प्रस, पर्सागढी, ९ भदौ/
दुई दिनदेखिको लगातार परेको झरीका कारण किसानहरूमा खुशियाली छाएको छ भने गरीबहरूलाई भने समस्या सिर्जना भएको छ ।
अहिलेको वर्षाका कारण किसानले लगाएका धानबालीलाई निकै फाइदा पुगेको छ । रोपाइँको समयमा पानी नपर्दा किसानहरूले निकै कठिनाइ भोग्नुपरेको थियो । आकाशे वर्षा नभएको, गण्डक नहरमा पानी नआएको तथा सिंचाइका अन्य विकल्पका रूपमा डीप बोरिङ र कुलो आदिबाट वञ्चित बझियानका किसानहरू अहिले निकै खुशी भएका छन् ।
थरुहट क्षेत्रमा भने सिंचाइका वैकल्पिक व्यवस्था भएकाले आकाशे वर्षा नहुँदा थोरै मात्र किसानलाई अप्ठेरो परेको थियो । आकाशे सिंचाइ नहुँदा वैकल्पिक सिंचाइ जति गरे पनि धानबाली सप्रँदैन तर अहिले झरीका कारण धानबालीलाई निकै फाइदा पुगेको किसानहरूले बताएका छन् । सिंचाइ अभावमा किसानहरूले जेनतेन रोपाइँ गरे पनि विभिन्न रोगका कारण उनीहरूले समस्या भोग्नुपरेको थियो । गाज सुक्ने, धानको डाठ नबढ्ने, ब्लास्ट रोग लाग्ने र कीराको प्रकोप बढेर किसानहरूले समस्या बेहोर्दै आएका थिए ।
अहिलेको आकाशे पानीले धानको बाला सप्रने किसानहरूले बताए । अहिले अगहनी र सोना मन्सुली धान लगाएका किसानहरूलाई निकै फाइदा पुगेको बताइन्छ । पर्सा जिल्लामा सोना मन्सुली धानको खेती बढी हुने गरेको छ ।
किसानलाई झरीले फाइदा पुगे पनि गरीबहरूको भने समस्या बढेको छ । फुस र खपडाका घर हुनेहरूलाई खासगरी समस्या भएको बताइन्छ । झरीका कारण फुसको छानो चुहिने, टाठीहरू भासिएर झर्ने, खपडाको घर भएकाहरूको पनि टाठीहरू मक्किने गरेको छ । पर्सागढीका दलित परिवारहरूको अहिले झरीका कारण बिजोग बढेको छ । फुसको घर भएकाहरू अहिले जङ्गली क्षेत्रबाट जनावरहरू आएर क्षति पु¥याउने हो कि भनेर डराएका छन् । दलित परिवारहरू दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्छन् । झरीले घरको बिजोग छ, कसरी कमाउन जाने र के खाने भन्ने समस्याले आफूहरूलाई पिरोलेको पर्सागढी नपा–३ दलितबस्तीका बासिन्दाहरू बताउँछन् ।