प्रस, वीरगंज, १९ साउन/

उच्च अदालत अस्थायी इजलास वीरगंजको आयोजनामा  सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत आवको न्यायसम्पादनसम्बन्धी विवरणसहितको कार्यपत्र उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलले प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा अघिल्लो आव २०७८/७९ बाट जिम्मेवारी सरेर आएका दुई हजार ६८३, नयाँ दर्ता तीन हजार ४१६ मुद्दा गरी कुल छ हजार ९९ मुद्दामध्ये तीन हजार २२२ मुद्दा गत आव २०७९/८० मा फछ्र्योट भएका र बाँकी दुई हजार ८७७ मुद्दा चालू आवमा जिम्मेवारी सरेर आएको जानकारी गराइएको थियो ।

कार्यक्रममा सञ्चारकर्मीका प्रश्नको जवाफ दिंदै मुख्य न्यायाधीश भण्डारीले सत्य डगमगाउन नहुने बताउँदै न्यायपालिका र खबरपालिका (सञ्चारमाध्यम)को भूमिका उस्तैउस्तै भएकाले तटस्थ भएर कलम चलाउन उनले आग्रह गरेका थिए । उनको यस जवाफमा सञ्चारकर्मीहरूले न्यायाधीशहरूलाई तटस्थ भएर न्यायको सिद्धान्त परिपालना गर्न सचेत गराएका थिए ।

उच्च अदालत अस्थायी इजलास वीरगंजमा १५ जना न्यायाधीशको दरबन्दी भएपनि सातजना न्यायाधीशले काम गर्नुपर्ने अवस्था भएकोले मुद्दा फछ्र्योट दर कम भए तापनि पछिल्लो दुई वर्षको तुलनामा उक्त दर बढी भएको बताइएको थियो ।

गत आवमा कुल लगत मुद्दाको तुलनामा ५२ दशमलव ८३ प्रतिशत मुद्दा फछ्र्योट भएको जनाइएको थियो ।

अहिले आएर मिटरब्याजीसम्बन्धी विधेयकले न्याय निरूपणमा जटिलता थपेकोले पहिले किनारा लागेका देवानी मुद्दामा जिल्ला प्रशासन कार्यालयमा भइरहेको मिटरब्याजीसम्बन्धी मिलापत्र कानूनसम्मत नभएको मुख्य न्यायाधीश भण्डारीले प्रस्ट पारेका थिए । उनले यस्तो मुद्दामा परमादेश माग्न आउने उपभोक्तालाई अदालतले कानूनसम्मत आदेश दिइरहेकोसमेत जनाए । उनले उच्च अदालत जनकपुर अस्थायी इजलासमा कुनै पनि विकृति विसङ्गतिबारे अदालतलाई प्रमाणसहित जानकारी गराए त्यसबारे छानबीन गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here