प्रस, निजगढ, २९ साउन/
बाराका तीन स्थानमा ४७ हेक्टर अर्थात् ७०.५० बिघा वन क्षेत्रमा तारबारसहित वृक्षारोपण सम्पन्न गरिएको जनाइएको छ । डिभिजन वन कार्यालय, बाराको गत आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर अर्थात् ७५ बिघा वन क्षेत्रमा आवश्यकता अनुसार तारबार र वृक्षारोपण गर्ने लक्ष्य रहे पनि तीन हेक्टर वन क्षेत्र उपलब्ध हुन नसकेको डिवका, बाराले जनाएको छ ।
सो लक्ष्य अनुसार निजगढ नगरपालिका–९ भमराखोला–बकैयाखोला दोभान आसपासका ३५ हेक्टर अद्र्ध अतिक्रमित, अतिक्रमित र नदी उकास क्षेत्रमध्ये सात हेक्टरमा ११ हजार दुई सय बिरुवा रोपण गरिएको र बाँकी २८ हेक्टर वन क्षेत्रमा खनजोत गरी खयर, सिसौंलगायतका विभिन्न रूख प्रजातिका बीउ छरेको डिभिजन वन कार्यालय, बाराले जनाएको छ ।
त्यसैगरी, कोल्हवी नपा–५ बोधवनको अतिक्रमित वन क्षेत्रमध्ये १० हेक्टर क्षेत्रफलमा तारबार गरी फलफूल, वन प्रजातिका १६ हजार बिरुवा रोपण गरिएको मधुवन सबडिभिजन वन कार्यालय अन्तर्गत बोधवन पोस्टका फरेस्टर मुकेशकुमार दासले बताए । वर्षौंअघिदेखि वन क्षेत्र अतिक्रमित गरी बसेका २७ घरटहरा हटाइ त्यस वन क्षेत्रमा वृक्षारोपण गरिएको वन कार्यालयले जनाएको छ ।
त्यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिका–१७ स्थित जैतापुरको वन क्षेत्रमा १२ हेक्टर क्षेत्रफलमा १९ हजार दुई सय आँप, जामुन, बेल, टीकलगायत अन्य वन प्रजातिका बिरुवा रोपण गरिएको वन कार्यालय, बाराले जनाएको छ ।
गत आर्थिक वर्षमा डिवका, बारा र मातहतका निकायहरूमार्फत जिल्लाका तीन स्थानमा फलफूल र विभिन्न रूख प्रजातिका गरी कुल ४६ हजार चार सय बिरुवा रोपण गरिएको, जसमा ४७ हेक्टर वन क्षेत्रलाई हराभरा बनाउने गरी आवश्यकता अनुसार तारबार, खनजोत गरी संरक्षणको पाटोलाई निरन्तरता दिने गरी कार्य अघि बढाइएको डिवका, बाराका प्रवक्ता एवं सहायक वन अधिकृत जवाहरलालप्रसाद कुर्मीले जानकारी दिए । उक्त क्षेत्रफलका अतिक्रमित, वन क्षेत्र, नदी उकास वन क्षेत्रलाई संरक्षण गर्न कुल ७० लाख ४० हजार रकम खर्च भएको डिवका, बाराले जनाएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, निजगढ नगरपालिका, करैयामाई गाउँपालिकालगायत अन्य केही स्थानीय तहका भूभाग वन क्षेत्रसम्म जोडिएका छन् । यस स्थानीय तहहरूका वन क्षेत्रको करीब १० हजार हेक्टर क्षेत्रफल वर्षौंदेखि अतिक्रमित भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । डिभिजन वन कार्यालय, बाराको आग्रहमा जिल्ला वन सुरक्षा समितिको समन्वयमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, सचेत स्थानीयहरू, प्रहरी प्रशासनको सहयोगमा हालसम्म लगभग चार सय हेक्टर वन क्षेत्र पुनः वन क्षेत्रमा फर्काउन सफल भएकोसमेत रेकर्डमा देखिन्छ । वनजङ्गल विनाशले घना वनजङ्गल घट्दो, हरियाली दिन प्रतिदिन कमी हुँदै गएकाले अत्यधिक गर्मी, कहिले अनावृष्टि, कहिले अतिवृष्टि जस्ता प्राकृतिक प्रकोप, वातावरण सन्तुलन बिग्रँदै गएकाले वन क्षेत्रको संरक्षण सबै मिलेर गर्नुपर्ने डिवका, बाराका प्रमुख एवं डिएफओ विनोद सिंहले बताए ।
वनजंगल, चुरे विनाशका कारण पानीका मूल, मुहान, जमीनमुनिको पानीको सतह घट्दै गएका कारण गाउँबस्ती, शहरमा समेत चापाकल, डीप बोरिङमा पानी आउन छाडेको डिएफओ सिंहको भनाइ छ ।
निजी वन, सडक किनारमा बिरुवा रोपण, प्रत्येक एक घरमा दुई बिरुवा, रूख रोप्दै र हुर्काउँदै जाने हो भने मात्रै अहिले देखा परेका पानी अभावलगायतका वातावरणीय असन्तुलनलाई ८–१० वर्षसम्म सन्तुलित बनाउन सकिने सम्भावना रहने जानकारहरू बताउँछन् ।