नितेश कर्ण, वीरगंज, २९ साउन/
साउन महीनामा वीरगंज महानगरपालिकाद्वारा लाग्दै आएको रात्रिकालिन बजार लागेन ।
नयाँ वर्ष २०८० लाई लक्षित गरेर चैत महीनाको अन्त्यदेखि वैशाख २ गतेसम्म पहिलोपटक तीन दिन रात्रिकालीन बजार लागेको थियो । नगरप्रमुख राजेशमान सिंहले पत्रकार सम्मेलन गरेर रात्रिकालीन बजार सञ्चालनमा ल्याएको र यसले वीरगंजको आर्थिक गतिविधिलाई चलायमान बनाउने दाबी गरेका थिए । यसैगरी, छिमेकी भारतका मानिसहरूलाई सहजरूपमा सीमा वारिपारि गर्नका लागि राति १० बजेपछि बन्द सीमानाकालाई राति १२ बजेसम्म खुला गरिएको थियो ।
पहिलोपटकको तीन दिने रात्रिबजार सफल भएपछि महानगरले सोही महीनादेखि प्रत्येक महीनाको अन्तिम शुक्रवार र शनिवार रात्रिबजार लगाउने घोषणा ग¥यो । सोअनुरूप असार महीनासम्म गरी चारपटक रात्रिबजार लाग्यो । तर गत असारको अन्त्यमा लागेको रात्रिबजारमा कलाकार प्रीति पासवानसमेतको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा महानगर प्रमुख सिंहको आलोचना भयो ।
जनमत पार्टीले प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै आगामी महीना यस प्रकारका अश्लीलता प्रदर्शन हुनेगरी सांस्कृतिक कार्यक्रम गरिएको खण्डमा रात्रिबजार अवरोध पार्ने चेतावनी दिएको थियो ।
घरेलु उत्पादनका वस्तुहरू, फुट मसाज, फुटपाथे चटपटे, चाट, आइसक्रिम आदिको कारोबार वृद्धि भएको थियो । आदर्शनगरका चाटपसले सुनील साहले चाट व्यापार रात्रिबजारमा निकै बढेको बताए । उनले अन्य दिनको तुलनामा रात्रिबजारमा व्यापार बढेको बताए । यस्तै चनाचटपटे, पानीपुरी (पुच्का) विक्रेताहरूले पनि व्यापार बढेको बताए ।
तर महानगरले साउनमा भने अन्तिम शुक्रवार र शनिवार अर्थात् साउन २६ र २७ गते रात्रिकालीन बजार लगाएन । महानगर प्रमुखका सल्लाहकार नवराज फुयाँलले असारको अन्तिम शुक्रवार पानी परेको र अहिले साउनमा पनि पानी परेकै कारण बजार नलागेको बताए ।
तर स्थानीय केही व्यापारीहरू भने अश्लीताविरुद्ध महानगरको आलोचना भएको र केही राजनीतिक दलहरूको चेतावनीका कारण रात्रिबजार सञ्चालनमा आउन नसकेको टिप्पणी गर्छन् ।
साउन महीनामा रात्रिबजार नलाग्नुमा दुई थरीका कुराहरू आए पनि विरोधका स्वर गुञ्जिनु र रात्रिबजार नलाग्नुले स्याल कराउनु र बाख्रा हराउनु जस्तो भएको छ ।