ह्युस्टन, ३२ साउन/एएफपी
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी टेक्सासकी एक महिला पक्राउ परेकी छन् ।

यही अगस्त ५ मा अबिगेल जो श्रीले सङ्घीय न्यायाधीश तान्या चुटकनको वाशिङ्टन कार्यालयमा उनलाई हत्या गर्ने फोन सन्देश छोडेको अभियोगमा गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायले उनलाई आज पक्राउ गरेका हुन् । ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको एजेन्ट’ले दायर गरेको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

टेक्सासको एल्विनकी ४३ वर्षीया जो श्रीले अश्वेत न्यायाधीश चुटकनलाई ‘मूर्ख काली, तिमी दास हौ, तिमी हाम्रो निगरानी छौ, हामी तिम्रो हत्या गर्न चाहन्छौं’ जातीय एवं रङ्गभेदयुक्त सन्देशमा भनेकी छन् ।

दक्षिणी टेक्सासको सङ्घीय जिल्ला अदालतमा श्रीविरुद्ध दायर गरिएको मुद्दामा ‘यदि ट्रम्प २०२४ मा निर्वाचित भएनन् भने हामी तिमीलाई मार्नेछौं, त्यसैले सावधान रहनू’ चुटकनको परिवार पनि आक्रमणको निशानामा रहेको सन्देशमा उल्लेख गरिएको जनाइएको छ ।

श्रीले टेक्सासकी अश्वेत सांसद शीला ज्याक्सन लीको नाम दिएर ट्रम्पलाई सताउने जो कोहीलाई मार्ने धम्की पनि दिएकी छन् । आजै उनलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिइएको छ ।
७७ वर्षीय ट्रम्प २०२४ को चुनावमा रिपब्लिकन पार्टीको अग्रपङ्क्तिमा छन् । यद्यपि उनको ह्वाइट हाउसतर्पm दोस्रो यात्रा त्यति सहज छैन किनभने उनले चारवटा आपराधिक मुद्दाको सामना गर्नुपरेको छ । जमैकामा जन्मेकी न्यायाधीश चुटकनलाई पूर्वडेमोक्रेटिक राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका हुन् । उनको नियुक्तिलाई सिनेटले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
दुर्ई वर्ष पहिले अमेरिकी संसद्मा आफ्ना समर्थकलाई परिचालन गरी अघिल्लो वर्षको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी डेमोक्र्याट उम्मेदवार जो बाइडेन पराजित भएको र आफूले चुनाव जितेको भन्दै पद हस्तान्तरण गर्न अस्वीकार गरेको तथा त्यहाँ आक्रमण गराएको मुद्दाको न्यायाधीश चुटकन नेतृत्वको टोलीले सुनुवाइ गर्दैछ ।

राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको ६४ दिनपछि सन् २०२१ को जनवरी ६ मा संसद्मा ट्रम्प समर्थक भीडले आक्रमण गर्दा सातजनाको ज्यान गएको थियो भने संसद्का सुरक्षा कर्मचारी, वाशिङ्टन महानगर प्रहरी स्थानीय निकायका १५० जना अधिकारी घाइते भएका थिए । ट्रम्प समर्थक भीडले संसद्मा पसेर अन्धाधुन्ध आक्रमण गरेको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here