प्रस, वीरगंज, २९ साउन/
वीरगंज महानगरमा करीब दुई दशकपछि लागेको ट्राफिक सिग्नल लाइट कामविहीन भएको छ ।
तत्कालीन नगरपञ्चायत हुँदा साढे तीन लाख रुपैयाँ लागतमा आदर्शनगर, माईस्थान र घण्टाघरमा ट्राफिक सिग्नल लाइट जडान भएको थियो । तर सो बखत भएका विभिन्न खाले आन्दोलनमा ती लाइड नष्ट भएका थिए ।
त्यसपछि अहिले महानगरपालिका भएपछि हालै ट्राफिक सिग्नल लाइट घण्टाघरमा जडान भएर सञ्चालनमा आएको छ । घण्टाघरमा मात्र जडित ट्राफिक सिग्नल लाइट अहिले प्रयोगविहीन सरह छ । घण्टाघरवरिपरि गरी सातवटा सिग्नल जडान भएका छन् ।
तर ती सिग्नल प्रयोग हुँदा एकपटकमा कम्तीमा अढाई मिनेट सवारी रोकिने भएकोले अहिले प्रयोगमा ल्याउँदा समस्या भएको हो । घण्टाघर सडकखण्ड सामान्यतया अन्य सडकखण्डभन्दा बढी सवारी चाप हुने स्थान हो । सो ठाउँमा ट्राफिक सिग्नलका कारण अढाई मिनेट सवारीसाधनहरू रोकिंदा अन्य समयको तुलनामा बढी भीडभाड हुने गरेको थियो । अढाई मिनेट सवारीसाधनहरू रोकिंदा भीड बढेपछि अहिले केही दिनदेखि सो सिग्नल सञ्चालनमा छैन ।
सिग्नल प्रयोग हुँदा सवारीजामको समस्या समाधान हुने आशा गरिएको थियो तर सोको विपरीत सवारीसाधन अझ बढी जाम हुन थालेपछि सिग्नलको प्रयोग बन्द गरिएको बुझिन आएको छ । अहिले सो सिग्नलमा हरबखत पहेंलो बत्ती मात्र बालिन्छ र सवारीसाधनहरू पूर्ववत्रूपमा सिग्नल नभएको अवस्थाझैं निर्बाध सञ्चालनमा हुन्छन् ।