– राजेश मिश्र
“ए, घुस्क ना हो, एक डोल पानी हमरो के भर लेवे द ।” अघिदेखि ट्याङ्करनिर उभिरहेकी महिलाले क्रोधित स्वरमा कराइन् । पृथ्वीलोकमा अवस्थित एक देशको समतल भूभागमा पानीको हाहाकार थियो । गाउँभन्दा शहर बढी आक्रान्त थियो । हुने खाने वर्ग महँगो डिप बोरिङ गाड्ने धुनमा थिए भने मध्यम वर्गीय जनमानस खानेपानीको कार्यालयमा दिनभरि लाइनमा बस्न बाध्य थिए । सबैभन्दा बढी पीर गरीबजनलाई थियो । उनीहरूले पानीको प्रतीक्षामा ट्याङ्कर कुर्नुको विकल्प थिएन । मानव सभ्यतामाथि प्रकृति क्रोधित थियो । कतै खडेरी त कतै बाढीको रूपमा आक्रोश पोखिरहेको थियो ।
नारायण…नारायणको गुञ्जले कैलाश पर्वत गुञ्जायमान भयो । नारदमुनिको आगमन भयो । भगवान् भोलेनाथ ध्यानमग्न हुनुहुन्थ्यो । त्यस कारण नारदमुनिले पृथ्वीलोकमा पानीको हाहाकारबारे माता पार्वतीलाई अवगत गराएर अन्तध्र्यान हुनुभयो । माता चिन्तित हुनुभयो । भगवान् भोलेनाथले दिव्य दृष्टिले माता पार्वतीको चिन्ता अवगत गर्नुभयो । आँखा खोल्दै – “हे देवी ! के भयो ? किन चिन्तामग्न हुनुहुन्छ ?” भगवान् भोलेनाथले प्रश्न गर्नुभयो । “हे महादेव १ पृथ्वीलोकमा पानीको सङ्कट उत्पन्न भएको कुरा नादरमुनिले सुनाउनुभयो । आखिर यस्तो किन भइरहेको छ ?” –चिन्तामग्न देवी पार्वतीले प्रतिप्रश्न गर्नुभयो ।
जब पानीको हाहाकार महादेवसम्म पुग्यो, तब भोलेनाथले मुस्कुराउँदै भन्नुभयो– “हे देवी ! पृथ्वीलोकमा किन पानीको सङ्कट खडा भएको छ ? तपाईं प्रत्यक्ष दृष्टिगत गर्नुहोस् ।” देवी पार्वतीको ध्यान पृथ्वीलोकतर्फ आकृष्ट भयो ।
अँध्यारो रातमा मानिसहरू वनजङ्गलमा रूख काटिरहेका थिए । तस्करहरूको पैसाले वनरक्षक मदिरापान गरी लठ्ठ थिए । त्यसैगरी पानी सञ्चय हुने प्राकृतिक क्षेत्र ढुङ्गा, गिटी र बालुवाको उत्खननले आक्रान्त थियो । भगवान् भोलेनाथले माता पार्वतीसँग भन्नुभयो–“मानवीय उपभोगका लागि सबैथोक पृथ्वीलोकमा उपलब्ध छ । तर मानव केवल उपभोग गर्न तल्लीन छ । प्रकृतिको नियम र सन्तुलन कायम राख्ने उपाय थाहा भएर पनि बेखर छ ।”
भगवान् भोलेनाथले पृथ्वीलोकको प्रत्येक देशमा राज्य सञ्चालन गर्ने संयन्त्र रहेको कुरा माता पार्वतीलाई अवगत गराउनुभयो । देश र जनताको आवश्यकताप्रति सचेत हुनु उनीहरूको दायित्व रहेको कुरा अवगत गराउनुभयो ।
महादेवले भन्नुभयो– पृथ्वीलोकका विज्ञहरूले प्राकृतिक नियमविपरीत मानवीय गतिविधि नै सङ्कट निम्तिनुको मूल कारण रहेको अवगत गराउँदै आएका छन् । उनीहरूले धर्ती रिचार्ज हुने प्राकृतिक स्रोत जलवर्षा हो भन्दै आइरहेका छन् । यद्यपि वनजङ्गलको फडानी र पानी सञ्चय हुने क्षेत्रको दोहन दिनहुँ भइरहेको छ । अमानवीय प्रहारको कारण प्रकृति रुष्ट छ । बाढी, खडेरी र भूक्षय आदि विभिन्न रूपमा प्राकृतिको क्रोध प्रकट भइरहेको छ । यद्यपि यसप्रति न राज्य संयन्त्र, न मानवीय संवेदना सचेत छ । यावत् कुरा भगवान् भोलेनाथले देवी पार्वतीलाई बताउनुभयो ।
देवी पार्वतीले पनि मानवीय हरकत दृष्टिगत गर्नुभयो । यद्यपि मानवीय कष्टप्रति माताको ह्दय विभोर भयो । उहाँले भगवान् भोलेनाथसँग मानवमाथि दया गर्न बिन्ती गर्नुभयो । भगवान् भोलेनाथ मुस्कुराउनुभयो । दिव्यदृष्टिले पानीको हाहाकार भएको शहरतर्फ देवी पार्वतीको ध्यान आकृष्ट गराउनुभयो । माता पार्वतीको पानीको सङ्कट खडा भएको क्षेत्रको मानवीय लीलातर्फ ध्यानाकृष्ट भयो ।
एकजना नेताजी मौकामा चौका हान्ने उपाय सोचिरहेका थिए । आपूm निकट संस्थाका उत्तराधिकारीलाई फोन गरे । पानीको विषयमा कार्यक्रम गर्न सुझाए । नगरको चर्चित संस्था निद्राबाट ब्युझँदै पानी सम्बन्धी कार्यक्रम गर्ने बारे विचारमग्न भए । उनले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने विचार गरे । नेताजी औधी खुशी भए । विषय समयसापेक्ष थियो र भाइरल हुने सम्भावना बढी थियो ।
“हेलो, मन्त्रीजी नमस्कार १ पानीको विषयमा कार्यक्रम आयोजना गर्दैछु ।” उनले करबद्ध प्रार्थना गर्दै भने–“हजुर सम्बन्धित मन्त्रालयको मन्त्री हुनुहुन्छ । कार्यक्रमले यस क्षेत्रमा मेरो मानसम्मान उच्च हुनुका साथै तपाईंको पनि जयजयकार हुनेछ । त्यस कारण यहाँको उपस्थिति अपेक्षित छ ।” मन्त्रीजी गद्गद भए र गहिरो मुस्कानसहित निमन्त्रण स्वीकार गरे ।
महीनौंपछि बसेको संस्थाको बैठकले “पानी कसरी बचाउने ?” भन्नेबारे प्रतियोगिता गर्ने निर्णय ग-यो । प्रतियोगिताको मिति र समय घोषणा गरियो । शहरको भव्य होटल बूक गरियो । विद्यार्थीहरूको सहभागिताका लागि वक्तृत्वकलाको शीर्षकसहित विद्यालयहरूमा निमन्त्रण प्रेषित गरियोे ।
भव्य मञ्च र सुन्दर सजावटसहित पण्डाल निर्माण गर्ने व्यवस्था मिलाइयो । प्रतिस्पर्धी विद्यार्थीहरूका लागि बेन्च र अतिथिहरूका लागि उच्चकोटिका सोफा र आरामदायी कुर्सी, पानीको समस्या नहोस् भनेर राम्रो ब्रान्डको पिउने पानी आदि बन्दोबस्त गरियो । उपस्थित महानुभावहरू मध्ये एकले भने–“सबै बन्दोबस्त त भयो । तर, विद्युत् घरी आउने र घरी जाने अवस्था छ । त्यस कारण मन्त्रीजी भाषण गरिरहेको बेला विद्युत् गयो भने के गर्ने ?” माहोल गम्भीर भयो ।
आकस्मिक अवस्थाका लागि जेनरेटर बन्दोबस्त गरियोे । खाजामा तात्तातो गुलाब जामुन, रसभरी र चिसो पेय पदार्थका साथै चिया र समोसाको अर्डर गरियो । त्यसैगरी, मन्त्रीका लागि सुन्दर स्मृति–चिह्न र विजेता विद्यार्थीहरूका लागि विभिन्न प्रकारका पुरस्कारजन्य सामग्री खरीद गरियो । सबै प्रकारको बन्दोबस्त भइसकेको थियो ।
आज कार्यक्रम हुने दिन थियो । यस अघि धेरै प्रकारका यस्ता प्रतियोगिताका अनुभवी विद्यार्थी भाइबहिनीहरू उपस्थित भइसकेका थिए । मन्त्री तथा नेतागण मञ्चमा आसीन भए । कार्यक्रम स्थलमा सामान्य नागरिकको उपस्थिति शून्य र कार्यकर्ताहरूको उच्च भीड थियो । उद्घाटन र स्वागत भाषणपछि वकतृत्वकला प्रतियोगिता शुरू भयो । “पानी कसरी जोगाउने ?” विषयमा प्रतिस्पर्धी विद्यार्थीहरूले आआप्mनो तर्क प्रस्तुत गरे । उनीहरूले–“वन–जङ्गल र पानी सञ्चित हुने प्राकृतिक क्षेत्रको संरक्षण गर्नुपर्छ । वृक्षारोपण गरेर झारा टार्ने कार्य गर्नुहुँदैन । सोको समुचित देखभाल गर्नुपर्छ” आदि इत्यादि तर्कहरू पेश गरे ।
समापन मन्तव्यमा मन्त्रीजीले भने–“पानी विना संसारको कल्पना गर्न सकिंदैन । विद्यार्थी भाइबहिनीहरूको तर्क सराहनीय छ । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।” थप्दै मन्त्रीजीले भने–“तपाईंहरूले ‘पानी कसरी जोगाउने ?’ भन्ने वक्तृत्वकलाको माध्यमबाट दिएको सन्देशले म अति प्रभावित छु र ह्दयदेखि नै प्रशंसा गर्दछु” । मन्त्रीजीको भाषण नसकिंदै भीडमा उपस्थित एक महिलाले ठूलो स्वरमा पानीको अभावबारे गुहार गरिन् । आक्रोशपूर्ण स्वरमा उनले भने– “एक डोल पानी खातिर चार/चारघण्टा लाइन में खडा होखे के परता । पानी के अभाव में प्लास्टिक से लइकन सन के गाँड पोंछे के परता” भनिन् । मन्त्रीलाई आमन्त्रण गरेका नेताले आप्mनो मानमर्दन हुने सम्भावना देखे । कार्यकर्ताहरू तर्फ इशारा गरे । उनीहरूले ती महिलालाई पाखुरा समातेर कार्यक्रमस्थल भन्दा निकै पर पु-याइदिए ।
विजेता घोषणा र पुरस्कार वितरण गरियो । कार्यक्रम सम्पन्न भयो । विद्यार्थी तथा अधिकांश कार्यकर्ताहरू प्रस्थान गरे । खासखास मानिसहरूबीच अनौपचारिक कुराकानी भइरहेको थियो । चियापान गर्दै मन्त्रीजीले विपक्षी दलको असहयोगका कारण पानीको समस्या हल गर्न नसकिएको गुनासो पोखे । सबैभन्दा राम्रो पक्ष भनेको मन्त्रीजीले केही भद्रभलाद्मीहरूलाई व्यक्तिगत प्रयोगका लागि स्वच्छ पानीका बोतलहरू उपहार दिए, जुन शहरमा स्थापना भएको नयाँ मिनरल वाटरको कारखानाको सौजन्यबाट प्राप्त भएको थियो । उक्त कारखाना मन्त्री सन्निकट एक उद्योगीको थियो । ‘एक तीर दो निशाना’ भनेझैं मन्त्री सहभागी कार्यक्रममा निश्शुल्क पानी वितरणले ब्रान्डको प्रचार र उद्योगीको सेवाभाव समाजमा प्रवाहित हुने नै भयो । प्रतियोगितालाई राम्रोसँग सञ्चालन गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिंदै मन्त्रीजीले भने–“पानी कसरी जोगाउने ? भन्ने महŒवपूर्ण विषयमा आयोजना गरिएको वक्तृृत्वकला प्रतियोगितामार्फत आज हामी सबैले मिलेर समाजलाई अमूल्य सहयोग प्रदान गरेका छौं ।”
रात्रि विश्राम, मदिरापान र रात्रिभोजको प्रबन्धन शहरका चर्चित उद्योगपतिको सानिध्यमा भएको थियो । शराब र चिसो मिनरल वाटरको मिश्रणले पेग अतुलनीय आनन्ददायक थियो । हाँसो र ठट्टाका साथै मध्यरात भएको कसैलाई पत्तै भएन ।
भोलिपल्ट पत्रपत्रिकाहरूमा मन्त्रीको सामूहिक तस्वीरसहित कार्यक्रमको वृत्तान्त प्रकाशित भयो । यता पानी प्राप्त गर्ने आशामा आमजनता ट्यांकरको जोहो गर्दै पङ्क्तिमा खडा थिए । उता मन्त्रीसहित मन्त्रीलाई आमन्त्रण गरी बोलाएका नेता, केही उद्योगपति र आयोजक संस्थाका मानव जमात पत्रपत्रिकामा समाचार पढ्दै मख्ख थिए । यो खबर फैलाउनका लागि चारजना कार्यकर्तालाई क्रमशः (१) फेसबूक उर्फ रूरूलाइक, कमेन्ट, शेयर, (२) ट्विटर उर्फ रूरूकुहु–कुहु, (३) युट्युब उर्फ रूरूहोहल्ला र (४) ह्वाट्सएप उर्फ फरवार्ड बाबुको जिम्मा दिइयो ।
भगवान् भोलेनाथले देवी पार्वतीको अनुहार अवलोकन गर्दै भन्नुभयो–“हे देवी ! अनुहार किन मलिनो छ ? यो पृथ्वीलोककोे केवल उदाहरण मात्र हो । इच्छा छ भने संसद् भवन, सिंहदरबार, मन्त्रालय, मन्त्री निवास आदिको अवलोकन भ्रमण गर्नुहोस् । हात्तीको खाने दाँत र देखाउने दाँतबारे अवगत हुनेछ ।” देवी पार्वतीको तर्फबाट कुनै प्रतिक्रिया आएन । तत्पश्तात् भगवान् भोलेनाथ तपस्यामा लीन हुनुभयो । अस्तु !