सिजियाजुआङ, २६ साउन/सिन्ह्वा
उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्मा परी बिहीवारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले शुक्रवार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा व्यापक क्षति पु-याएको छ ।
शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, सञ्चार, खानेपानीलगायत पूर्वाधारमा क्षति पुगेको छ । योसँगै प्रान्तले ९५.८१ बिलियन युआन (लगभग १३.३८ बिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति बेहोरेको बताइएको छ । साथै प्रकोप सृजित क्षतिको समग्र मूल्याङ्कन र प्रमाणीकरण कार्य भइरहेको पनि बताइएको छ ।
बिहीवारसम्म बाढीबाट करीब ३० लाख ८९ हजार मानिस प्रभावित भएका छन् । साथै कुल ३१९,७०० हेक्टर बाली प्रभावित भएको छ भने १ लाख ३१ हजार ५०० हेक्टर क्षेत्रफल खेतीयोग्य भूमिमा क्षति पुगेको छ ।
प्रकोपबाट ४०,९०० घर भत्किएका छन् भने १,५५,५०० घरमा नराम्ररी क्षति पुगेको छ । शिशु शिक्षालयसहित १,१५० प्राथमिक र माध्यमिक विद्यालयमा क्षति पुगेको छ । रासस