प्रस, निजगढ, १६ साउन/
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मङ्गलवार बिहान करीब ६ः३० बजे केही स्थानीय र प्रहरीत्रबीच घम्साघम्सी भएको छ ।
प्रहरीले स्थानीय ३५ वर्षीय सागर लामाको घरमा छापा मारी बारुद लोड गरिएको भरुवा बन्दुक र वन्यजन्तुका हाडखोरसहित पक्राउ गरी ल्याउने क्रममा दुई/तीन सयको सङ्ख्यामा जम्मा भएका स्थानीय महिलाहरूले बाटो अवरोध गरी अभियुक्त सागरलाई हत्कडीसहित प्रहरीको कब्जाबाट खोसेर भगाएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्ष्ँक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जना सुरक्षाकर्मी टाँगियाबस्ती गएका थिए । प्रहरीले सर्जमिन मुचुल्का गरी लामालाई पक्राउ गरी फर्कने क्रममा बस्तीमा ठूलो सङ्ख्यामा रहेका स्थानीय महिलाहरू र प्रहरीबीच करीब आधा घण्टा घम्साघम्सी भएको बुझिएको छ ।
“हामीले भीडमा रहेका स्थानीयहरूलाई धेरै आग्रह गर्यो । सम्झायौं तर उनीहरूले प्रहरीको कुनै कुरा मानेनन् । सुनेनन् । प्रहरीमाथि नै हातपात गर्दै जाइ लाग्दै अभियुक्त लामालाई प्रहरीको सुरक्षा घेराबाट खोसेर लगेपछि आत्मरक्षाको लागि पाँच राउन्ड हवाई फायर गरेको हो,” प्रनि श्रेष्ठले बताए ।
प्रहरीले पक्राउ गरिसकेपछि बलजफ्ती गरी हत्कडीसहित भगाउन नहुने जीतपुरसिमरा उपमहानगरपालिका–१६ का अध्यक्ष हरिदेव खरेलले बताए । भगाउन सहयोग गर्ने र भागेका अभियुक्तको खोजतलाश गरी कानूनी दायरामा ल्याउन स्थानीय जनप्रतिनिधिको नाताले आफूले प्रहरी प्रशासनलाई सघाउने वडाध्यक्ष खरेलले बताए ।
घटनास्थलमा खटिएका प्रहरीहरूले गालीगलौज, अपमान सहेर धेरै धैर्यता र संयमता अपनाएका कारण कुनै मानवीय क्षति हुन नपाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । प्रहरीले दसी प्रमाणसहित पक्राउ गरी ल्याउँदै गर्दा हुलहुज्जत गरी कानूनलाई हातमा लिन खोज्नु कानूनविपरीत कार्य भएको प्रउ बोगटीले भने । “प्रहरीले धैर्यता र संयमता गुमाउन पुगेको भए टाँगियाबस्तीमा ठूलो मानवीय क्षति हुन सक्थ्यो तर त्यो हुन पाएन,” प्रउ बोगटीले प्रतिक्रिया दिए ।
सो छापामारीबाट प्रहरीले एक थान बारुद भरिएको भरुवा बन्दुक, एक पाउ बारुद, छर्रा दुईवटा, जङ्गली जनावरका दाँत जस्तो देखिने दुईवटा वस्तु, जनावरका रौं १३ वटा, जनावरका नङ्ग्रा तीनवटा बरामद गरिएको जिप्रका, बाराले जनाएको छ ।
टाँगियाबस्तीमा पछिल्लो समयमा बाघ, चितुवा, जङ्गली हात्ती जस्ता वन्यजन्तुहरूको त्रास निकै बढेपछि स्थानीयले आत्मरक्षाका लागि भरुवा बन्दुक राखेको एकजना स्थानीयले बताए ।