प्रस, निजगढ, २४ साउन/
केही दिनदेखि परेको अविरल वर्षाले निजगढस्थित बकैया खोलामा आएको बाढीले पुल, राजमार्ग, बस्तीनजीकैको ड्याम भत्किने क्रम बढेपछि सोमवार रातिदेखि नै आसपासका स्थानीयवासी त्रासमा छन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ नगरपालिका–८ स्थित बकैया पुलदेखि तीन सय मिटरनजीकैको पूर्वतर्फको ड्याम बाढीले उच्च कटान गरेपछि स्थानीयवासीहरूमा त्रास बढेको हो ।
निजगढ नपाको आग्रहमा सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस निजगढ, इलाका प्रहरी कार्यालय, निजगढ, फास्ट ट्र्याकमा खटेको नेपाली सेना, निजगढ नपाका प्राविधिक, कर्मचारी, सडक डिभिजन कार्यालय, हेटांैडाका प्राविधिकसहितको टोलीले बाढीको जोखिम घटाउन हिजो बिहानदेखि नै बोरामा गिट्टी भर्दै खोलामा खसाल्ने कार्य गरे पनि तत्कालै प्रभावकारी नदेखिएपछि मोहोरीबाट ठूला ढुङ्गा टिपरमा ल्याएर ड्याम कटान गरिएको खोलामा खसालिएको छ । ढुङ्गाका कारण तटबन्ध कटान कम भएको अनुमान छ । यसैगरी, हिजो बेलुकीदेखि बकैया खोलाको पानीको धार परिवर्तन गर्न तीनवटा एक्साभेटरले निरन्तर खोलामा च्यानलाइज्डको कार्य गरिरहेको छ ।

ड्याम पूर्णरूपमा फुट्दा निजगढ नपा–८ स्थित सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस, बकैया पुल, राजमार्ग, बकैया ठाकुर विद्यालय, नेपाल विद्युत् प्राधिकरण निजगढ, सुकुमबासीबस्ती, गैरीगाउँ, बकैयाटोल आसपासका १५ सयभन्दा बढी घरधुरी उच्च प्रभावित हुने देखिन्छ ।

राजमार्गको बकैया पुलदेखि ५०० मिटर दायाँ–बायाँको क्षेत्राधिकार सडक डिभिजन कार्यालय, हेटौंडाको रहेकोले वर्षामा बाढीले ड्याम कटान गर्दै बस्तीतर्फ आउन सक्ने सम्भावनालाई मध्यनजर गरी रोकथामका लागि आफूले पटकपटक आग्रह गरे पनि बजेट अभाव देखाउँदै पुलको संरक्षण हुनेगरी मात्रै तारजाली भर्दा अहिले बस्ती जोखिममा पर्न थालेको निजगढ नगरप्रमुख सुरथ पुरीले बताए ।

सडक डिभिजनले आफ्नो क्षेत्राधिकारभित्रको पुल, तटबन्ध सुरक्षित गर्ने कार्यलाई बेलैमा ध्यान नदिंदा बर्सेनि बाढी बस्तीमा पस्ने जोखिम उच्च भएको नगरप्रमुख पुरीको भनाइ छ ।

उनले स्थानीय साधन स्रोतले भ्याएसम्म तत्कालका लागि बाढी रोकथामका उपायहरू अपनाइरहेको बताएका छन् । अविरल वर्षाले चुरे फेदमा रहेका रतनपुरको डमरपुर, भक्तलाल, कुलिया, रामथली, बारथली, बुङ्जोर, लाल, सिंगौलमा रहेका खोला खोल्सी, खहरेले खेतीयोग्य जमीन तीव्र कटान गरिरहेकाले नगरपालिकाको भ्याकुलोडरले रोकथामका प्रयास गरि रहेको निजगढ नपाकी उपप्रमुख सोममाया थिङले बताइन् । सो क्षेत्रमा २० हेक्टरभन्दा बढी जमीन कटान भएको स्थानीयहरूको भनाइ छ ।

निजगढमा बाढीका कारण ड्याम भत्किएर बाढी बस्तीमा पस्न सक्ने सम्भावना बढेपछि बाराका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष नवराज सापकोटा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न हिजो निजगढ आएका थिए । राजमार्गको बकैया पुल उत्तरतर्फको निश्चित क्षेत्रमा नदीजन्य पदार्थ थुप्रिएकाले नदीले धार परिवर्तन गर्दा यस किसिमको विपत् आइपरेको प्रजिअ सापकोटाले बताए ।

स्थानीय तह निजगढ नपाको नगरस्तरीय विपत् व्यवस्थापन समितिको निर्णय प्राप्त भएपछि जतिसक्दो छिटो जिल्लास्तरीय विपत् व्यवस्थापन समितिले प्राविधिक टोली खटाइ सो टोलीले दिएको रायसुझावको आधारमा थुप्रिएका नदीजन्य पदार्थको उचित व्यवस्थापन गर्न आफूले निर्देशन दिएको प्रजिअ सापकोटाले जानकारी दिए ।

विपत्को बेला जनधनको क्षति हुन नदिन स्थानीय तहलगायत सबैको उत्तिकै जिम्मेवारी रहेकाले तत्कालै यसतर्फ ध्यान दिन सबै पालिकालाई आग्रह गरिएको उनले बताए ।

बाढी मापन यन्त्र बकैया पुलमा जडान भएकोले खोलामा बाढीको बहाव उच्च हुनासाथ निजगढस्थित सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस निजगढलाई जानकारी हुने हुनाले सो जानकारी पाउनासाथ बाढी प्रभावित क्षेत्रका स्थानीयहरूलाई जानकारी प्रवाह गरिने उनले बताए । त्रासमा नबसे पनि चनाखो भएर बस्न सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस निजगढका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र थापाले बताए ।

उनले बिहानको तुलनामा खोलामा पानीको बहाव निकै घटिसकेको तर पानी परेको खण्डमा बहाव बढ्ने बताए । बकैया पुललाई पूर्णरूपमा निस्तेज गरी नयाँ पुल निर्माण गर्ने सरकारको योजना रहेको पुल विभाग, सडक विभागले बकैया पुल र ड्यामका लागि चार वर्षयतादेखि बजेट विनियोजन नगरेको सडक डिभिजन कार्यालय, हेटौंडाका इन्जिनीयर रमेश पाण्डेले बताए ।

स्थानीय तह निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का लगाउँदै आए पनि बेलैमा उचित अनुगमन नगर्दा ठेकेदारले ठेक्कामा तोकिएभन्दा दैनिक सयौं गुना बढी नदीजन्य पदार्थ उत्खनन, दोहन गर्दै मापदण्डको खिल्ली उडाएकै कारण अहिले सानो प्राकृतिक विपत्तिले ठूलो क्षति पु-याएको स्थानीयको आरोप छ ।

विगत पाँच–सात वर्षयतादेखि खोलाका ड्याम भत्किने क्रम जारी रहे पनि यसको मर्मत, सम्भार र थप ड्याम निर्माण नगर्दा बर्सेनि बाढीको त्रास रहेको छ । स्थानीय तह निजगढ र कोल्हवी नगरपालिकाले आन्तरिक राजस्वको स्रोतका नाममा बर्सेनि बकैया खोलामा नदीजन्य पदार्थ (दहत्तर बहत्तर)को १५ देखि २० करोड रुपैयाँसम्मको ठेक्का लगाउँछन् ।

ठेक्का लगाइएका खोलाबाट ठेकेदार कम्पनीले तोकिएको मापदण्ड, परिमाणलाई उल्लङ्घन गर्दै अधिक नदीजन्य पदार्थ उत्खनन, दोहन गर्छ । जसका कारण खोलाको प्राकृतिक पानी बग्न सतहले धार परिवर्तन गर्दा माथिल्लो तटीय क्षेत्र, पुल, ड्याम जस्ता संरचनाहरूमा कटान गर्ने र तल्लो तटीय क्षेत्रमा बालुवा थुपार्ने गर्दा वन, मानवबस्ती, खेतीयोग्य जमीन, पुल पुलेसा, राजमार्ग उच्च जोखिममा पर्ने गरेका छन् ।

यस खोलाको शिर चुरे र आसपासमा अझै वर्षा बाढीको त्रास बढ्ने सम्भावना अधिक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here