• राजेश मिश्र
“फेरि कहाँ आउँछ र यो बालपनको उमेर…,
केही छैन चिन्ता केही छैन पीर,
खुला अकाशको पक्षीझैं घुम्छु चारैतिर…”
उपरोक्त गीतझैं उनको बालपन थियो । समयको प्रवाहसँगै उमेर, शारीरिक बनावट, पहिरन, शिक्षा, ज्ञान र अनुभव आदि घडीको सुईझैं गतिमान थियो । जीवनयात्रामा वैवाहिक घुम्ती आयो । पञ्चेबाजाको ध्वनि गुञ्जायमान भयो । रातो सारी, सिउरोमा सिन्दूर, हातमा मेहदी तथा चुरा, गलामा मङ्गलसूत्र तथा पोते र मुहारमा मधुर मुस्कानसहित पतिको घर प्रस्थान गरिन् ।
विवाहपश्चात् माइती, दिदीबहिनी, दाइभाइ तथा साथीसङ्गीहरूको सानिध्य छुट्यो । बरहथवा बजारकोे पकौडा, चटपटे, पानी पुरी र सेवईको स्वादसँगै अनेकौं सुमधुर पलहरू स्मृतिपटलमा सजाएर वैवाहिक जीवनयात्रा शुभारम्भ भयो ।
आजको आलेखमा एक महिलाको सङ्घर्षका कथाहरू समेटिएको छ । उनी आफ्नो व्यवसायसँगै सामाजिक सेवालाई सर्वोपरि ठान्छिन् । व्यवसायबाहेकको समय विभिन्न सङ्घसंस्थामा आबद्ध भएर सेवाप्रवाह गरिरहेकी छन् । विभिन्न सङ्घसंस्थाद्वारा प्राप्त सम्मानले उनमा जिम्मेवारी र ऊर्जा थप भएको बताउँछिन् । घरमा प्रायःजसो भवगती नामले सम्बोधन गरिने सौन्दर्यकर्मी ओमकुमारी शर्माको सङ्घर्षपूर्ण जीवनयात्रा ।
हामी पतिपत्नी निजी विद्यालयमा शिक्षण पेशामा थियौं । त्यति बेला ग्रामीण क्षेत्रमा अङ्ग्रेजी माध्यमका विद्यालयहरू खासै थिएनन् । हामीले होस्टलको सुविधासहित आफ्नै बोर्डिङ स्कूल खोल्ने अठोट ग¥यौं । अन्ततः सङ्कल्प पूरा भयो । कक्षा पाँचसम्म थियो । शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीहरूको साथ सहयोगले विद्यालय राम्रोसँग सञ्चालन भइरहेको थियो । खान, लाउन समस्या थिएन । झन्डै पाँच वर्षपछि गृहनगर नेपालगंज फर्किनुपर्ने बाध्यता आइप-योे । परिश्रम गरेर खडा गरेको विद्यालय बिक्री गर्नुको विकल्प थिएन ।
छोराछोरीसहित हाम्रो जीवनयात्रा नेपालगंज अग्रसर भयो । नेपालगंजको धर्तीमा बेरोजगार जीवनशैली प्रारम्भ भयो । आम्दानीको स्रोत थिएन । समय बित्दै गयो र बचत गरेको पैसा खर्च हुँदै गयो । पैसा बिस्तारै सकिन थाल्यो । केही समयपछि पति निजी विद्यालयमा र म गैरसरकारी संस्थामा काम गर्न शुरू ग¥यौं । न्यून तलब थियो । घरखर्च धान्न कठिन थियो । ‘आम्दानी अठन्नी र खर्चा रुपैयाँ’को अवस्था थियो । नेपालगंजमा रोजगारका बृहत् विकल्प थिएनन् । के गर्ने ? कसो गर्ने ? भन्दै हामीबीच विमर्श भयो र वीरगंज फर्किने निधो ग¥यौं । नेपालगंज गएको दुई वर्षपछि वीरगंज फर्कियौं । खल्ती रित्तो थियो । बस्ने कोठा, भाँडाकुँडा, खाद्यान्न र बच्चाहरूलाई विद्यालयमा भर्ना आदि अनेकथरी बन्दोबस्त गर्नुपर्ने भयो । पुनः बोर्डिङ स्कूल सञ्चालन गर्ने आर्थिक क्षमता थिएन ।
जसोतसो गरी बच्चाहरूको भर्ना वीरगंजको एक विद्यालयमा गराइयो । पतिले एक निजी विद्यालयमा जागीर पाए । केही महीनापछि म पनि अर्को निजी विद्यालयमा पढाउन थालें । तलब रु तीन हजार प्रतिमहीना पाउँथें । परिश्रमको तुलनामा तलब न्यून थियो । विद्यालय प्रशासनसँग तलब बढाउने अनुरोध गरें । सुनुवाइ भएन । अन्ततोगत्वा, जागीर छाडें ।
आफूले गर्न सक्ने पेशा, व्यवसाय गर्न चाहन्थें । तर सोको लागि सीप र पैसा दुवै आवश्यक थियो । केवल पतिको आयस्रोतले जीवनयापन सङ्घर्षपूर्ण थियो । म यस्तो व्यवसाय गर्न चाहन्थें, जो कम लगानी र व्यक्तिगत परिश्रममा आधारित होस् । तर कुन प्रकृतिको उद्यम गर्ने भन्ने प्रश्न टड्कारो थियो ।
सिलाइकटाइ र सौन्दर्यसम्बन्धी अल्प ज्ञान व्यावसायिक दृष्टिकोणले पर्याप्त थिएन । केही साथीसङ्गीहरूले शृङ्गारको मामिलामा उनीहरूभन्दा मलाई राम्रो जानकारी रहेछ भन्दै हौंस्याउँथे । यद्यपि व्यावसायिक सेवाको लागि तालीम र दक्षता आवश्यक थियो । टेलरिङ र सौन्दर्यमध्ये कुन पेशा ठीक होला भन्ने सोच्न थालें । तर एक सामान्य घटनाक्रमले मेरो निर्णय सौन्दर्य पेशातर्फ एकोहोरियो ।
त्यो घटना के थियो भने एकजना आफन्त महिलाले शृङ्गारसम्बन्धी जानकारी हेतु मसँग जिज्ञासा प्रकट गरिन् । मैले आफूलाई जति थाहा छ, त्यति बताउने कुरा गरें । उनैलाई सिकाइरहेकी थिएँ । ती महिलाभन्दा पनि अन्यजनबाट विविध प्रकारका आलोचना र टीकाटिप्पणी सुन्नुप¥यो । यी कुराहरूले मनमा हठ पैदा भयो । सौन्दर्य विद्यामा दक्षता प्राप्त गर्ने दृढता जागृत भयो । पैसाको अभाव मेरो आकाङ्क्षामा अवरोध बन्न सकेन । पैंचोसापट गरेर सौन्दर्य विद्यामा व्यावसायिक तालीम लिएँ ।
तालीम लिइसकेपछि व्यवसाय सञ्चालन गर्ने रहर उत्पन्न भयो । तर पैसा कहाँबाट आउँछ ? भन्ने प्रश्नले गिज्याइरहेको थियो । एक दिन बिहान स्नानध्यानपश्चात् ऐनाअगाडि उभिएर आफूलाई शृङ्गारिरहेकी थिएँ । अचानक कानमा ध्यान गयो । पङ्खाको हावाले झुम्का हल्लिरहेको थियो । मेरो नजर झुम्कामा केन्द्रित भयो । आश्चर्यजनक खुशीले आँखा रसायो । कहिलेकाहीं कस्तो अचम्म हुँदोरहेछ भने जुगाड आफैसँग हुन्छ, तर हतपती ध्यान जाँदैन । मैले सोचें, ओहो १ आर्थिक सङ्कटको समाधान आफ्नै कानमा पो रहेछ । अन्ततः झुम्का बिक्री गरें । यद्यपि त्यो पैसा व्यवसायको लागि पर्याप्त थिएन । तर आफूसँग जति आर्थिक स्रोत थियो, त्यतिमैं व्यवसाय सञ्चालन गर्ने अठोटका साथ विसं २०६४/६५ ताका व्यावसायिक यात्रा शुरू गरें ।
वीरगंजको रानीघाटमा प्रतिमहीना रु एक हजारमा कोठा भाडा लिएँ । अनिवार्य उपकरण र सौन्दर्य प्रसाधन खरीद गरें । पहिलो महीना बढीजसो सेवाग्राही चिनजानका महिला साथीहरू थिए । पहिलो महीना साढे चार हजारको कारोबार गरें । कोठा भाडा, विद्युत् र सौन्दर्य प्रसाधन आदिको खर्च छुट्याएँ । न्यून बचत भयो । यद्यपि आफैंले खडा गरेको व्यावसायिक यात्रा अति हर्षवद्र्धक थियो । बिस्तारै व्यवसाय गतिमान हुन थाल्यो । सन्तुष्ट सेवाग्राही महिला साथीहरूले अरू साथी लिएर आउँथे वा पठाउँथे । केही समयपछि सौन्दर्य विद्यासम्बन्धी तालीम दिन थालें । थप उपकरण खरीद गरें । तलब सुविधासहित व्यावसायिक सहयोगी राखें । औंठी समारोह, विवाहलगायत समारोहहरूमा दुलही सजावटको कार्यले व्यावसायिक यात्रा उन्नतिपूर्ण थियो । हाँसीखुशी जीवनयात्रा जारी थियो ।
विसं २०७२ को कुरा हो । वीरगंजलगायत देशका विभिन्न भूभागमा भूकम्प र परकम्पहरूले जनजीवन त्रासदीपूर्ण थियो । त्यसै बेला जीवनयात्रामा भुइँचालोभन्दा भयावह बज्रपात प¥यो । जीवनरथका दुई पाङ्ग्रामध्ये एउटा ध्वस्त भयो ।
दैवको लीलाको अगाडि कसको के लाग्छ र १ बाल्यकालमा हिन्दी फिल्म जञ्जीर हेरेर अति भावुक भएकी थिएँ । वास्वविक जीवनमा फिल्मझैं घटना घटित होला भन्ने त्यतिखेर शून्य कल्पना थिएन । जीवनयात्रामा बज्रपातरूपी घुम्तीले अँध्यारो छायो । दुईजना सन्तान र घरव्यवहारको पूर्ण जिम्मेवारी काँधमा आइप¥यो । छोराछोरीको पठनपाठन र घरव्यवहारको सम्पूर्ण भार दुई काँधबाट एक काँधमा सीमित भयो । पतिको देहावसानसँगै चुनौतीपूर्ण जीवनयात्रा प्रारम्भ भयो । त्यति बेला जीवनयात्राको अत्यन्तै मार्मिक र दुःखद घुम्तीमा थिएँ ।
पतिको देहावसानको खबर सुनेर आफन्तजन वीरगंज आउनेक्रम जारी थियो । म किरियापुत्री बसेकी थिएँ । नानाथरीका शब्द र स्वरहरू कानमा ठोकिन्थ्यो । मेरो अर्को बिहे गर्नेसम्मको कुरा आयो । घाउमा नून हाल्ने स्वरहरूले बन्चरो हानेझैं ह्दयमा आघात पुगिरहेको थियो । मेरो र बच्चाहरूको आगामी यात्रापथमा साहस र हिम्मत प्रदान गर्ने स्वरहरू सुन्न पाइनँ । छोरी कक्षा १२ र छोरा कक्षा १० अध्ययनरत थिए । आम मनोविज्ञान बुझ्ने उनीहरूको उमेर भइसकेको थियो । एक दिन छोरीले भनी, “मामु, सबैको कुरा सुन्नुहोला, तर भविष्यको लागि जुन निर्णय उचित हुन्छ, त्यही गर्नुहोला ।”
नश्वर शरीर पञ्चतŒवमा विलीन भइसकेपछि कहिल्यै फर्केर आउँदैन । प्रकृतिप्रदत धु्रवसत्य स्वीकार गर्नुको विकल्प थिएन । समय बित्दै गयो । विभिन्न परिस्थितिसँग जुध्दै जीवनयात्रा जारी छ । आफ्नै उद्यमबाट चुलोचौको चलिरहेको छ । स्नातकोत्तर पढेकी छोरीको गत वर्ष विवाह गरें । हाल छोरी–ज्वाइँ अमेरिका बस्छन् । छोरा भारतको बैंगलोरमा जागीर गरेर सोही आम्दानीले ग्राफिक्स डिजाइन पढिरहेको छ ।
आन्दोलन र कोरोनाकालजस्ता विपत्तिसँग पनि साक्षात्कार भयो । व्यवसाय ठप्प थियो । सौन्दर्य पेशा झन् सङ्कटमा थियो । यद्यपि कुनै पक्षलाई सौन्दर्यकर्मीहरूको सङ्कट दृष्टिगत भएन । वीरगंजबाट प्रकाशित मध्यनेपाल पत्रिकाकी सम्पादक कविता खड्काको गुन बिर्सन सकिंदैन । उनले छोरालाई आफ्नो संस्थामा काम दिइन् । छोराको तलब कोरोना महामारीको बेला सञ्जीवनी साबित भयो । विगत सम्झेर दुःखी हुनुभन्दा वर्तमान र भविष्यको ख्याल गरेर अठोटका साथ अघि बढ्नुपर्छ जस्तो लाग्छ ।
शारीरिक अपाङ्ग छु । तर मेरो अपाङ्गता जन्मकालदेखि चाहिं होइन । पछि भएको हो । झन्डै तीन दशकअघिको कुरा हो । म बरहथवाको सरकारी विद्यालयमा अध्ययनरत थिएँ । जिल्लास्तरीय नृत्य प्रतियोगिता हुने भएको थियो । मसँगै गीता दिदी, सारङ्गा, मन्दिरालगायत बरहथवाबाट हामीहरूले भाग लिएका थियौं । प्रथम हुने अठोटका साथ गुरुले सिकाएझैं नाच्थें । रमाइलो गर्दै र सिक्दै प्रतिस्पर्धा हुने दिन आयो । हामी सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवा पुग्यौं । जिल्लाभरिबाट प्रतिपर्धीहरू आएका थिए । चुनौतीपूर्ण प्रतिस्पर्धा थियोे । मेरो पालो आयो । नृत्य गरिरहेको बेला बेस्सरी लडें । खुट्टाको हड्डी भाँचियो । प्रतिस्पर्धामा दोस्रो श्रेणी र अपाङ्गता लिएर घर फर्किएँ । कतिपय ठाउँमा चेकजाँच भयो । चिकित्सकहरूले पूर्ण निको नहुने बताए ।
बाल्यकालमा रूखबाट अम्बा, आँप र जामुन टिपेर खान खूब रहर लाग्थ्यो । हावाहुरी आउने चाल पाउने बित्तिकै पाइला बगैंचामैं हुन्थ्यो । हावाले उडाउँला भन्दै रूख समातेर पर्खिन्थ्यो । तर भागिन्थेन । फल लिएरै घर फर्किन्थ्यौं । “फेरि कहाँ आउँछ र यो बालपनको उमेर…” गीतझैं बालपन सम्झना गर्न सकिन्छ तर फर्केर आउँदैन ।
सौन्दर्यकर्मी पेशासँगै सामाजिक सेवामा रुचि छ । वीरगंजस्थित मानवसेवा आश्रममा आबद्ध छु । चाडपर्वमा आम जनजीवन रमाइरहेको बेला आश्रममा आबद्ध हामी सेवाकर्मीहरू उद्धार कार्यमा संलग्न रहन्छौं । सडकपेटीमा जीवन बिताइरहेका दीनदुःखीहरूको उद्धार कार्यमा सक्रिय रहन्छौं । चाडपर्वको अवसरमा आश्रमका आमा तथा दिदीबहिनीहरूलाई हामी सौन्दर्यकर्मीहरूको समूहले शृङ्गार, मेहदी आदि सेवा प्रदान गर्छौं ।
मानवसेवा आश्रम, वीरगंजको भवन निर्माण समिति सदस्य, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, मधेस प्रदेशको उपाध्यक्ष तथा वीरगंज नगर कमिटी अध्यक्ष, घरेलु उद्यमी महिला सङ्घ, पर्साको उपाध्यक्ष, वीरगंज उद्योग वाणिज्य सङ्घको आमन्त्रित सदस्य र मञ्जुश्री असहाय संरक्षण केन्द्र, पर्साको सदस्य छु । एकल, असहाय र अपाङ्ग महिलाहरूका लागि निश्शुल्क सौन्दर्य विद्याको तालीम प्रदान गर्दै आइरहेकी छु । मसँग तालीम लिएर पाँच/छ जना महिला अहिले स्वरोजगार भएका छन् ।
‘खाली दिमाग सैतानका घर’ भनेझैं खाली मस्तिष्कमा व्यर्थ चिन्ता अङ्कुरित हुन्छन् । त्यस कारण जीवनशैली व्यस्त हुनुपर्छ । प्रथमतः रोटी (खाना)को लागि रोजी (काम) गर्नुपर्छ । त्यसबाहेकको समय सकेसम्म सामाजिक सेवामा समर्पित गर्नुपर्छ । सक्रिय र व्यस्त दिनचर्या
हुनुपर्छ । सन्तोषम् परम सुखम् भनेझैं जति छ, त्यत्तिकैमा सन्तोष गर्नुपर्छ ।
दृढ सङ्कल्प र पूर्ण क्षमताले सेवाप्रवाह गरी सेवाग्राहीहरूको मन अहिलेसम्म जित्दै आइरहेकी छु । लगनशील भएर काम गर्ने मेरो बानी छ । सन्तोष भइएन भने खुशी हुन सकिंदैन । अतीतसँग हारेको ह्दयङ्गम गरी वर्तमान र भविष्य पीडामुक्त होस् भन्ने ईश्वरसँग प्रार्थना गर्छु ।