प्रस, निजगढ, १६ साउन/
आफूले जन्माएको बालकलाई बेवारिसे अवस्थामा जङ्गलमा वा एकान्त स्थानमा जिउँदै छाडेर जाने घटनाहरू हाम्रो समाजमा अहिले बढेको छ । जन्म दिएर करीब चार महीनासम्म हुर्काएर चारकोसे झाडीको एकान्त जङ्गलमा जिउँदै बालक छाडेर जाने आमा पनि हुन्छिन् भन्ने शायदै धेरै मानिसले नपत्याउलान् ।
यस्तो घटना बाराको निजगढमा मङ्गलवार भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ सडकखण्डको धन्सार जङ्गलनजीकै करीब चार महिने बालकलाई एकजना यात्रुले जिउँदै फेला पारेका छन् ।
निजगढ प्रहरीका अनुसार बसका यात्रुहरू आज बिहान करीब ८ बजे सडकछेउको जङ्गलमा शौच गर्न जाँदा एकजना यात्रुले झाडीमा अबोध बालक देखेपछि यात्रुहरूको सल्लाहमा उनले बालकलाई इलाका प्रहरी कार्यालय, निजगढमा बुझाएका थिए ।
हामीले बालक ल्याउने यात्रुसँग सोधखोज गरेपछि प्रहरीले बालक बुझेको इप्रका, निजगढका प्रहरी निरीक्ष्ँक घनश्याम श्रेष्ठले बताए । यात्रुका भनाइ अनुसार धन्सार र भमरा पुल सडकखण्डको दक्षिणी जङ्गल किनारबाट लगभग १० मिटर पर झाडीमा बालक फेला परेको जानकारी प्रहरीलाई दिएको प्रनि श्रेष्ठले बताए ।
प्रहरीले तत्कालै निजगढ सामुदायिक अस्पतालमा बालकको स्वास्थ्य परीक्षण गराएका थिए । बालकको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक मुन्ना साहका अनुसार बालकको शरीरका विभिन्न भागमा माटो लागेको र टाउकोमा सानो घाउ देखिएको छ ।
बालकलाई नुहाइधुवाइ गरेपछि घाउको उपचार गरेको र बालकको स्वास्थ्य अवस्था सामान्य रहेको डा साहले बताए ।
बालकलाई हेर्न इप्रकामा स्थानीयहरूको भीड लागेको छ भने बालकको पालनपोषणको जिम्मा लिने भन्दै स्थानीयहरू आउने गरेको प्रहरीले बताएको छ । बालकलाई जिल्ला अस्पताल कलैयामा इप्रका, निजगढले बताएको छ ।