ओमप्रकाश चौधरी, सेढवा, ११ साउन/

पर्साको स्थानीय तह अनुसार सामुदायिक विद्यालयहरूमा वर्षे बिदा (गर्मीबिदा) फरक–फरक तोकिएको छ । जसका कारण सामुदायिक विद्यालयमा वर्षे बिदा तथा अन्य क्रियाकलाप सञ्चालनमा फरक हुने गरेको छ ।

नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले प्रत्येक शैक्षिक सत्रमा वर्षे बिदाको शीर्षकमा ४५ दिन बिदा तोकेको छ ।

जीराभवानी गाउँपालिकाले असार मसान्तभित्र प्रथम त्रैमासिक परीक्षा सम्पन्न गरी साउन १ गतेदेखि २० दिनका लागि वर्षे बिदा दिएको छ ।

त्यस्तै जगरनाथपुर गापाले साउन २ गतेदेखि लागू हुनेगरी सामुदायिक विद्यालयहरूमा बिदा दिएको सूचना प्रकाशित गरेको छ । जगरनाथपुर गापाका सम्पूर्ण सामुदायिक विद्यालयहरू साउन २४ गते  बिहान १० बजेदेखि पुनः सञ्चालन हुने जनाइएको छ ।

छिपहरमाई गापामा साउन ७ गतेदेखि वर्षे बिदा दिइएको छ भने ठोरी गापामा अहिले प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । साउन १२ गते शुक्रवारको दिन कक्षा सञ्चालन गरी १५ दिनका लागि बिदा दिइने जनाइएको छन ।

पटेर्वासुगौली गापाले साउन ८ गतेदेखि वर्षे बिदा दिएको शिक्षा शाखा प्रमुख शोलेन्द्र पञ्जियारले बताए । भदौ ३ गतेदेखि विद्यालय सञ्चालनमा आउने उनले बताए ।

सखुवापरसौनी गापाले साउन ९ गतेदेखि वर्षे बिदा दिएको छ । सो गापाले सामुदायिक विद्यालय साउन २८ गतेदेखि सञ्चालनमा आउने जनाएको छ ।

पर्सागढी नगरपालिकाका सामुदायिक विद्यालयमा वर्षे बिदा दिइएको छैन । बिहीवारसम्म परीक्षा सञ्चालन भएको र भोलि शुक्रवार प्रअ बैठक बसी बिदा सम्बन्धी सूचना जारी गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here