प्रस, वीरगंज, १९ साउन/

वीरगंज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र पछिल्लो केही वर्षमा ट्र्याकबाहिर गएकोमा अहिले ट्र्याकमा आइसकेको बताएका छन् । उनले नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा पुगेको दाबी गरे ।

देशको अर्थतन्त्र आर्थिक वृद्धितर्फ गएको हँुदा चालू आव २०८०/८१ बाट जनता एवं व्यवसायीले बैंकबाट ऋण पाउने वातावरण बन्दै गएको बताए । आयातित वस्तुमा लेबलिङ गर्नुपर्ने प्रावधान सरकारले लगाएकोमा केही समय चुनौतीपूर्ण देखिए पनि यसले नेपालको अर्थतन्त्रमा दूरगामी नतीजा दिने उनले जिकिर गरे । वैदेशिक ऋण तथा सहायताको दायित्व बढेर तीन खर्ब सात अर्ब पुगेका कारण चालू आवको बजेटमा पूँजीगत खर्च कम भएको उनले चर्चा गर्दै व्यवसायमा पनि केही बेइमान व्यवसायीका कारण सरकारले कडाइ गर्नुपरेको उनले बताए । उनले भन्सार तथा राजस्व सङ्कलन गर्ने निकायहरूबीच एकापसमा सहकार्य नदेखिएकामा चिन्ता व्यक्त गरे । उनले राज्यको राजस्व सङ्कलन लक्ष्य पूरा गर्न प्रहरी, प्रशासन, भन्सार, आन्तरिक राजस्व, राजस्व अनुसन्धानलगायत सबै निकाय एक भएर काम गर्न निर्देशन दिए ।

देशको उत्पादन क्षेत्रमा प्याजमा भ्याट लगाउनुले स्वदेशी उत्पादनलाई टेवा पुर्याउन यस्तो नीति लिइएको बताउँदै उनले देशमा व्यवस्थित गाँजाखेती गरी आयुर्वेदसम्बन्धी उद्योगबाट फाइदा लिन सरकारले व्यवस्थित गाँजाखेतीको अध्ययन गर्न लागेको बताए । उनले चुरेको गिट्टी, बालुवा उत्खनन गरी भारतमा निकासी गर्दा राज्यलाई फाइदा पुग्ने भएकोले त्यस्तो नीति लिंदा केही पक्षले विरोध गर्दा झमेला खडा भएकोसमेत उनले बताए ।

वीरगंजको सिंचाइ एवं खानेपानी समस्या समाधानका बारेमा तत्काल र दीर्घकालीन समस्या समाधानको लागि सरकारले दिगो नीति बनाएर जाने तयारीमा रहेको उनले बताए । उनले भने, “दिगो लक्ष्यको लागि वैदेशिक दातृ निकायसँग पहल गरेर अघि बढ्छौं, तत्कालको खानेपानी समस्या समाधानको लागि वडास्तरमा डीप बोरिङको अवधारणामा अघि बढ्ने सरकारले तयारी गरेको छ ।”

उनले मुलुकको पूँजीगत खर्च बढाउन राष्ट्र बैंकलाई नीति बनाउन निर्देशन दिइसकेकोले नेपाली उद्योग एवं व्यवसायलाई संरक्षण गर्ने हिसाबले आगामी दिनमा नीति र कार्यान्वयनका कार्यविधि बन्ने ठोकुवासमेत गरे ।

वीउवासङ्घका अध्यक्ष अनिलकुमार अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालयका सल्लाहकार पोषराज पाण्डेय, अर्थसचिव अर्जुन पोखरेल, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here