प्रस, वीरगंज, २८ साउन/
वीरगंज महानगर–३ छपकैया निवासी नजमा बेगमका पति नेका, पर्साका नेता महमद सहाबुद्दीनले आइतवार पत्रकार सम्मेलन गरेर अदालतले आफूलाई हकअधिकारबाट वञ्चित गरी महानगरको स्वामित्व कायम गरेको जग्गा केही दिनमा खाली गरिदिने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ पर्सामा आयोजित पत्रकार सम्मेलनमा सहाबुद्दीनले आफूले २०७४/११/२९ मा वीरगंज–७ निवासी अरुण अग्रवालसँग तत्कालीन वडा नं १३ आदर्शनगस्थित एक कट्ठा जग्गा मालपोत कार्यालय, पर्साबाट रजिस्ट्रेशन पारित गरेर खरीद गरेको तर हाल सो जग्गामा अदालतले महानगरको स्वामित्व कायम गरेको भन्दै अदालतको सम्मान गर्दै केही दिनमा महानगरका लागि जग्गा खाली गरिदिने बताए ।
उनले आफूले सबै प्रक्रिया पूरा गरी जग्गाधनीसँग खरीद गरेको तर सोविरुद्ध महानगरपालिकाले पर्सा जिल्ला अदालतमा दिएको मुद्दामा अदालतले महानगरको हकमा फैसला दिएको र सोविरुद्ध आफू उच्चमा गएको तर उच्च अदालतले पनि जिल्लाको फैसला सदर गर्दै महानगरको स्वामित्व कायम गरेपछि एउटा असल राजनीतिकर्मी र नागरिकको परिचय दिंदै अदालतको सम्मान गरेर महानगरलाई जग्गा खाली गरिदिन लागेको बताए । उनले आफुले सो जग्गा खरीद गरेको केही दिनपछि अग्रवालका छोराहरूले अंश मुद्दा दायर गरेका कारण उक्त जग्गा हालको अवस्थामा मालपोतमा रोक्का रहेको बताए । उच्च अदालतले सहाबुद्दीनकी पत्नी बेगमको नाममा रहेको सो जग्गा गत वैशाखमा महानगरको स्वामित्व कायम हुनेगरी जिल्ला अदालतको निर्णयलाई सदर गरेको थियो । यसअघि २०७८ सालमा जिल्ला अदालतले महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीष्म भुसालले बेगमविरुद्ध दिएको रिटमा महानगरको पक्षमा फैसला सुनाएको थियो ।