प्रस, वीरगंज, २६ साउन/
मधेस प्रदेशमा स्वास्थ्यसम्बन्धी समस्या तथा उपचारबारे नेपाली काङ्ग्रेस मधेस प्रदेश स्वास्थ्य विभागले शुक्रवार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको ध्यानाकर्षण गराएको छ ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा प्रकाशित दक्षिण–पूर्व एशिया क्षेत्रमा स्वास्थ्यमा पहुँच र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यको प्रगतिसम्बन्धी प्रतिवेदन–२०२१ ले नेपालमा स्वास्थ्य खर्चका कारण प्रत्येक वर्ष ३० लाख मानिसले आर्थिक कठिनाइ भोग्नुपरेको तथ्य सार्वजनिक गरेको छ ।

अहिले मधेस प्रदेशमा स्वास्थ्योपचार गराउन विपन्न तथा मध्यम वर्गका परिवारलाई धेरै कठिनाइ देखिएको छ । सर्वेक्षण २०७५ ले श्रमिकको मासिक औसत आम्दानी रु १७ हजार आठ सय उल्लेख गरेको छ । यति रकम कमाउने वर्गलाई क्यान्सर, मिर्गौला, मुटु, फोक्सो, मस्तिष्क जस्ता अङ्गमा रोग लाग्यो भने उपचार गराउने कुरा कल्पनाबाहिर हुन्छ, ध्यानाकर्षणपत्रमा भनिएको छ । मधेस प्रदेशमा मजदूरी गरेर जीविकोपार्जन गरिरहेको आम मानिसको लागि कडा प्रकृतिको रोगको उपचार असम्भव भएको अवस्थामा मधेस प्रदेशले यस्ता प्रकारका रोगको उपचारको लागि सङ्घ र अन्य प्रदेश सरकारले व्यवस्था गरेभन्दा थप आर्थिक सुविधा उपलब्ध गराइ सहज उपचार गराउन कानूनी व्यवस्था मिलाउनका लागि नेका मधेस प्रदेशले मुख्यमन्त्रीसँग माग गरेको छ ।

त्यस्तै, सरकारले मिर्गौलासहित क्यान्सर, अल्जाइमरलगायत आठवटा कडा रोग भएका नागरिक, जनआन्दोलनका घाइते, शहीद परिवारलाई उपचारमा सहुलियत दिने गरे तापनि प्रशासनिक झन्झटका कारण सबै बिरामीले सरकारी सहुलियत सहजरूपमा पाएका छैनन् । नागरिकहरूले भोग्दै आएका कठिनाइलाई मध्यनजर गरी उपचारसम्बन्धी विशेष सहुलियतको कानूनी व्यवस्था कायम गरी सोको यथाशीघ्र कार्यान्वयन गराउन मुख्यमन्त्रीसँग माग गरिएको छ ।

अहिले मधेस प्रदेशमा डेंगु तथा आँखा पाक्ने रोगको प्रकोप बढेको अवस्था छ । यस्ता प्रकारका अल्पकालीनरूपमा देखा पर्ने विभिन्न प्रकारका सरुवा रोगहरू नियन्त्रणका लागि समेत सरकारले ठोस कदम चाल्नुपर्ने ध्यानाकर्षणपत्रमार्फत माग गरिएको छ ।

यसैगरी, मधेस प्रदेशका जिल्लाहरूलाई लक्षित गरी सुविधासम्पन्न स्त्री तथा प्रसूति अस्पतालको स्थापना गरिनुपर्ने, सडक दुर्घटनाका घाइतेलाई प्राथमिकतामा राख्दै सुविधासम्पन्न ट्रमा सेन्टरको स्थापना हुनुपर्ने तथा सर्पदंशबाट पीडित नागरिकका लागि भेन्टिलेटरसहितको सर्पदंश अस्पतालको स्थापना गरे मधेस प्रदेशले परिकल्पना गरेको स्वास्थ्य सेवा विस्तारका योजनालाई उचित न्याय हुने ध्यानाकर्षणपत्रमा विश्वास गरिएको छ ।

स्वास्थ्य विभागकी प्रमुख शर्मिला थापाले मधेस प्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादवको रोहबरमा मुख्यमन्त्री यादवलाई ध्यानाकर्षणपत्र बुझाएको नेपाली काङ्ग्रेस मधेस प्रदेश सूचना, सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख नितेश गुप्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here