पर्साको मात्रै होइन, मधेस प्रदेशकै सुदूरपश्चिममा अवस्थित ठोरी प्रदेशकै पहिलो र एकमात्र पर्यटकीय क्षेत्र घोषित गाउँपालिका हो । पर्यटन क्षेत्र घोषणाको लागि यहाँको पानी अर्थात् जलाधारले पनि महत्वपूर्ण टेवा पुर्याएको हो । ठोरी गापाका ठुटे खोला, जरायो खोला, सरस्वता त्यसैगरी ओडार मुहान क्षेत्रमा गर्मीयामताका पानीमा डुबुल्की मार्न टाढादेखि आगन्तुकहरू आउने गर्छन् । मुख्यतः पर्साका वीरगंजलगायत अन्य पालिकाहरू, बाराको जीतपुरसिमरा, सीमावर्ती भारतीय शहर नरकटियागंज र सो आसपास क्षेत्रका बासिन्दाहरूसमेत ठोरी आउने गर्छन् । हिउँदमा तातो पानी र गर्मीमा चीसो पानी आउने अमृतधारा, राईधारालगायत मुहानबाटै निस्किएका धाराहरूको महत्व छुट्टै छ । यी धाराहरूमा मूलबाट पानी निकालिएका कारण चीसो मौसममा तातो र गर्मीमा चीसो पानी हुने गरेको हो । मूलको पानी शुद्ध हुने भएकोले भारतीय क्षेत्र भिखना ठोरीका बासिन्दा पिउने पानीको लागि समय खर्चिएर नेपालको राईधारामा आइपुग्थे । पिउने पानीका लागि भारतीयहरू लाम लागेर दिनहुँ नेपालतर्फ आउने गरेको थाहा पाएपछि भारत सरकारले अहिले ठोरी सीमावर्ती भारतीयलाई घरघरमा शुद्ध र चीसो पिउने पानीको व्यवस्था गरिदिएको छ ।
ठोरी गापाको वडा नं १ देखि ५ सम्मका सबै वडामा प्राकृतिक मुहानको पहुँच छ । वडा नं १, ४ र ५ मा मुहान केही टाढा भएपनि पहुँच नभएको भने होइन । वडा नं २ र ३ मा स्थानीय मुहानबाट सिंचाइ नहरहरू बगेका छन् । पालिकाको क्षेत्रमा जताततै सिंचाइ बोरिङ सफल छ । अव्यवस्थित र अवैज्ञानिक किसिमले सिंचाइ बोरिङ जडान गरिएको भए तापनि यसपालिको खडेरीमा अन्यत्र पानी सुक्दा पनि यहाँका बोरिङहरूमा पानीको स्तर कम भएन । यसको मतलब यहाँ पिउने पानीको लागि पनि बोरिङ जडान भरपर्दो छ भन्ने हो । फेरि पनि ठोरीका अधिकांश क्षेत्रमा शुद्ध पिउने पानीको व्यवस्था छैन । टङ्कीबाट वितरण गरिएका केही टोलहरूबाहेक अधिकांश क्षेत्रमा जङ्गलस्थित मुहानमा इन्टेक बनाएर पाइप जडान गरी गाउँमा पानी वितरण गरिएका छन् । पञ्चायतकालको उत्तराद्र्धमा निर्मित उक्त खानेपानी योजनाबाट वितरित पानी शुद्ध र भरपर्दो छैन । जङ्गलस्थित पानीको पाइप हात्तीले भत्काउने, बँदेलले खन्नेलगायतका समस्या आइरहन्छन् । वडा नं ५ मा वितरण गरिएको खानेपानीको पाइप यसै साता हात्तीले भत्कायो । वर्षात्मा खोला खहरेले भत्काइरहन्छ ।
मुहानको इन्टेक खुल्ला छ, जङ्गली जनावर एवं पक्षीहरूको क्रिडास्थल यही हो । कतिपय अवस्थामा जङ्गली जनावर मरेर मुहान क्षेत्रमा सडिसकेका हुन्छन् । डढेलोको बेलामा खरानी पर्ने र बर्खाको बेला भेल, बाढीले आसपासका सडेगलेका फोहोर मुहानमा मिसाउने गर्छ । डीप बोरिङमार्फत खानेपानी योजना सञ्चालन गर्ने योजना नबनेको होइन । तीन दशक बितिसकेका निर्माणाधीन योजनाहरूसमेत बेवारिसे बनेका छन् । हिजो जिल्ला खानेपानी योजनामार्फत केन्द्र सरकारको अनुदानमा शुरू भएका योजनाहरू अब कसले स्वामित्व लिने र अगाडि बढाउने ? बेवारिसे बनेका छन् । सिंचाइको लागि जडान हुने डीप बोरिङ र पिउने पानीका लागि जडान हुने डीप बोरिङको मापदण्ड फरक छन् । सिंचाइ बोरिङ जडान भएपनि पिउने पानीको बोरिङतर्फ कुनै सरकारको ध्यान गएको छैन । यस कारण सिंचाइयोग्य पानी पिउन ठोरीका बासिन्दा बाध्य छन् ।