प्रस, वीरगंज, ८ भदौ/
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूले राम्रो काम मात्र गरेर नाम कमाउने बताएका छन् । चार दलीय समाजवादी मोर्चाद्वारा शुक्रवार वीरगंजमा आयोजना गरिएको सन्देशसभामा प्रधानमन्त्री प्रचण्डले जनताले सम्झना राख्ने गरी राम्रो काम गर्ने र ढुक्कले मर्ने चाहना रहेको बताए ।
उनले देशमा यसअघि भएका क्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान रक्षाको लागि समाजवादी मोर्चा गठन भएको बताए । उनले संविधानविपरीत पटकपटक संसद् विघटन गर्नेले अहिले सरकारले केही गर्न नसकेको भनेर आरोप लगाउनु हास्यास्पद भएको बताए ।
सुशासन, समृद्धि, सामाजिक न्याय अन्तर्गत भुटानी शरणार्थी, ललिता निवास, सुन पक्राउ, नागरिकता ऐन संशोधन, नेपाल–भारतबीचको सीमा विवाद, अवरुद्ध विद्युत् परियोजना, सामाजिक सुरक्षा कोष, विदेश जानेहरूको गाउँबाटै श्रम स्वीकृति, फास्ट ट्र्याक, निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाएको सरकारले केही गरेन भनेर टीकाटिप्पणी मात्र गर्नु मूर्खताबाहेक केही नभएको र यी सबै कुरा जनताले बुझेको तर्क गरे ।
उनले समाजवादी मोर्चा बनेपछि केही नेताहरूको होश उडेको बताए । उनले केही व्यक्तिहरू सरकार ढाल्ने कसरतमा लागेको आरोप लगाए । उनले उपेन्द्र यादव, नेत्रविक्रम चन्द विप्लव क्रान्तिबाट आएकाले एउटै उद्देश्य रहेको र माधव नेपाल पनि कार्यगत एकतासहित हिंडेकाले मोर्चाको सरकार ढल्ने दिवास्वप्न नहेर्न सुझाए । उनले मोर्चामा नेका नभए पनि सभापति शेरबहादुर देउवाको राय परामर्श लिएर मोर्चाले काम गरिरहेको बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानमा उल्लिखित मौलिक अधिकारका कुरा अहिलेसम्म लागू हुन नसक्नु पछिल्ला सरकारको दोष रहेको बताए । उनले संविधानको रक्षा र जनताको अधिकारको सुरक्षा गरेर अगाडि बढ्नु नै मोर्चाको उद्देश्य भएको दाबी गरे ।
समाजवादी मोर्चाका अर्का नेता जसपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संविधानमा असन्तुष्टि जनाए । उनले संविधानतः प्रदेश गठन भएको तर अधिकारबाट वञ्चित पारिएको आरोप लगाए । उनले संविधानले प्रदेशलाई सबैथोक दिएको छ तर प्रदेशसँग केही पनि छैन । उनले यो अधिकारबाट खसवादीहरूले वञ्चित राखेको दोष लगाए । उनले मधेस प्रदेशमा कुल जनसङ्ख्याको ५३ प्रतिशत जनता भएको तर कुल बजेटको १३ प्रतिशत मात्र बजेट विनियोजनले भेदभाव प्रस्ट हुन्छ भनी बताए । उनले संविधानलाई पूर्णरूपमा लागू गराउनकै लागि समाजवादी मोर्चा गठन भएको र सडक, सदन दुवै स्थानबाट दबाब सिर्जना गरी संविधानको पूर्ण पालना गराउने दाबी पनि गरे ।
मोर्चाको अर्को घटक नेकपाका संयोजक नेत्रविक्रम चन्द विप्लवले लामोे क्रान्तिपछि देशमा परिवर्तन आएको र त्यसपछि बनेको संविधानको रक्षा गर्नु अहिलेको मूल समस्या भएको जिकिर गरे । उनले वर्तमान संविधानमाथि चौतर्फी प्रहार भइरहेको र यसको रक्षार्थ समाजवादी मोर्चा बनेको बताए ।
जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबू यादवको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दीले गरेका थिए ।