भेन्डिङ मेशीन
अमेरिकी जीवनशैलीको चर्चा गर्ने हो र बिक्री–मेशीन (Vending Machine) को चर्चा नगर्ने हो भने त्यो चर्चा अपूरो मानिनेछ किनभने बिक्री मेशीन अमेरिकी जीवनशैलीको एक अभिन्न अङ्ग हो । अभिन्न अङ्ग यस हुनाले हो किनभने बिक्री मेशीनको प्रयोग अमेरिकामा व्यापकरूपमा हुन्छ । बिक्री मेशीन अमेरिकामा अति लोकप्रिय पनि छ । बिक्री मेशीनको सेवा सर्वसुलभ किसिमले जहाँ पनि उपयोग गर्न सकिन्छ । बिक्री मेशीनबाट ठूलो सङ्ख्यामा सामान खरीद–बिक्री हुन्छ ।

बिक्री मेशीन एउटा यस्तो मेशीन हो, जुन स्वयम् सञ्चालित हुन्छ । अर्थात् त्यो मेशीनले नै सामग्रीहरू बिक्री गर्छ । सामानहरू बिक्री गर्नका लागि कामदार राख्नुपर्दैन । यस कारणले गर्दा बिक्री मेशीन जहाँ पनि राख्न सकिन्छ । बिक्री मेशीनबाट जुन समयमा, अति बिहानै वा मध्यरातमा पनि सामान खरीद गर्न सकिन्छ ।

बिक्री मेशीनको आकार प्रायः एउटा दराजजस्तो हुन्छ । त्यसको ढोका सीसाको हुन्छ । ढोका सीसाको भएकोले त्यसभित्र बिक्री गर्नका लागि के के राखिएका छन्– परबाट, बाहिरबाट, सजिलै देख्न सकिन्छ । र साथै सामानको मूल्य पनि हेर्न सकिन्छ । बिक्री गर्न राखिएका हरेक वस्तुको तल वा छेउमा त्यसको मूल्य लेखिएको हुन्छ ।

बिक्री मेशीनबाट सामान खरीद गर्ने खरीदकर्ताले तोकिएको मूल्य बिक्री मेशीनको तोकिएको स्थानमा राखेपछि खरीद गर्ने सामान मेशीनको तल्लो भागमा झर्छ । नगद भुक्तान गरेर वा क्रेडिट कार्ड प्रयोग गरेर खरीद मेशीनबाट सामान खरीद गर्न सकिन्छ । क्रेडिट कार्ड प्रयोग गरेर सामान खरीद गर्दा तोकिएको स्थानमा क्रेडिट कार्ड राख्नुपर्छ, कुन सामान खरीद गर्न खोजेको हो जानकारी दिनुपर्छ, यति गरेपछि तोकिएको पैसा क्रेडिट कार्डबाट लिएर खरीद मशीनले सामान दिन्छ ।

चकलेट, चिप्स, पेय पदार्थलगायत अन्य विभिन्न सामग्रीहरू बिक्री मेशीनबाट बिक्री गरिन्छ । कुनै विक्रेता नराखेर, चौबीसैं घण्टा नै सेवा दिनुपर्ने स्थिति भएमा, र केवल सामान्य वस्तुहरू मात्र बिक्री गर्नुपर्ने स्थिति छ भने, बिक्री मेशीनको प्रयोग अति लाभदायक हुन्छ । बिक्री मशीन स्वयम् सञ्चालित हुने र जहाँ पनि राख्न सकिने हुनाले उपभोक्ताले जहाँ र जुन समयमा माग गरे पनि सामान उपलब्ध गराउन सकिने हुनाले बिक्री मेशीनको प्रयोग व्यापक किसिमले हुन्छ ।

सञ्चालकले बिक्री मशीन खरीद गर्दा केवल एकपटक खर्च (लगानी) हुने र सञ्चालन गर्नका लागि कामदार राख्नु नपर्ने र बढी मानिसको आवागमन हुने स्थान (बसपार्क, रेलवे स्टेशन, पार्क, सिनेमा हल, कलेज, अपार्टमेन्ट, अति व्यस्त सडक, ठूलो भवन) आदिमा राख्न सकिने हुनाले बिक्री मशीनको व्यापार लाभदायक मानिन्छ । साथै रातबिरात, उपभोक्ताले माग गर्नासाथ, माग गरिएको स्थान आदिमा सामग्री उपलब्ध गराउन सकिने हुनाले बिक्री मशीनबाट गरिने व्यापार नाफामूलक मानिन्छ ।

एउटा विक्रेताले १०औंवटा बिक्री मशीन राखेर, बिक्री मशीनहरू जहिले पनि सामानहरूले भरिभराउ पारेर, ग्राहकले जुन समय (रातभरि)मा माग गरेका छन्, सोही समयमा तत्काल सामान उपलब्ध गराएर, सामानको मूल्य सस्तो पारेर, यो व्यवसायबाट राम्रो आम्दानी प्राप्त गर्न सक्छ ।

अमेरिकामा बिक्री मशीनको क्षमता अनुसार विभिन्न मूल्यको बिक्री मशीन खरीद गर्न सकिन्छ । एउटा बिक्री मशीन खरीद गर्दा खरीदकर्ताले तीन हजारदेखि सात हजार अमेरिकी डलरसम्म भुक्तान गर्नुपर्ने हुन सक्छ । महँगो बिक्री मशीनलाई ५० हजार डलरसम्म पनि भुक्तान गर्नुपर्ने हुन सक्छ ।

बिक्री मशीनले अमेरिकामा बिक्री कार्यलाई अति नै सजिलो पारिदिएको छ । साथै उपभोक्ताले माग गरेको जुनसुकै स्थान एवं समयमा वस्तुहरू विनाझन्झट खरीद गर्न सक्ने अवस्था पनि सिर्जना गरिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here