समय बित्दै जान्छ । बित्दो समयका साथ मानवीय गतिविधिमा शिथिलता आए पनि संस्थाको क्रियाकलाप भने बढ्दै जान्छ । यो यथार्थ त्यस ठाउँको हो, जहाँको समाज सद्भावपूर्ण हुन्छ, सहानुभूतिशील हुन्छ, नियम–कानूनको मर्यादा गर्दछ । यस कसीमा हाम्रो देश र समाजको अवस्था हेर्ने हो भने केही विपरीत देखिन्छ । ऐन, नियम र कानून तोड्नका लागि बनाइन्छन् भन्ने भान हुन्छ । त्यसैले कुनै पनि स्वदेशी संस्थाको अस्तित्व गा¥हो बन्न पुग्छ । विदेशमा स्थापना भएका संस्थाहरू केही वर्षमैं विश्वव्यापी हुन पुग्छन्, विश्वभरि तिनका शाखा, उपशाखा सञ्चालन हुन पुग्छन् । हामीकहाँ कुनै पनि संस्थाको औसत आयु प्रायः एक दशक हुन्छ । किनकि न संस्था सञ्चालन गर्नेहरूमा जीवटता हुन्छ, न समाजले नै त्यसलाई जिउँदो रहन दिन्छ । कुनै पनि स्वदेशी संस्थाहरूको विगत र वर्तमान हेर्ने हो भने यस्तै परिदृश्य देखा पर्छ ।
विरलै कुनै संस्था दीर्घायु देखिन्छ । किनकि संस्थालाई सार्वजनिक ठान्ने प्रवृत्तिको सर्वथा अभाव छ । संस्थालाई व्यक्तिको नाम दिइन्छ । र व्यक्तिसँगको रिस, राग, द्वेषको तारो संस्थालाई बनाउन थालिन्छ । यस्तो प्रवृत्ति व्यक्तिविशेषमा मात्र होइन, सरकारी निकायहरूमा पनि देख्न पाइन्छ ।
यस्तो प्रतिकूलताको बीच कुनै संस्थाले ३६ वर्ष पार गर्नु, त्यो पनि सक्रिय रहेर, मर्यादापूर्ण तरीकाले गा-हो कुरा हो । प्रतीक आज त्यही अवस्थामा उभिएको छ । बितेको चार वर्षदेखि, कोरोनाको सङ्क्रमणकालदेखि प्रतीकजस्ता सार्वजनिक संस्थाहरूको अवस्था सुस्त हुँदै गएको छ । कुनै पनि पत्रिका चल्ने विज्ञापनको भरमा हो । र हामीले देखी भोगिरहेको यथार्थ के हो भने आजको दिनमा पत्रिकाहरूमा विज्ञापन छैन । यो नहुनुमा देशमा आर्थिक गतिविधि मन्द हुनु प्रमुख पक्ष त हो नै, त्यस दिनदेखि उत्पादन क्षेत्रमा कहालिलाग्दो मन्दी आउनु पनि त्यतिकै जिम्मेवार छ । विज्ञापन उत्पादनको हुन्छ, उत्पादन स्वदेशी हुनुपर्छ, स्थानीय तहहरू यति सदाशय त अवश्य नै हुनुपर्दछ कि आप्mनो जमीनको यस्ता संस्थाहरूको उन्नयन नभए पनि अस्तित्वका लागि चिन्तनशील बनून् । जुन हाम्रो परिप्रेक्ष्यमा कठिन देखिन्छ । त्यसमा पनि प्रतिस्पर्धा त अरूको घाँटी रेटेर आपूm बाँचू भन्ने खालको छ ।
यसै परिस्थितिमा प्रतीकमा पनि जेलिन पुगेको छ । तर पनि अति सहिष्णु मानसिकताका शुभेच्छुहरूको बलमा हिंडिरहेको छ । यस्तो हुनुमा प्रतीक एक्लो वा यसका सञ्चालकहरूको मात्र योगदान हो ठान्नु सरासर बेइमानी हुनेछ । लामो समयदेखि यस संस्थामा कार्यरत कर्मचारी, पत्रकार, लेखक, स्तम्भकारको अहर्निश परिश्रम, सदाशयता र शुभेच्छाले यो कठिन परिस्थिति सुगम बनेको छ । पाठक विज्ञापनदाता र प्रत्यक्ष्F–अप्रत्यक्ष यसमा समाहित सबैको निरन्तर मूल्याङ्कनले यसलाई अस्थिर हुन दिएको छैन । हो चाहेजति भौतिक उन्नति हुन सकेन । पक्का कुरा हो, किनकि हामीकहाँ पत्रकारिता भनेको भ्यागुताको धार्नी हो । यसै पनि विश्व परिवेशमा नै छापा माध्यमको शेखी खस्किरहेको अवस्था छ । तर आज पनि छापामाध्यमहरू अन्य सञ्चारमाध्यमभन्दा कम छैनन् । यो विश्वासिलो छ, सङ्ग्रहणीय छ । त्यही भएर जतिसुकै प्रतिकूलता होस्, जतिसुकै अप्ठ्यारो होस्, पत्रकारिताको धर्म र मर्मलाई पालना गर्दै सुधिजनको विश्वास, भरोसा र साथ पाएर प्रतीक यसै पानामा वर्णन गरिएका विश्व प्रकाशनहरूझैं आयुष्मान् बन्ने दिशातिर लम्किरहने छ । हाम्रा साथ निष्पक्ष, स्वनिर्भर सहयोगीहरूको दृश्य–अदृश्य साथ छ र रहिरहनेछ भन्ने विश्वासले मार्गदर्शन गरिरहनेछ ।