यु भइसकेको छ । पशु चौपायामा हुने क्षतिको अभिलेख राख्न थालिएयता नेपालमा गाईवस्तुमा यो तहको महामारी र त्यसले पारेको यो दोस्रो ठूलो असर हो । यसअघि करीब आठ दशक पहिले सन् १९४० को दशकमा गाईवस्तुमा फैलिएको गगौटी रोगको महामारीले ठूलो क्षति पुर्याएको थियो । खुर हुने चौपायामा लाग्ने उक्त भाइरल रोग अहिले उन्मूलन भइसकेको छ ।

सामान्यतया लम्पी स्किन सङ्क्रमणको कारक, गाईभैंसीको कानूनी वा गैरकानूनी आवागमन तथा ओहोरदोहोर वा चहलपहल नै हो । पछिल्लो अध्ययन अनुसार मुलुकका कुल गाईभैंसीमा लम्पी स्किनबाट बिरामी हुनेको अनुपात १० देखि २० प्रतिशत छ । बिरामी भएकामध्येमा मृत्युदर एकदेखि पाँच प्रतिशत छ । लम्पी स्किन सङ्क्रमणमा मौसमको पनि भूमिका रहन्छ । ओसिलो मौसममा यो रोग बढी सङ्क्रमण हुने पाइएको छ । पशु चौपायाको छाला, छालाजन्य कपडा तथा सामग्रीको ओसारपोसार पनि लम्पी स्किन सङ्क्रमणको माध्यम मानिएका छन् । लम्पी स्किन प्रभावित देशहरूमा उत्पादित कुनै पनि पशुजन्य उत्पादनहरू मासु, दूध वा छालाबाट सो उत्पादन आयात गर्ने मुलुकमा रोगको सङ्क्रमण भएको कुरा अध्ययनले देखाएको छ । यो रोग तीन वर्षअघि मोरङ जिल्लाको सुन्दरहरैचामा गाईमा देखा परेको थियो । लम्पी स्किनले दुई वर्ष पहिले विसं २०७९ चैतबाट महामारीको रूप लिएको हो । हाल मुलुकका सातवटै प्रदेश र ७६ वटा जिल्लामा लम्पी स्किनका सक्रिय सङ्क्रमित पशु फेला परेका छन् । सीमान्तकृत गरीब, साना र आफ्नै बलबुताले खेती गर्ने किसानहरूलाई यसको प्रत्यक्ष असर परेको छ । प्रारम्भमा सरकारले सचेतना फैलाउन र सङ्क्रमण हुन सक्ने क्रियाकलापलाई नियन्त्रण गर्ने उपाय अवलम्बन गरेन । अहिले पीडित किसानहरूका लागि राहत कार्यक्रम लागू गर्ने कार्यविधि सरकारले टुङ्ग्याउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here