प्रस, निजगढ, २८ साउन/
अविरल वर्षाले निजगढस्थित बकैया, लाल खोलालगायत अन्य खोलामा आएको बाढीले हुन सक्ने थप क्षति रोकथामका तत्कालीन उपाय खोज्न प्राविधिक टोलीसहित निजगढ नपाका प्रमुख सुरथ पुरीले स्थलगत निरीक्षण, अनुगमन गरेका छन् ।
सडक डिभिजन कार्यालय, हेटौंडाका इन्जिनीयर रमेश पाण्डे, डिभिजन वन कार्यालय बाराका अधिकृत सन्दीप पटेल, निजगढ नपाका सबइन्जिनीयर नवीन खलालसहितको टोलीले निजगढस्थित बकैया र लाल खोलाको आइतवार स्थलगत निरीक्षण र अनुगमन गरेको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ नगरपालिका–८ स्थित बकैया पुलदेखि तीन सय मिटरनजीकैको पूर्वतर्फको ड्याम बाढीले उच्च कटान गरेपछि सोमवार बिहानैदेखि तीनवटा एक्साभेटरले ड्याम कटान गरेको क्षेत्रलाई रोकथाम गर्दै खोलालाई च्यानलाइज गरेको थियो ।
गएरातिको अविरल वर्षाले पुनः खोलामा बाढी आएपछि पुरानै ड्यामबाट बाढी सोझिएर पसेपछि थप रोकथामका उपाय अपनाउन र बकैया पुलको उत्तर–दक्षिणतर्फको थुप्रिएर रहेको नदीजन्य पदार्थ हटाउनुपर्ने प्राविधिक टोलीको भनाइ छ । प्राविधिक टोलीले प्रतिवेदन तयार पारी बाराका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष नवराज सापकोटालाई बुझाउने गरी खोलाको अनुगमन गरिएको निजगढ नगरपालिकाले जनाएको छ ।
हामीले तत्कालै बाढी बस्तीमा पस्नबाट रोक्ने उपाय खोजी गर्दै सोही मुताबिक च्यानलाइज गरिरहेका छौं । थप खोला च्यानलाइजका लागि प्राविधिकले तयार पारी जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाइ निर्णय भई आएपछि तोकिएको स्थानमा काम गर्ने निजगढका प्रमुख सुरथ पुरीले बताए । लाल खोलामा आएको बाढीले झोलुङ्गे पुललाई असर गर्नेगरी थप कटान गरेपछि भरपर्दो रोकथामका लागि प्राविधिक टोलीको राय माग गरेको उनले भने । मानवबस्ती, सडक, पुल, वन क्षेत्रलाई तत्कालीन र दीर्घकालीनरूपमा संरक्षण हुनेगरी कार्य अघि बढाउने नगरप्रमुख पुरीले बताए ।
बकैया पुलको दायाँबायाँ खोलामा बाढीले थुपारिएका नदीजन्य पदार्थ हटाइ बाढीले कटान गरेको ठाउँमा तारजालीको तटबन्ध तत्कालै लगाउनुपर्ने स्थानीयहरू नरेश घिमिरे, काशीनाथ पराजुलीलगायतले नगरप्रमुख पुरी र सडक डिभिजन कार्यालय, हेटौंडाका इन्जिनीयर रमेश पाण्डेलाई आग्रह गरे । तत्कालका लागि र दीर्घकालीनरूपमा बाढी रोकथाम नगर्ने हो भने सुकुमबासी बस्ती, खयरघारीबस्ती बकैयाटोल, सिनेमाहल टोल, राजमार्गलगायतका १५ सय घरधुरी प्रत्यक्ष बाढीको उच्च जोखिममा पर्ने स्थानीयहरूको भनाइ छ ।