राधेश्याम पटेल, परवानीपुर, १८ साउन/
अत्यधिक गर्मीका कारण पानीको हाहाकार मचेको मध्य तराईका जिल्लामा अर्को समस्या सिर्जना भएको छ ।
सर्वसाधारणमा आँखा पाक्ने रोग (कन्जक्टिभाइटिस)को प्रकोप यस भेगमा बढेको छ । मध्य तराईका जिल्ला पर्सा, बारा, रौतहटसँगै भारतको बिहारमा पनि यो समस्या देखिएको नेत्र विशेषज्ञहरूले बताएका छन् । मध्य तराईको सबैभन्दा पुरानो आँखा अस्पताल केडिया आँखा अस्पताल, परवानीपुरका नेत्र विशेषज्ञ डा नितिन तुल्स्यानले अहिले दैनिक सयजना बिरामीमध्ये ४० जनामा यस्तो समस्या भेटिएको बताए । उनले गर्मीको कारण प्रदूषित पानी तथा हावाका कारण यो रोग फैलिरहेको बताए । उनले पछिल्लो समय पर्सा, बारा, रौतहट, मकवानपुर, भारतको बिहारलगायतका ठाउँबाट बालबालिका, युवा, वृद्धवृद्धालगायतहरूमा यस्तो प्रकोप देखिएको उनले बताए ।
आँखा पाक्ने रोग भन्नाले पूरै आँखा रातो हुने, आँसु झर्ने, आँखा पोल्ने, दुख्ने जस्ता यो रोगका लक्षणहरू हुन् । यो रोगबाट बच्न सङ्क्रमितभन्दा टाढा बस्ने, चश्मा लगाउने, सरसफाइमा ध्यान दिने, धूवाँ, धूलो र प्रदूषित पानी प्रयोगबाट बच्ने, स्वीमिङपुलमा ननुहाउने, सङ्क्रमित बालबालिकालाई विद्यालय वा सार्वजनिक स्थानमा नपठाउने जस्ता सावधानी अपनाउन नेत्र विशेषज्ञहरूले सुझाव दिएका छन् ।
केडिया आँखा अस्पतालका व्यवस्थापक प्रकाशकुमार बर्माले प्रकोपको सर्ने दरलाई घटाउन स्थानीय पालिकाले विद्यालय बन्द गरी सहयोग गर्न अपील गरेका छन् । उनले विद्यालयमा एक बच्चाबाट अर्को बच्चा र त्यसपछि घरपरिवार हँुदै सबै समाजमा यो रोगको सङ्क्रमण फैलिरहेकाले सही समयमा तयारी गरी रोगको प्रकोपलाई नियन्त्रण गर्न उनले आग्रह गरे ।
अहिले वीरगंजका विभिन्न सरकारी र निजी विद्यालयका बालबालिकामा सङ्क्रमण देखिएका छन् । विद्यार्थीमा सङ्क्रमण देखिएपछि विद्यालयले ती बच्चालाई उपचार गरी मात्रै विद्यालय आउन आग्रह गरेको छ ।
ग्रामीण भेगमा पनि आँखा पाक्ने रोगको प्रकोप
धमेन्द्र चौरसिया, पोखरिया/
पर्सामा आ“खा पाक्ने रोग दिन प्रतिदिन बढ्दै गएपछि अहिले आँखा अस्पतालहरूमा भीड लागेको छ । अत्यधिक गर्मी तथा प्रदूषित हावाका कारण आ“खा पाक्ने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको पोखरिया अस्पतालले जनाएको छ ।
सो रोगबाट सबैभन्दा बढी स्कूले विद्यार्थीहरू पीडित भएका छन् । रोगको कारण अधिकांश विद्यालयमा पठनपाठन पनि प्रभावित हुने गरेको शिक्षकहरू बताउ“छन् । रोग निदानको लागि चिकित्सकको रायसुझाव लिई औषधि खाने तथा सफा पानीले आँखा सफाइ गर्ने, कालो चश्मा लगाउने चिकित्सकले सुझाव दिएका छन् ।