थाने (महाराष्ट्र), १६ साउन/एएनआई
महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाचिंदा १७ जना मजदूरको मृत्यु भएको छ ।
थाने जिल्लाको शाहपुरनजीक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीनजना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले एएनआईलाई बताए । दुर्घटना गएराति डेढ बजे भएको हो ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले दुर्घटनाको जाँचबुझ गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई राहतस्वरूप रु पाँच लाख प्रदान गर्ने घोषणा गरेका छन् । स्वीट्जरल्यान्डको एउटा कम्पनीले द्रुतमार्ग निर्माण गरिरहेको छ ।
दुर्घटनास्थलमा राष्ट्रिय विपद् व्यवस्थापन कार्यालयका कर्मचारी खोज तथा उद्धारमा जुटेका छन् । दुर्घटनाका बेला त्यहाँ ३० जना मजदूर काम गरिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । तीव्र गतिमा भग्नावशेष पन्छाउने र हराएकाको खोजी भइरहेको छ ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतकका परिवारजनमा समवेदना एवं सहानुभूति व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सहायता कोषबाट मृतकका परिवारलाई जनही रु दुई लाख अनुदान सहयोग उपलब्ध गराउने तथा प्रत्येक घाइतेलाई रु ५० हजार प्रदान गर्ने घोषणा पनि गरेका छन् । रासस