प्रस, परवानीपुर, १७ साउन/
बारा, विश्रामपुर गापा–१ छतवा गाउँका किसानको लागि गरिएको विद्युतीयकरण योजनामा अनियमितता भएको आरोप लागेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कलैया र ठेकेदारमाथि यस्तो आरोप लागेको हो । मधेस प्रदेशको रु ६० लाखको योजना अन्तर्गत उक्त योजना बाराको विश्रामपुर गापा–१ मा आएको थियो । योजना नयाँ तर ट्रान्सफर्मर पुरानो जडान भएपछि उक्त योजनामा अनियमितता भएको किसानहरूले आरोप लगाए । विद्युतीकरण योजनामा छतवा गाउँको सरेहमा १८० थान पोल गाडेर दुईवटा सय केभिएका ट्रान्सफर्मरमध्ये एउटा नयाँ र अर्को पुरानो जडान भएको छ ।
किसानको लागि उक्त विद्युतीकरण योजनामा ट्रान्सफर्मरनजीकै एउटा कृषि मिटर जडान गरिएको छ । सो मिटरबाट उठने महसूल गाउँपालिकाले तिर्ने सम्झौता भएको छ । तर जडान भएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा बिग्रिएपछि अर्को पुरानो ट्रान्सफर्मर जडान गरिएको हो । त्यसले पनि किसानको विद्युत् आपूर्तिलाई धान्न सकेको छैन । छतवाका किसान सोनालाल कुशवाहाका अनुसार आफैं ‘अटो कट’ भएर विद्युत् आपूर्ति भइरहेको छैन ।
नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने ठाउँमा विद्युत्का कर्मचारीको मिलेमतोमा पुरानो जडान गरेर अनियमितता गरेको आरोप लगाइएको छ । यसबारेमा छानबीनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा उजूरी पनि दिएको उनले जानकारी गराए ।
विद्युतीकरण योजनामा अनियमितता हुँदा किसानले दुःख पाएको उनले बताए । अहिले मर्मत गरी जडान भएको दोस्रो पुरानो ट्रान्सफर्मरले पनि लोड धान्न नसकेर किसानले मोटर लगाइ बोरिङबाट सिंचाइ गर्न पाएका छैनन् । जसले गर्दा सो योजनाको बजेटको सदुपयोगसमेत नभएको अर्का किसान रमेश मुखियाको गुनासो छ ।
यस विषयमा नेपाल विद्युत् प्राधिकरण कलैया शाखाका प्रमुख ऋषि वर्णवालसँग बुझ्दा उनले यो गत वर्षको योजना भएको र आफू आएको चार महीना मात्र भएकोले विस्तृत जानकारी नभएको बताए । “पुरानो योजना हो, विस्तृत विवरण हेर्न फाइल हेर्नुपर्छ,” उनले भने, “म अहिले कार्यालयबाहिर छु ।” उनले कार्यक्रम अन्तर्गत नयाँ, पुरानो ट्रान्सफर्मरसँग सरोकार नहुने चर्चा गर्दै केही किसानले फेज–फेजमा हुकिङ गर्दा ट्रान्सफर्मर जलेको बताए । सो समस्या समाधानको लागि कर्मचारीलाई निर्देशन दिइसकेको पनि उनले बताए ।