राधेश्याम पटेल, परवानीपुर, २८ साउन/
आर्थिक नगरी वीरगंजको आन्तरिक राजस्व कार्यालय, पर्साले हरेक वर्ष अर्बौं राजस्व सङ्कलन गर्दा पनि देशको उत्कृष्ट पाँच आन्तरिक राजस्व कार्यालयको सूचीभित्र पर्दैन ।
किनभने यस कार्यालयको बक्यौता हरेक वर्ष बढ्दै गएको देखिन्छ । गत आव २०७९/८० को तथ्याङ्क अनुसार आन्तरिक राजस्व कार्यालय, पर्साको हालसम्मको बक्यौता झन्डै डेढ अर्ब पुग्न लागेको छ । यसैगरी, सो कार्यालयको बेरुजू रु ६० करोडभन्दा बढी पुगेको छ ।
उत्कृष्ट कार्यालयको दर्जा पाउनका लागि आयकर, मूअकर, अन्तःशुल्क राम्ररी असुलउपर हुनुका साथै कर छल्ने करदातालाई प्रभावकारी कानूनी कारबाही गरी बक्यौता असुलउपर गर्नुपर्ने हो । तर बक्यौता नउठ्दा कार्यालयले राम्रो कर असुल गर्दासमेत छायामा पर्ने गरेको छ । वीरगंज कार्यालयको मूल्याङ्कन हुँदा उत्कृष्ट पाँचभित्रको सूचीमा नपर्दा कर अधिकृतहरू नाक खुम्च्याउन बाध्य हुन्छन् ।
आन्तरिक राजस्व कार्यालय, पर्साकी निमित्त कार्यालय प्रमुख पुनिता झाले दिएको जानकारी अनुसार आयकरतर्फ एक हजार १४२ जनाबाट रु ७८ करोड २१ लाख ५० हजार ९८१ तथा मूअकरतर्फ चार हजार ३१ जनाबाट रु ६९ करोड ९१ लाख ७१ हजार ७० गरी कुल रु १ अर्ब ४८ करोड १३ लाख २२ हजार ५१ बक्यौता उठाउनुपर्नेछ ।
हरेक वर्ष आयकरतर्फ कुल बक्यौताको १५ प्रतिशत ब्याज थपिंदै जान्छ भने मूअकरमा कुल बक्यौताको १५ प्रतिशत ब्याज र १० प्रतिशत थप दस्तुर गरी २५ प्रतिशत कर थपिने नियम छ । तसर्थ हरेक वर्ष बक्यौता बढ्ने गरेको हो ।
मूअकरतर्फ १० करोडसम्म बक्यौता राख्ने १९ जना करदाता रहेका निमित्त कार्यालय प्रमुख झाले बताइन् । जबकि आयकरतर्फ २० जना करदाताको बक्यौता मात्रै रु १७ करोड ६९ लाख छ । वीरगंज कार्यालय अन्तर्गत एउटै फर्मले करीब १४ करोडसम्म कर छलेको देखिन्छ ।
करोडौं कर छल्ने फर्ममध्ये वीरगंज–१६, इनर्वा वीरगंज भन्सार क्षेत्रकै बबिता साह सञ्चालक रहेको मोहिनी इन्टरप्राइजेज हो । यो फर्मले मात्रै रु १४ करोड ६८ लाख ५८ हजार कर बक्यौता राखेको छ । सबै कानूनी कारबाही गर्दासमेत फर्मकी सञ्चालक हालसम्म सम्पर्कमा आएकी छैनन् । धनुषा जिल्लाबाट २०५४ वैशाख १४ गते नागरिकता बनाएकी बबिताको पतिको नाम कृष्णकुमार गुप्ता हो । उनको फर्म २०५६ मा आयकर र २०५८ मा मूअकरमा दर्ता भएको थियो । आव २०७०/७१ मा यो फर्मको कर निर्धारण भएको थियो ।
बक्यौता राख्ने व्यावसायिक फर्महरूले कोइला, ढुवानी, पेट्रोलियम पदार्थको आयात एवं व्यवसाय गरी घाटा बेहोरेका कारण कर तिर्न नसकेर सम्पर्कविहीन बनेका कर अधिकृतहरू बताउँछन् । “कतिपयले घाटा लागेर फर्म बन्द गरी भारत फरार भएका बुझिएको छ, हामीले सबै प्रक्रिया पूरा गरी कारबाही गर्दासमेत कर असुल गर्न सकिएको छैन,” एकजना कर अधिकृतले भने । आन्तरिक राजस्व कार्यालय, पर्साले मात्रै गत असार मसान्तमा १८ जना करदाताको फर्मको बैंक खाता, घरजग्गा, आयात–निर्यात, शेयर कारोबार रोक्का गरेको जनाएको छ । २४ जनाको नामसहित सूचना निकालेकामा छजनाले कर तिरेका र बाँकी १८ जनालाई कारबाही गरिएको जनाइएको छ । १८ जनासंग पाँच लाखदेखि पाँच करोडसम्म बक्यौता असुलउपर गर्नुपर्ने कार्यालयले जनाएको छ ।