प्रस, वीरगंज, २८ साउन/
नेपाल प्रहरी श्रीमती सङ्घको ३९औं वार्षिकोत्सवको अवसरमा आइतवार जिल्ला प्रहरी कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय, श्रीपुरले संयुक्तरूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित १०२ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।
जिप्रका, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले वीरगंजका अस्पतालहरूमा बिरामीको चाप बढेको र रक्तसञ्चार केन्द्र, वीरगंजमा रगत अभाव भएको हुँदा नेपाल प्रहरी श्रीमती सङ्घको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले सुरक्षाकर्मीहरूको पनि सामाजिक उत्तरदायित्व हुने भएको र यो एक प्रकारको विपद्को काम पनि भएकोले रक्तदान गरेर सघाएको प्रस्ट्याए ।
कार्यक्रममा भावना घिमिरे, बबिता पासवान, बुद्धिसागर पन्त, रमेश बोहरा, राजेन्द्र महतो, भुनेस पटेल, प्रदीप पण्डित, गोपाल यादव, दुर्गा दास, पूर्णकुमारी श्रेष्ठ, नमिता थिङ, सुदिन थिङ, फिर्दोस्त आलम, श्याम चौधरी, रञ्जीत कोइराला, राहुल गुप्ता, हीरा मियाँ अन्सारीलगायतले रक्तदान गरेका प्राविधिक प्रमुख पाण्डेले बताए ।
कार्यक्रममा सप्रजिअद्वय भीमकान्त पौडेल र शिवप्रसाद लम्साल, सप्रउ सुमन थपलिया, नेपाली सेना श्रीजङ्ग गणका प्रमुख सेनानी डायमन्ड कार्की, रक्तसञ्चार केन्द्रकी अध्यक्ष मधु राणालगायतको सहभागिता रहेको पर्सा प्रहरीका प्रवक्ता दीपक गिरीले बताए ।
कलैयामा पनि रक्तदान सम्पन्न
प्रस, परवानीपुर, २८ साउन/
नेपाल प्रहरी श्रीमती सङ्घको ३९औं वार्षिकोत्सवको अवसरमा आज कलैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रादेशिक अस्पताल, कलैयाको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय, बाराद्वारा आयोजित कार्यक्रमको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले गरेका थिए ।
जिप्रका परिसरभित्र आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रनाउ दधीराम न्यौपानेले बताए ।
कार्यक्रममा बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलगायतको सहभागिता थियो ।