प्रस, गरुडा, २९ साउन/
रौतहटको गढीमाई नगरपालिकाले रु ५३ करोडभन्दा बढीको बजेट ल्याएको छ ।
सोमवार सम्पन्न नवौं नगरपरिषद्ले नीति तथा कार्यक्रम पारित गर्दै रु ५३ करोड १५ लाख ८४ हजार चार सयको बजेट ल्याएको हो ।
नगरप्रमुख श्यामप्रसाद यादवले चालूतर्फ रु ३७ करोड ७२ लाख ४७ हजार चार सय तथा पूँजीगततर्फ रु १५ करोड ४३ लाख ३७ हजारको बजेट नगरसभामा प्रस्ताव गरे ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको लागि रु १२ करोड ५० लाख घटी बजेट आएको छ । आन्तरिक राजस्वतर्फ रु छ करोड, सशर्त अनुदानतर्फ रु तीन करोड, समानीकरणतर्फ रु दुई करोड, राजस्व बाँडफाँडतर्फ रु ५० लाख, मालपोत राजस्वतर्फ रु ५० लाख र राजस्व बाँडफाँड प्रदेशतर्फ रु ५० लाख कम गरी बजेट आएको नगरपालिकाका लेखाप्रमुख कामेश्वर सहनीले बताए ।
नगरपालिकाको नीति तथा कार्यक्रम ल्याउन आन्तरिक विवाद थियो । सबै विवादलाई सल्ट्याएर नगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतरूपमा ल्याएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए ।
नगरप्रमुख यादवको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख अस्मिता यादवले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा वडाध्यक्षहरू रामपुकारराय यादव, राजीवरञ्जनप्रसाद यादव, दीपेन्द्र श्रेष्ठलगायतले मन्तव्य राख्दै ढिलो भएपनि नगरका सबै समस्या समाधान हुनेगरी दुरुस्त बजेट आएको प्रतिक्रिया दिएका थिए ।