प्रस, निजगढ, २६ साउन/
निजगढ नगरपालिका–१ सिगौलबाट ३९ थान अवैध चिरान काठ लोड गरी रौतहटको डुमरिया लैजाने क्रममा कोल्हवी नपास्थित अस्थायी प्रहरी चौकी झुरझुरका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक मोहमद राहत हुसेन गद्दीको कमान्डमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा चालक, जीपसहित काठ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट वृन्दावन नगरपालिका–८ का २४ वर्षीय अशोक राय यादव रहेको इलाका प्रहरी कार्यालय, कोल्हवीले जनाएको छ ।
ना.२च ९५७४ नम्बरको टाटा जीपमा अवैध काठ राखी बारा निजगढ नगरपालिका–१ सिगौल बजार क्षेत्रबाट करीब ५ सय मिटर दक्षिण कल्भर्टबाट पूर्वतर्फ धन्सार खोला किनारमा थुपारी राखेको सो सालको चिरान काठ फेन्टा लोड गरेको चालक यादवले बताए ।
आफूलाई कटहरिया नगरपालिका, रौतहटका रामकिशोर यादवले सिंगौलबाट माछाको भुरा लिएर आउन भन्दै जीप ल्याउन भनेको र उनले योजनाबद्धरूपमा जबरजस्ती काठ लोड गरी रामकिशोर पनि आफूसँगै जीपमा बसेर आइरहेका बेला सो सालको चिरान काठ लोड जीप शुक्रवार राति करीब १२ः३० बजे प्रहरीले कोल्हवीको झुरझुर नाकामा चेकजाँच गर्ने क्रममा उनी बाहिर निस्की जीपलाई स्कटिङ गर्दै अगाडि बढाएका दुईवटा मोटरसाइकलमा तीनजना सवारमध्ये एउटामा चढेर फरार भएको चालक यादवले बताए ।
रौतहट जाने छोटो नाका रौतहटको धन्सार–जङ्गलसैया नाकालाई सशस्त्र वन रक्षकको रात्रि गस्ती टोलीले कडाइका साथ निगरानी बढाएसँगै कोल्हवीको नाका हुँदै चोर तस्करले सो काठ रौतहटको डुमरिया पु-याउने प्रयासलाई प्रहरीले असफल बनाउन सफल भएको इलाका प्रहरी कार्यालय, कोल्हवीका प्रमुख एंव प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले बताए ।
पक्राउ परेका अभियुक्त चालक यादवलाई सोधपूछ गरी अन्य फरार व्यक्तिहरूको पहिचान गरी पक्राउ गरिने डिभिजन वन कार्यालय, बाराका प्रवक्ता जवाहरलालप्रसाद कुर्मीले बताए । सो काठ लगभग ५५ क्युफिट रहेको र हालको बजार मूल्य अनुसार तीन लाखभन्दा बढी रहेको वन कार्यालयले जनाएको छ ।
सिगौल–निजगढ कालोपत्रे सडक भई राजमार्गमा रहेको निजगढ सबडिभिजन वन कार्यालय भमरा, इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी सुरक्षा बेस निजगढ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, तामागढी सबडिभिजन वन कार्यालय निजगढ नाका सहजै पार गरी तामागढी हुँदै कोल्हवी नाका भएर रौतहट लैजाने योजनाका साथ काठ चोर तस्कर बेलाबखत सक्रिय हुँदै आइरहेको घटनाहरूले पुष्टि गर्दै आएका छन् ।