ओमप्रकाश चौधरी, सेढवा, १६ साउन/
पर्साको ग्रामीण भेगमा लागूऔषध दुव्र्यसनीहरू बढेका छन् । यस क्षेत्रका अधिकांश युवाले जाँडरक्सी, बिंडी, चुरोट, गुटखा सेवन गर्ने गरेका छन् ।
कतिपयले गाँजा, चरेस, नशाका ट्याबलेट, नाइट्रोभेट इन्जेक्शनलगायतका लागूऔषध सेवन गर्छन्, जसले गर्दा विकृति बढेको छ । यस्ता नशालु पदार्थ सेवन गरेपछि कतिपय युवाले चेतना नै गुमाउने गरेका छन् भने अनेकौं किसिमको अनैतिक तथा आपराधिक क्रियाकलापमा उनीहरूको सहभागिता हुने गरेको प्रहरीले जनाएको छ ।
लागूऔषध सेवन गर्नेमा विद्यार्थीहरूको सङ्ख्या पनि बढ्दो छ । लागूऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना हुने, झैंझगडा, मारपिट तथा चोरीका घटनामा पनि वृद्धि भएको छ ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्ष्ँक राजाराम केशरीले भारतीय बजारबाट लागूऔषध खरीद गरेर ल्याउने, प्रयोग गर्ने र अन्य ठाउँमा पठाउने कार्य भइरहेको बताए । प्रहरीले सूचनाको आधारमा बेलाबखत केहीलाई पक्राउ गरे पनि खुला सीमाका कारण लागूऔषधको कारोबार गोप्यरूपमा भइरहेको उनले बताए । नशालु पदार्थ ओसारपसार गर्ने अधिकांश १८–२० वर्षका युवा हुने गरेको र प्रायः एसइई दिएर बसेका विद्यार्थीहरूको संलग्नता बढी देखिएको प्रनि केशरीले बताए ।
ठोरी गाउँपालिका–५ सुवर्णपुरका रामबहादुर पाख्रिनले युवामा लागूऔषध दुव्र्यसनी हदैसम्म बढेको बताए । उनले यस्ता विकृति शहरबाट अहिले गाउँमा पसेको बताए । लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्न स्थानीय पालिकाको भूमिका आवश्यक भएको उनले बताए । युवामा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न ताल भन्ने संस्थामा अपील गरेको तर हालसम्म कुनै सूचना नआएको पाख्रिनले बताए ।
हरेक स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालनका लागि प्रत्येक आर्थिक वर्षमा लाखौं रकमको बजेट विनियोजन गरिन्छ तर त्यो कागजमा मात्र सीमित भएको स्थानीयको आरोप छ । कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरूको मिलेमतोमा स्थानीय सामाजिक संस्थालाई कार्यक्रम सञ्चालन गर्न दिने गरिएकाले कार्यक्रम प्रभावकारी हुने गर्दैन ।
पटेर्वासुगौली गापाका अध्यक्ष दिनेशकुमार चौधरीले लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्ने अभियान नै चलाएको बताए । उनले गत आवदेखि विद्यालयबाट सो अभियान शुरू गरिएको बताए । जिल्ला प्रहरी कार्यालय, पर्सासँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम प्रत्येक वडामा प्रभावकारी तवरबाट सञ्चालन भइरहेको अध्यक्ष चौधरीले बताए ।
पर्साका सामाजिक अभियन्ताहरूले बालबालिकाहरू यस्ता विकृति तथा विसङ्गतिमा लाग्नुको पूर्ण जिम्मेवार अभिभावक रहेको बताए । बालबालिका सानै हुँदा अभिभावकले बिंडी, चुरोट, सुर्ती तथा रक्सी खरीद गर्न लगाउने तथा उनीहरूको सामुन्ने सेवन गर्दा बालबालिकामाथि यसको असर हुने गरेको थारूले बताए । उनले दुर्ई दशकपहिले ग्रामीण समाजमा दुव्र्यसनी भने शब्द पनि थिएन तर अहिले यो दुव्र्यसनले यस क्षेत्रमा विकराल रूप लिएको बताए । यसलाई न्यूनीकरण गर्न स्थानीय सरकार, अभिभावक तथा प्रहरी प्रशासनको नैतिक जिम्मेवारी रहेको र एकापसमा समन्वय गरी दुव्र्यसनविरुद्ध सक्रिय भएर लाग्न जरुरी रहेको अभियन्ता थारूले बताए ।