नियामे, ११ साउन/एएफपी
पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्थ गरेको दाबी गरेको छ ।
सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको सिमाना बन्द गरेको बताएको छ ।
राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ । बन्दी बनाइएका राष्ट्रपतिलाई रिहा गर्न सेनाले अस्वीकार गरेको छ । गए राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।
“हामी, रक्षा र सुरक्षा बलहरूले राष्ट्रपति बाजुमको शासन अन्त्य गर्ने निर्णय गरेका छौं”–अन्य नौजना वर्दीधारी सैनिकबाट घेरिएका कर्णेल अमाडो अब्द्रामानेले बुधबार राति टेलिभिजन सम्बोधनमार्फत घोषणा गरे ।
विश्व तथा क्षेत्रीय नेताहरूले बाजुमलाई रिहा गर्न आह्वान गरेका छन् । दुई वर्ष अघि मात्र उनले नाइजरको सत्ता सम्हालेका हुन् ।
छिमेकी बेनिनका राष्ट्रपति प्याट्रिस टालोन मध्यस्थता प्रयासका लागि नियामेतर्फ प्रस्थान गर्ने तयारीमा रहेको पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायले जनाएको छ ।
राष्ट्रपति र उनको परिवार सकुशल रहेको सेनाले बताएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिड्ढेनले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई निश्शर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् । अफ्रिकी सङ्घ र युरोपेली सङ्घले पनि सैन्य विप्लवको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाइको माग गरेका छन् ।
हिरासतमा रहेका नाइजरका राष्ट्रपतिको लोकतन्त्र जोगाउने प्रतिबद्धता
सैनिक हिरासतामा रहेका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजरवासी आफ्नो पक्षमा रहेको उनले बताएका छन् ।
आफ्नै सेनाद्वारा बन्दी बनाइएका उनले कठोर सङ्घर्षबाट प्राप्त प्रजातान्त्रिक उपलब्धि जोगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता व्यक्त गरेका छन् ।
अफ्रिकी र अन्तर्राष्ट्रिय सङ्गठनले सैन्य विद्रोहको निन्दा गरेका छन् । साथै नाइजरका पश्चिमा सहयोगीले पनि सैनिक कारबाईको निन्दा गर्दै अविलम्ब राष्ट्रपतिलाई रिहा गर्न र लोकतान्त्रिक पद्धतिमा फर्कन आह्वान गरेका छन् ।
नाइजरका विदेशमन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्न जोड दिएका छन् ।
उनले गणतन्त्रको विपक्षमा जान नसकिने पनि स्पष्ट गरेका छन् । साथै उनले राष्ट्रपति सकुशल रहेको स्पष्ट गरेका छन् । रासस