– राजेश मिश्र
आज प्रतीक दैनिकको ३७औं वार्षिकोत्सव मनाइँदैछ । विविध आरोह–अवरोहका बावजूद पत्रिका नियमित प्रकाशन हुँदै आएको छ । प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माको अथक प्रयास वर्तमान युवा पुस्ताका लागि उदाहरणीय छ । वृद्ध उमेर उहाँको जिम्मेवारी र जोशमा बाधक बन्न सकेको छैन । आज पनि सक्रियताका साथ दैनिक काम गर्नुहुन्छ ।
वार्षिकोत्सवको सन्दर्भ भएकोले आज विश्वजगत्मा पत्रपत्रिकाको उदय, प्रतीक दैनिकसँग सम्बन्धित विगत र आजको आवश्यकताबारे मेरो व्यक्तिगत अनुभव तथा विविध माध्यमबाट सङ्कलित स्रोतहरूको आधारमा तयार पारिएको वृत्तान्त प्रस्तुत छ–
“का समाचार बा ?” हालखबर जान्ने अभिप्रायले यो वाक्यांश कालान्तरदेखि प्रयोग हुँदै आइरहेको छ । आफन्तजन वा इष्टमित्रसँग भेट हुँदा उपरोक्त वाक्यांशबाट संवाद शुरू गरिन्थ्यो र आज पनि निरन्तर छ । आआफ्नो हालखबर एकअर्कालाई अवगत गराउने, त्यसपछि “सुनाई ना गाँव–जवार के समाचार” भन्ने प्रश्न गरिन्थ्यो । यसबाट के अवगत हुन्छ भने मानिस समाचार जान्न जिज्ञासु हुन्छ । त्यस बेला जीवन प्रविधिशून्य थियो । यद्यपि गाउँनगरको समाचार मौखिक अद्यावधिक गरिन्थ्यो । मानव सभ्यता र प्रविधिको विकाससँगै मौजुद साधन स्रोतले समाचारपत्रबाट सूचना प्रवाहको क्रम शुरू भएको हो ।
नेपालको सेरोफेरोमा कुरा गर्ने हो भने गाउँघरमा पञ्चायती, गाउँसभा वा सामाजिक जमघट हेतु चौकीदारमार्फत सूचना प्रवाह गरिन्थ्यो । कालान्तरमा संसारका थुप्रै मुलुकमा पात र ढुङ्गामा लेखेर सूचना प्रवाह गर्ने चलन आयो । त्यसपछि कागजमा लेखेर चोक बजार वा भीडभाड हुने स्थलमा टाँस्ने प्रचलन शुरू भयो । समय बित्दै गयो र संसाधनको विकास हुँदै गयो । समयक्रमसँगै समाचार प्रवाह गर्ने अनौपचारिक प्रक्रियाले औपचारिकता पायो । उहिले प्रायःजसो मुलुम एकात्मक शासन प्रणालीमा आधारित थिए । राजा–रजौटाहरू व्यक्तिगत गुणगानका निम्ति सरकारी नाममा स्थापित सञ्चारमाध्यम व्यक्तिगत स्वार्थका निम्ति प्रयोग गर्दथे । नियम कानून उनीहरूको मुखमैं हुन्थ्यो । त्यस बेला व्यक्तिगत सञ्चार संस्थाहरूले सरकारको निर्देशन बमोजिम समाचार प्रवाह गर्नुपथ्र्यो । सरकारको अत्याचारविरुद्ध कलम चलाउने सञ्चारमाध्यमहरू विभिन्न खाले सरकारी वितण्डाको शिकार हुन्थे ।
विश्वव्यापीरूपमा प्रजातान्त्रिक शासन व्यवस्था बहाल हुन थालेपछि सञ्चार क्षेत्रको दायरा बृहत् हुँदै गयो । समय, परिस्थिति र संसाधनको विकासले सञ्चारमाध्यको स्थापना र पत्रपत्रिका वितरण कार्यले मानिसमा देश विदेशको समाचार जान्ने धोको बढ्दै गएको देखिन्छ ।
विभिन्न खाले अत्याचार र आम मानिसको हक, अधिकारको लडाइँमा समाचारपत्रहरूको भूमिका अभिन्न बन्न पुगेको हो । आज स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, शिक्षा, अर्थ, पर्यटन, खेलकूद, मनोरञ्जन र स्तम्भ आदि विविध बिटमार्फत समाचार प्रवाह हुँदै आइरहेका छन् । इन्टरनेटको उदयले समाचारको बृहत् प्रवाह द्रुत गतिमा बढिरहेको छ ।
अखबारहरूको इतिहास केलाउँदा कालान्तरमा ढुङ्गाको स्लैब र घरको भित्तामा सूचना लेखिन्थ्यो । खासगरी पदाधिकारी नियुक्ति र बैठकका निर्णय आदि सूचनाहरू प्रवाह गरिन्थ्यो । त्यसपछि युरोपमा हातले लेखिएका सूचना पत्रहरू आउन थाले । त्यसमा मुद्राको उतार–चढाव र व्यापारका समाचारहरू लेखिन्थ्यो । १५औं शताब्दीमा योहान गुटेनबर्गले प्रिन्टिङ मेशिनको आविष्कार गरेपछि किताब मुद्रण र अखबारहरू प्रकाशित हुन थाले ।
जापान
सन् १८७४ देखि प्रकाशन शुरू भएको ‘योमुरी सिम्बुन’ शुरूमा साहित्यिक अखबारजस्तो लाग्थ्यो । सन् १९२४ मा स्वामित्व परिवर्तन भएयता समाचारपत्रका रूपमा स्थापित छ । त्यसैगरी, राजनीति र अन्तर्राष्ट्रिय समाचारका लागि नाम कमाएको ‘आसाही सिम्बुन’ २५ जनवरी १८७९ देखि प्रकाशन हुन थालेको हो । यसको पहिचान जापानको उदार र प्रगतिशील अखबारका रूपमा बनेको छ । त्यसैगरी, १८७२ मा शुरू भएको ‘मैनाची सिम्बुन’ जापानको सबैभन्दा पुरानो र निरन्तर प्रकाशित अखबार हो ।
इटाली
विश्वको सबैभन्दा पुरानो र जीवित अखबार इटालीको ‘ला गजेट डी मोन्टोभा’ हो । सन् १६६४ देखि प्रकाशन प्रारम्भ भएको यो अखबार अहिले पनि निरन्तर छ ।
स्वीडेन
स्वीडेनमा सन् १६४५ देखि प्रकाशित ‘पोस्ट ओक इन्रिक्स टिडनिन्गार’ सन् २००७ देखि छापा प्रकाशन स्थगित गरेर अनलाइन संस्करण शुरू गरेको छ ।
रोम
५९ ईसापूर्व ‘रोमन एक्टा डिउर्ना’ नामक पत्रिका प्रकाशित भएको थियो । जुलियस सिजरले राजनीतिक र सामाजिक घटनाहरूबारे प्रकाशित पत्रिका शहरका मुख्य स्थानहरूमा पठाउँथे ।
चीन
चीनमा आठौं शताब्दीमा हस्तलिखित समाचारपत्रहरू प्रचलित भएको इतिहास छ । त्यो समाचारपत्र एक पृष्ठको जानकारी पुस्तिकाजस्तो हुन्थ्यो ।
नेदरल्यान्ड
सन् १६५६ देखि नेदरल्यान्डको ‘हारलेम्स डागब्लाड’ निरन्तर छापिंदै आएकोमा पछिल्लो समय स्वरूप परिवर्तन गरेको छ । पुरानोमध्येको लन्डन गजेट शुरूमा ‘दी अक्सफोर्ड गजेट‘ नामले प्रकाशन हुने गथ्र्यो । सरकारी प्रकाशनका रूपमा रहेको यो अखबार ७ नोभेम्बर १९६५ देखि २९ भाषामा प्रकाशित हुने गर्छ ।
भारत
भारत विश्वकै धेरै समाचार प्रकाशन हुने दोस्रो देशमा पर्दछ । भारतमा १० हजारभन्दा बढी प्रकाशन दर्ता भएका छन् । भारतमा अखबारहरूको लामो इतिहास छ । गुजराती भाषाको ‘बम्बे समाचार’ सन् १८२२ देखि प्रकाशन शुरू भएको हो । यो एशियाकै सबैभन्दा पुरानो र नियमित प्रकाशन हुँदै आएको अखबार हो ।
३०, मई १८२६ मा पहिलो हिन्दी साप्ताहिक पत्रिका ‘उडन्त मार्तण्ड’ प्रकाशित भएको थियो । ‘उडन्त–मार्तण्ड’को सुरुआतले भाषिक तहमा मानिसहरूलाई एक सूत्रमा बाँध्ने प्रयास गरेको थियो । त्यो पत्रिका अङ्ग्रेज शासनबाट भयभीत, पीडित र मौन हजारौं मानिसको मुखपत्र थियो । पछि हिन्दी भाषामा अनेकौं अखबारको उदय भयो । ती अखबारहरू भारतमा क्रान्तिकारी परिवर्तन र स्वतन्त्रताको संवाहक बने ।
त्यसैगरी, अङ्ग्रेजी भाषामा प्रकाशित हुने ‘दी टाइम्स अफ इन्डिया’ ३ नोभेम्बर १८३८ देखि निरन्तर प्रकाशित भइरहेको छ । स्थापनाको १२ वर्षपछि सन् १८५० देखि यो दैनिक प्रकाशित हुन थाल्यो । १८६१ देखि यसको नाम ‘दी टाइम्स अफ इन्डिया’ राखिएको हो ।
नेपाल
गोरखापत्र ९ वैशाख १९९१ देखि शुक्रवार प्रकाशित हुन थाल्यो । शुरूमा सोमवार, त्यसपछि मङ्गलवार र शुक्रवार प्रकाशन हुन थालेको यो अखबार ८ पुस २००३ देखि हप्तामा तीन दिन निस्कन लागेको थियो । ७ फागुन २०१७ देखि दैनिक भयो । विसं २०४६ को परिवर्तनपछि अनेकौं राष्ट्रिय अखबारहरूको उदय भएको हो ।
वीरगंज
विसं २०४३ भदौ १ गतेदेखि प्रतीक साप्ताहिकको प्रकाशन प्रारम्भ भएको हो । त्यति बेला वीरगंजमा न्यून सङ्ख्याका साप्ताहिक पत्रपत्रिकाहरू थिए । प्रतीक दैनिकको विसं २०४३ देखि २०५२ सम्म अर्थात् शुरूको नौ वर्ष साप्ताहिक प्रकाशन भयो । त्यसपछि दैनिक पत्रिकामा रूपान्तरण भयो । प्रतीक दैनिक २०४६ को आन्दोलन, माओवादी द्वन्दकाल, विसं २०५९ मा राजा वीरेन्द्रको हत्या, विसं २०६१ मा ज्ञानेन्द्र शाहको सत्ता, विसं २०६२/६३ को जनान्दोलन र २०७२ को मधेस आन्दोलन आदि विविध परिवर्तन र राष्ट्रिय घटनाक्रमहरूको साक्षी हो ।
२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गरी सत्तामा हाबी भए । पहिलो निशाना सञ्चारमाध्यम थिए । त्यस दिनको एउटा घटना आज पनि मेरो मस्तिष्कमा ताजा छ । पर्साको विजयबस्तीबाट सुन्तली श्रेष्ठले प्रतीक दैनिकमा ग्रामीण क्षेत्रका तस्वीरहरू पठाउँथिन् । माघ १९ गते उनले प्रतीक दैनिकको कार्यालयमा कैयौंपटक फोन गरिन्, तर फोन उठेन । म वीरगंजबाट प्रकाशित हुने अर्को पत्रिकाको पोखरिया संवाददाता थिएँ । ग्रामीण क्षेत्रका हामी संवाददाताहरूबीच आवश्यकता अनुसार कुराकानी हुन्थ्यो ।
साँझ करीब सात बजे सुन्तलीले मलाई फोन गरिन् । प्रतीकको कार्यालयमा फोन नउठेको कुरा सुनाइन् । मैले पनि दुई/चार पटक फोन गरें तर उठेन । पछि थाहा भयो शाही सेनाको टोली प्रतीक दैनिकको कार्यालयमा प्रवेश गरेको थियो । पत्रिका प्रकाशन नगर्ने उर्दी जारी गरेको थियो ।
आलोचना गर्नु पत्रकारिताको धर्म हो । गालीगलौजबाट मुक्त भएर स्वच्छ आलोचना गर्न नसक्ने अखबारले नागरिकलाई सही सूचना दिन सक्दैन । कमजोरी औंल्याउनु पत्रकारिताको दायित्व पनि हो । आप्mनो पक्षमा समाचार नहुनेबित्तिकै वा आप्mनो प्रतिकूल समाचार प्रवाह हुनासाथ पत्रिकाविरुद्ध खनिने प्रवृत्ति आजको कथित नयाँ पुस्ताका राजनीतिक दल र नेतामा समेत देखिएको छ । यो अवस्थामा पत्रकारिताको धर्म रक्षा गर्दै प्रतीक दैनिक निरन्तर अघि बढिरहोस् भन्ने शुभकामना दिन चाहन्छु ।
यसै सेरोफोरोमा विभिन्न क्षेत्रका पाठकहरूबाट प्राप्त भावना, चाहना र सुझावको सङ्क्षिप्त अंश प्रस्तुत छ ः–
गणेश लाठ
उद्योगपति/साहित्यकार
प्रतीक दैनिकलाई चिनेको झन्डै तीन दशक बढी भयो । प्रतीक दैनिकभन्दा पहिले मोर्चा साप्ताहिक आउँथ्यो । जगदीश सर सम्मिलित टीमको नेतृत्वमा प्रकाशित हुन्थ्यो । त्यपछि उहाँले प्रतीक दैनिक प्रकाशित गर्नुभयो । समाचारहरू सन्तुलित हुन्छन् । प्रतीक दैनिकको कार्यशैली सन्तोषजनकभन्दा पनि एक तहमाथि छ । थोरैमा सबै प्रकारको खुराक उपलब्ध हुन्छ । सम्पादकीय उच्च स्तरको पढ्न पाइन्छ । समाचार, साहित्य र आर्थिक सबैथोक पढ्न पाइन्छ । त्यसैले म भन्छु प्रतीक दैनिक प्रथम श्रेणीको पत्रिका हो । प्रतीक दैनिक अब रङ्गीन प्रकाशन होस् भन्ने शुभेच्छा छ । प्रतीक प्रकाशन समूहका आदरणीय प्रधानसम्पादक जगदीशप्रसाद शर्मासँगै आबद्ध समस्त टीमलाई मेरो तर्फबाट ३७औं वार्षिकोत्सवको पुनीत उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दछु ।
रुद्रलाल श्रेष्ठ
निजगढ नगरपालिका–९
अबका पत्रपत्रिकाहरूमा त जनताका कुराहरू नै आइरहेका छन् । कहाँ के भइरहेको छ भन्ने कुरा थाहा पाउनका लागि नियमित पढ्दै आइरहेको छु । जनताका कुराहरू अझ बढी आओस् भन्ने चाहन्छु । आजको समयमा जनतालाई राजनीतिक दलहरूले झुक्याउने काम गर्दै आइरहेका छन् । त्यस कारण अत्याचार र अन्यायविरुद्ध सञ्चारमाध्यमहरू सशक्त रूपमा खडा हुनुको विकल्प छैन ।
जगन्नाथप्रसाद केशरी
(अध्यक्ष, नागरिक समाज, गौर, रौतहट)
प्रतीक दैनिक पत्रिका ग्रासरूटमा रहेको जनताको सुखदुःखको आवाज उठाउने एउटा राम्रो दैनिक हो । समाजमा घट्ने घटनाहरूको समाचारले यो पत्रिकाले राम्रो स्थान पाएको छ । तसर्थ यस पत्रिकाप्रति सामाजिक चासो उच्च छ । सबैभन्दा बढी पर्साको समाचारले ग्राह्यता पाइरहेकोमा रौतहटलगायत मधेस प्रदेशका अन्य जिल्लाहरूको समाचार पनि सम्प्रेषण भएमा अझ बढी राम्रो हुने थियो भन्ने मेरो सुझाव छ । ३६ वर्ष पूरा गरी ३७औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सुरेशप्रसाद साह
(जीतपुरसिमरा उमनपा–७)
करीब बा-ह वर्षदेखि म प्रतीक दैनिकको नियमित पाठक हुँ । स्थानीय समाचारलाई प्राथमिकता दिइन्छ जुन राम्रो पक्ष हो । पत्रिकाको पृष्ठ सङ्ख्या थप गर्दा अझ राम्रो हुन्थ्योजस्तो मलाई लाग्छ । ज्येष्ठ नागरिकसम्बन्धी कार्यक्रमहरूको समाचार आइरहन्छ । यस्ता समाचारहरूले ज्येष्ठ नागरिकबारे अद्यावधिक हुन्छु र मलाई धेरै मन पर्छ । यसको अलावा सबै प्रकारका मिश्रित खबरहरू आइरहन्छ । प्रतीक दैनिकको ३७ औं वार्षिकोत्सवको शुभ उप्लक्षयमा असीम शुभकामना व्यक्त गर्दछु ।
राकेश पाण्डेय
कलैया, बारा
प्रतीक दैनिक सर्वप्रिय पत्रिका हो । यसमा दुईमत छैन । यद्यपि कलैया आसपासको समाचार पहिलेजस्तो आइरहेको छैन । यति धेरै चर्चित र पुरानो पत्रिका हो । रङ्गीनका साथै पृष्ठ सङ्ख्या थप गरेमा अझ राम्रो हुने थियो । यसतर्फ व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउँदै ३७औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा उत्तरोतर प्रगतिको कामना गर्दछु ।
ममता महतो
उपाध्यक्ष, पटेर्वासुगौली गापा, पर्सा
धेरै पुरानो प्रतीक दैनिकको सामाजिक विकासमा अग्रणी र महŒवपूर्ण भूमिका रहेको मैले महसूस गरेकी छु । राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा समाचारको माध्यमले अग्रणी बनेको छ । सङ्घीयतालाई मध्यनजर गरेर पर्सा जिल्लालगायत अन्य जिल्लाहरूका समेत पालिकाहरूको स्तरोन्नतिका लागि विभिन्न गतिविधि उजागर गरेर जनमानसमा जनचेतना जाग्रत गर्ने कार्य अझै सशक्तरूपले गर्नुपर्छ जस्तो लाग्छ । सुझावको रूपमा म के भन्छु भने वीरगंज सदरमुकाम केन्द्रित नभएर अन्य पालिकाहरूमा पनि ध्यान दिन आग्रह गर्छु । पालिकाहरूको गतिविधि चिरफार गरेर लेख्न जरुरी छ । वास्तविक तथ्य उजागर गर्नुपर्छ । यसले सामाजिक जनचेतनाको विकास हुन्छ । अन्त्यमा प्रतीक दैनिकको ३७औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रतीक दैनिक परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
रामेश्वर कुशवाहा
फेंटा गापा–१ अकुवनिया, बारा
प्रतीक दैनिक लोकप्रिय पत्रिका हो । मेरोे बुझाइमा सबैभन्दा राम्रो पक्ष के हो भने स्थानीय समाचारलाई प्राथमिकता दिइन्छ । प्रमुख समाचार पनि स्थानीय नै हुन्छ । झन्डै बीस वर्ष अघिको स्मरण गर्न चाहन्छु । साउन/भदौको महीना थियो । बाढी आएको थियो । बालीनालीको धेरै क्षति भएको थियो । यो पीडा लिएर म प्रतीक दैनिकको कार्यालय पुगेको थिएँ । प्राथमिकताका साथ समाचार प्रकाशित भयो । त्यो समाचारले गर्दा स्थानीय बासिन्दालाई ठाउँठाउँबाट सहयोग प्राप्त भएको थियो । प्रतीक दैनिकको नाम म जीवनपर्यन्त बिर्सन सक्दिनँ । त्यसको लागि म प्रतीक दैनिकप्रति आभारी छु । ३७औं वार्षिकोत्सव यस पावन घडीमा उत्तरोतर प्रगतिको कामना गर्दछु ।
मनोज उपाध्याय
(वीरगंज, पर्सा)
प्रतीक दैनिकलाई धेरै वर्षदेखि चिन्दछु । उति बेला साप्ताहिकबाट दैनिकमा रूपान्तरण हुने सँघारमा थियो । सम्पादन र व्यवस्थापन पक्षले जोखिम मोलेर जुन परिवेश र परिस्थितिमा यस क्षेत्रमा दैनिक पत्रिका प्रकाशन ग¥यो, त्यो अत्यन्तै प्रशंसनीय कार्य थियो । यत्रो लामो यात्रामा पाठक सामग्री, प्रकाशकीय उत्कृष्टताको कुरा वर्णन गरेर साध्य छैन । परिश्रमकै कारण ‘क’ वर्गमा परेको हो । एउटा कालखण्डमा जतिबेला केवल साप्ताहिक पत्रपत्रिकाहरू प्रकाशित हुन्थे, त्यो बेला प्रतीक दैनिक पर्सा, बारा, रौतहट, जनकपुर र चितवनलगायत थुप्रै ठाउँमा पुग्थ्यो । ३७औं वार्षिकोत्सवको अवसरमा प्रधान सम्पादकलगायत आबद्ध समस्त योद्धाहरूलाई शुभकामना दिंदै आगामी दिनमा रङ्गीन प्रकाशन होस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।
प्राडा अनिल सिन्हा
(रक्सौल, भारत)
नेपालको लोकप्रिय ‘क’ वर्गको अखबार प्रतीक दैनिकले आज ३७औं वार्षिकोत्सव मनाइरहँदा निकै खुशी लागेको छ । भारत–नेपाल सीमाको सबैभन्दा लोकप्रिय, चर्चित र सत्यतथ्य खबर यहाँसम्म पु¥याउने प्रतीक दैनिक परिवारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । निर्भीक, प्रेरणादायक र देश एवं समाजलाई ऐना देखाउने प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश शर्माको हार्दिक अभिनन्दन पनि गर्न चाहन्छु । प्रतीक दैनिक सदैव विश्वसनीय एवं निडर रहेको छ । बेटीरोटीको सम्बन्ध, भारत–नेपालको मित्रता र भलाइको उत्थानको लागि सदैव अग्रसर हुने प्रतीक दैनिक पछिल्लो समयमा भूकम्प, मधेस आन्दोलन, कोरोना महामारीमा पनि निरन्तर प्रकाशित हुँदै आएको छ, जसको वर्णन शब्दबाट गर्न सकिंदैन । जय भारत– जय नेपाल ।