प्रस, बिरुवागुठी, ९ भदौ/
असार महीनादेखि शुरू भएको आँखा पाक्ने रोग आइफ्लूको सङ्क्रमणमा अहिले केही कमी आएको छ ।
पर्सागढी नगरपालिकालगायत पर्साका ग्रामीण भेगमा बढी सङ्ख्यामा बालबालिका देखा परेका र प्रत्येक उमेर समूहका मानिसहरूको पनि आँखा पाक्ने समस्या थियो । आइफ्लू सङ्क्रमणको विस्तारमा अहिले भने केही कमी आएको नेत्र विशेषज्ञहरू बताउँछन् । मौसममा आएको परिवर्तनका कारण आइफ्लूका बिरामीहरूको सङ्ख्यामा कमी आएको उनीहरूको भनाइ छ । अहिले नियमितरूपमा पानी पर्दा यो रोगको सङ्क्रमण घट्दै गएको पनि उनीहरूले बताए ।
बडनिहार आँखा तथा दन्त अस्पताल प्रालिका नेत्ररोग विशेषज्ञ दीपक यादवले चार/पाँच दिनदेखि आइफ्लूका सङ्क्रमितहरू घटेको बताए । उनले पहिलेको तुलनामा अहिले बिरामीहरूको क्लिनिकमा कम आउने गरेको बताए । यसअघि आइफ्लूका बिरामीहरूका कारण क्लिनिकमा भीड हुने गरेको तर अहिले भने भीड पातलिंदै गएको यादवले बताए । बढ्दो गर्मीका कारण यो वर्ष आइफ्लूका बिरामीको सङ्ख्या वृद्धि भएको र अहिले वर्षा शुरू भएसँगै बिरामीको सङ्ख्या घटेको उनले बताए ।
उनले आइफ्लूका लक्षणहरूमा आँखा चिलाउने, रातो हुने, पानी बग्ने, घाममा हेर्न असजिलो हुने जस्ता लक्षणहरू देखा पर्ने र यस्ता बिरामीहरूले चिकित्सकीय परामर्शमा मात्र औषधोपचार गर्नुपर्ने यादवले सुझाए ।
उनले तत्काल यो रोगमा कमी आए पनि सावधानी अपनाउन भने आग्रह गरे ।